Lifestyle

देशभर दशैँको चहलपहल सुरू, घरघरमा विधिपूर्वक फुलपाती भित्र्याइँदै, 

By BabinaOctober 2, 20223 min read
देशभर दशैँको चहलपहल सुरू, घरघरमा विधिपूर्वक फुलपाती भित्र्याइँदै, 

सुन्नुहोस्ः

 

काठमाडौं । आज आश्विन शुक्ल सप्तमी अर्थात् दशैँको ‘फूलपाती’ भित्र्याउने दिन । घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । वडा दशैँको विधिवत् सुरुवात घटस्थापनाको दिनबाट हुन्छ । यद्यपि दशैँको चहलपहलले फूलपातीदेखि गाउँघरको माहोल रंगीन हुन्छ ।

घटस्थापनाको दिनदेखि नै वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गर्ने ठाउँ हो ‘दसैँघर’ । सोही दशैँघरमा फूलपातीको दिन शुभ साइत पारी दशैँको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम अर्थात् अनार, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा भित्र्याइन्छ । फूलपातीको दिन नवदुर्गाको छैटौँ रूप कात्यायनीको पूजा आराधना गरिन्छ । फूलपातीले नौ देवीको प्रतिनिधित्व गर्ने र घरघरमा स्वास्थ्य, ऐश्वर्य र समृद्धि ल्याउने जनविश्वास छ ।

फूलपाती
हनुमानढोकाको दशैँघरमा फूलपाती भित्र्याइदै

फुलपाति मनाउने प्रचलन !

फूलपातीको दिन गोरखा दरबारमा साइत हेरी भृकुटीका सुसारेहरूले दरबार क्षेत्रको जङ्गलबाट नवपत्रिका ल्याइन्छ । नवपत्रिका अर्थात् नौ किसिमका फूलहरू; जयन्ती, अशोका, बेलपत्र, केरा, उखु, सामा, धान, फुन्द्रेका फूल सतिपिपलको निसान सिँगार्ने चौतारोमा राख्दछन् । दरबारबाट बाजा सहित आएका कलस्यौडीहरुले मालश्री गीत गाउँदै बाजा बजाउँदै फूलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने गर्दछन् । फूलपाती दरबार भित्र्याउँदा कालो बोकाको बली दिने प्रचलन छ ।

कालो बोकाको बली

बाइसे चौबिसे राज्य एकीकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरूमा पुर्‍याउन थालियो । हनुमानढोका दरबारको दशैँघरमा पनि गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने चलन छ । परम्परागत रूपमा शाही कलश, केराको डाँठ, जमरा र उखु रातो कपडाले बाँधेर गोरखाबाट मगर जातिले तीन दिनको पैदल यात्रा गरी काठमाडौं ल्याउँछन् । धादिङ जिल्लाको जिवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउँछन् । धादिङ जिल्लाको जिवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ । त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा बढाइँका साथ फूलपाती भित्र्याउने चलन रहेको छ । 

फूलपाती  भित्र्याउने साइत अनुसार टुँडिखेलमा नेपाली सेनाले फूलपातीको बढाइँ गर्दछ । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । उक्त बढाईंको राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरूले प्रत्यक्ष अवलोकन गर्दछन् । राजा पृथ्वीनारायण शाहको पालादेखि फूलपाती  भित्र्याउने परम्परा सुरु भएको हो ।

फूलपाती बढाइँ
सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ

आश्विन शुक्ल पक्षमा शक्तिपीठहरूमा पूजा आराधना गर्नाले देवी प्रसन्न भई भक्तजनलाई आशीर्वाद दिन्छिन् भन्ने धार्मिक विश्वास छ । काठमाडौँ उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराही, दक्षिणकाली, श्वेतबाराही, धूम्रबाराही, चामुण्डा, सुन्दरीमाई लगायत शक्तिपीठमा पूजाआजा एवम् बलिसहित विशेष पूजा गर्ने भक्तजनको पनि भिड लाग्ने गरेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिर गोरखाको मनकामना, नुवाकोटका जालपादेवी र भैरवी, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभे्रपलाञ्चोकका नाला भगवती, पलाञ्चोक भगवती र चण्डेश्वरी, सिन्धुपाल्चोकका पाल्चोक भगवती र लिस्तीमाई, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा देवी लगायत शक्तिपीठमा पनि पूजाआजा गर्ने भक्तजनको भिड लागेको छ । 

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । दशैं मान्न घर फर्किनेहरूको भिडले बजारहरुमा विशेष चहलपहल सुरु हुन्छ । नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ । 

लिङ्गे पिङ
दशैँमा लिङ्गे पिङ

फुलपातीका नौ तत्व (नवपत्रिवा) का गुणहरूः

  • केराको बोटले शान्ति प्रदान गर्ने देवी ब्राह्मणी लाई प्रतिनिधित्व गर्दछ।
  • अनार (दारिम) ले देवी रक्त दन्तिकाको प्रतिनिधित्व गर्दछ ।
  • धानको डाँठमा धनकी देवी लक्ष्मीको वास हुन्छ ।
  • बेसारको बोट (हलेदो) मा देवी दुर्गाको वास हुन्छ । यसले अवरोधहरूको अन्त्य गर्दछ ।
  • देवी चामुण्डा मनवृक्षमा बास हुन्छ । जसले दुष्टताको अन्त्य गर्दछ ।
  • अदुवाको बोट (अदुवा) ले मानव जातिलाई आशीर्वाद दिने देवी कालिकालाई प्रतिनिधित्व गर्छ ।
  • बेलको बिरुवामा भगवान शिवको वास हुन्छ, र यो भगवान विष्णु र शिवको मनपर्ने फल हो ।
  • अशोक वनस्पतिमा सोकरहिता देवीको वास हुन्छ ।
  • जयन्तीले देवी एसएस कार्तिकीको प्रतिनिधित्व गर्दछ ।
fulpatiimportance of fulpati in dashainThe tradition of celebrating PhulpatiWhat do we do in FulpatiWhen did the tradition of celebrating Phulpati startWhich day is Fulpati of DashainWhy do we celebrate Phulpati

You May Also Like

More stories from Basobaas