News

कीर्ते सिफारिस बनाइ जग्गा बिक्री गर्न खोज्ने पाँच जना पक्राउ

Pinterest LinkedIn Tumblr

काठमाडौं । मोरङमा किर्ते जालसाजी गरी जग्गा बेचेको आरोपमा पाँच जना पक्राउ परेका छन् । संयुक्त नाममा रहेको जग्गा बिक्री गर्न वडा कार्यालयको कीर्ते सिफारिस बनाएको आरोपमा रतुवामाइ नगरपालिका-४ का पाँच वृद्धवृद्धालाई प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा नगरपालिकाकी ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी, ६४ वर्षीय कन्हरुलाल केवरत र ६५ वर्षीय चेतनलाल राजवंशी रहेको प्रहरीले जनाएको छ । 

उनीहरू पाँचै जना जग्गाधनी हुन् । उनीहरूलाई कीर्ते अभियोगमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कार्यालय, मोरङ जनाएको छ । 

पक्राउ पर्नेहरुमाथि रतुवामाई-३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको हस्ताक्षर, वडा कार्यालयको छाप र लेटरप्याड कीर्ते गरेको, फर्जी चलानी नम्बर राखेर कीर्ते  सिफारिस पत्र बनाएको आरोप छ । 

वडाध्यक्ष ताजपुरियाले दिएको जाहेरीका आधारमा पाँच जना पक्राउ परेका हुन् । घटनामा संलग्न अन्य दुईजना फरार रहेको प्रहरीले जनाएको छ । 

गत कार्त्तिक २ गतेको मिति राखेर कीर्ते सिफारिस तयार पारिएको प्रहरीले बताएको छ । आरोपितविरुद्ध प्रहरीले कात्तिक १६ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

पक्राउ परेकाहरूको नाममा चार बिघा सात कट्ठा जग्गा थियो । सो जग्गा इटहरीका एक व्यक्तिले खरिद प्रक्रिया सुरु गरेका थिए । खरिद बिक्रीका लागि मालपोत कार्यालय रंगेलीमा पुगेको कागजात अध्ययन गर्ने क्रममा कार्यालयले वडा अध्यक्षलाई जानकारी गराएको थियो । 

वडा अध्यक्ष ताजपुरियाले आफूले सही छाप नै नगरेको बताएपछि यो विषय प्रहरीसम्म पुगेको थियो ।

हाल विवाद देखिएको जग्गामा यसअघि पनि विवादमा रहेको रतुवामाई नगरपालिका-४ का वडा अध्यक्षले जनाएका छन् । 

जग्गा किनबेचका लागि कसैले उनिहरूलाई फसाएको उनको भनाइ छ । सोही जग्गा बिक्रीका लागि एक वर्षअघि पनि वडा कार्यालयबाट सिफारिस निकालिएको थियो । तर त्यसबेला जग्गा किनबेच भएको थिएन । 

प्रारम्भिक रुपमा जग्गाधनीको संलग्नता देखिएकाले उनीहरूलाई पक्राउ प्रहरीले जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It