काठमाडौं । स्वस्थ वातावरणलाई परिभाषित गर्ने धेरै तरिकाहरू छन् । यसमा हामीले सास फेर्ने हावा, पानी, खाना र वरपरको परिवेशलाई समेट्छ । हामी रसायन, विकिरण र सूक्ष्म जीवसहितको भौतिक संसारको दैनिक सम्पर्कमा छौं । कतिपय अवस्थामा यो क्रम असन्तुलित हुन जान्छ र जैविक दुनियाँमा नराम्रो असर पर्न जान्छ । पृथ्वीमा भएका सम्पूर्ण प्राणी जगतका लागि स्वच्छ वातावरण अपरिहार्य छ । वातावरण र प्राणी जगतको अन्तरसम्बन्धलाई विश्लेषण गर्दा स्वच्छ वातावरणको अधिकार भनेको मानव अधिकारको एउटा हिस्सा पनि हो ।
अहिले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका महादेवफाँटको सन्दर्भमा कुरा गर्ने हो भने राष्ट्रिय गौरवको योजना मानिएको गल्छी-केरुङ राजमार्ग आयोजनाले स्थानीयको जीवनमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने गरि प्रदुषण सृजना गरिरहेको छ । राष्ट्रको गौरव बोकेको आयोजनाले मानव अधिकार र मानवीय स्वास्थ्यको बेवास्ता गरि यस्ता प्रदुषण निम्ताउने कार्य गर्नु आफैमा दुखको विषय हो ।
आधुनिक विकासले स्थानीय जनताको दैनिक जीवनयापनका लागि सकारात्मक प्रतिफल दिने अपेक्षा स्वभाविककै हो तर सम्बन्धित निकायले समाजमा फैलिएको प्रदुषणको बेवास्ता गरि यस्ता काम अघि बढाउदा दैनिक जीवनयापन अत्यन्त कष्टकर र दुखदायी बन्दै गइरहेको छ । स्वस्थ र स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले प्राथमिकतामा राखेको विषय हुन् । यसरी कुनै पनि कृयाकलापबाट नागरिकको मानव अधिकारलाई हनन गर्ने छुट कुनै पनि व्यक्ति वा संस्थालाई छैन ।
स्वस्थ र स्वच्छ वातावरणमा आफ्नो नागरिकलाई राख्नु राज्यको महत्वपूर्ण दायित्व अन्तर्गत पर्दछ । तर उक्त कदम यहाँका सरकार तथा स्थानीय निकायले रतिभर पनि चालेको पाइदैन । यहाँका स्थानीय जनताले विगत देखि थुप्रै समस्या झेल्दै आइरहेका छन् । प्रदुषणकै कारण यस क्षेत्रको बालिनाली उत्पादनमा ह्रास आइरहेको छ । सर्वसाधारणमा रुघाखोकी, छालाको एलर्जी, आँखा चिलाउने, श्वासप्रस्वास सम्बन्धी समस्याका साथै मानसिक तनाव र चिडचिडाहट पनि बढेको पाइएको छ ।
नेपालको संविधानले पनि नेपालको संविधान २०६३ को भाग ३ को मौलिक हक धारा १६ मा प्रत्येक ब्यक्तिलाई स्वस्थ र स्वच्छ बाच्ने हक छ भनी उल्लेख गरेको अवस्थामा गल्छी-केरुङ आयोजनाले कानुन र संविधानको धज्जी उडाउँदै बस्तीको बीचमा वायु प्रदुषण बढाइरहेको छ ।