News

आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा, घरजग्गा व्यवसायमा थप कडाइ हुँदै

By BabinaMay 27, 20223 min read
आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा, घरजग्गा व्यवसायमा थप कडाइ हुँदै

काठमाडौं । सरकारले अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचमा कडाइ गर्ने भएको छ । संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति भण्डारीले घरजग्गा किनबेच विशिष्टीकृत संस्थाबाट मात्र गर्ने व्यवस्था मिलाइने बताएकी हुन् । 

सरकारले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । अहिले घरजग्गा कारोबारीहरूले जथाभावी घरजग्गाको मूल्य तोक्दै आइरहेका छन्, जसले गर्दा घरजग्गाको बेलगाम मूल्य बृद्धि भइरहेको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा काराेबार गर्ने व्यवस्था मिलाइने छ ।’ अहिले व्यक्ति तथा संस्था सबैले घरजग्गा किनबेच गर्न पाउने अवस्था छ । सरकारले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा जग्गा जमिनको खरिद बिक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउन ‘ल्यान्ड मार्केट’ कार्यान्वयनमा ल्याउने उल्लेख गरेको थियो । ल्यान्ड मार्केट निजी क्षेत्रले पनि सञ्चालन गर्न पाउने व्यवस्था थियो । 

नीति तथा कार्यक्रम अनुसार ल्यान्ड मार्केट स्थापनका लागि भूमि मन्त्रालयले समिती बनाएर अध्ययन समेत गराइसकेको छ । सो अध्ययनले शेयरको कारोबार हुने जस्तै गरी जग्गा जमिन काराेबोर हुने बजार स्थापना गर्न सुझाव दिएको छ ।

तर, अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचलाई औपचारिक माध्यममा ल्याउन अध्ययन गरिए पनि अहिलेसम्म कार्यान्वयनका लागि कुनै पहल भएको भने देखिदैन । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा पनि विशिष्टीकृत संस्थामार्फत घरजग्गा किनबेच गराउने विषयलाई निरन्तरता दिएको हो ।

पुँजीगत लाभकरको दर

हाल पाँच वर्षभन्दा बढी स्वामित्वमा रहेको घरजग्गामा २.५ प्रतिशत पुँजीगत लाभकर लाग्छ । त्यस्तै, पाँच वर्षभन्दा कम समय स्वामित्वमा रहेको घरजग्गामा ५ प्रतिशतका दरले पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको छ । यसलाई परिमार्जन गर्दै २.५ लाई ५ प्रतिशत र ५ लाई १० प्रतिशतको नीति ल्याइँदैछ । पैत्रिक सम्पत्ति प्राप्ति बाहेकमा १० प्रतिशत कर लगाउने तयारी भएको बजेट निर्माणमा सहभागी स्रोतले जानाकारी दिएको छ । 

पुँजी बजारलाई भने प्रोत्साहन गर्नेगरी सरकारले केही नीतिगत व्यवस्था गर्न लागेको छ । आगामी आव २०७९/८० को बजेटमा सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाउने प्रस्ताव आउने अर्थ स्रोतको दाबी छ ।  

अल्पकालीन लगानीको समय १८० दिन मानेर त्यसबाट भएको आम्दानीमा ६.५ प्रतिशत पूँजीगत लाभकर लगाउन प्रस्ताव अगाडि बढाइएको छ । यसअघि एक वर्षलाई अल्पकालीन लगानी मानेर ७ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो । व्यक्तिगत र संस्थागत दुवैलाई फ्ल्याटमा १० प्रतिशत लाभकर तोक्ने सरकारको तयारी छ । 

आयकर ऐनले कुनै व्यक्तिको गैर व्यावसायिक कर योग्य सम्पत्ति जग्गा तथा भवनको निःसर्गमा भएको लाभमा लाग्‍ने कर निःसर्ग भएको सम्पत्तिमा रहेको स्वामित्वको अवधिको आधारमा फरक फरक दरले लाग्‍ने व्यवस्था गरेको छ । 

हाल आयकर ऐनको अनुसूचि–१ को दफा १ मा तोकिएअनुसार एउटै आर्थिक वर्षमा १० लाख मूल्यभन्दा बढी स्वामित्वमा आएको घरजग्गामा ५ बर्षभन्दा कम अवधिमा पूँजीगत लाभकर ५ प्रतिशत तिर्नुपर्ने हुन्छ । यदि घरजग्गाको स्वामित्व ५ बर्ष भन्दा बढी भइसकेको छ भने २.५  प्रतिशतका दरले पुँजीगत लाभकर लाग्‍ने व्यवस्था छ ।

१० लाख बढीको मुल्यांकन राखेर बेच्‍नु भयो भने माथि उल्लेख गरिए अनुसार लाभकर तिर्नुपर्ने हुन्छ ।  कुनै पनि घरजग्गाको बिक्री मूल्य सरकारी मुल्यांकन भन्दा बढी राख्‍न पाइन्छ तर सरकारले तोकेको भन्दा कम हुन हुँदैन ।

पहिला घरजग्गा किनबेचमा पुँजीगत लाभकर लाग्‍ने सीमा ३० लाख रहेको थियो । आर्थिक बर्ष २०७५/७६ को बजेटमार्फत सरकारले घरजग्गामा पुँजीगत लाभकर लाग्‍ने सीमा १० लाखमा झारेको हो ।  ​​​​​​​

पूँजीगत लाभकर संकलनको अवस्था

गत आर्थिक वर्षमा सरकारले घरजग्गा मार्फत रजिस्ट्रेशन शुल्क र लाभकर समेत गरि ४७ अर्ब ३ करोड ८८ लाख रुपैयाँ मालपोत राजस्व असुल गरेको थियो । गत वर्षको कुल मालपोत राजस्वमा पुँजीगत लाभकरको १८ अर्ब २३ करोड ८० लाख रुपैयाँ रहेको थियो । यो कुल राजस्वको ३८.७७ प्रतिशत हुन आउँछ । 

चालु आवको पहिलो १० महिना (साउन–वैशाख) मा ६५ अर्ब ३० करोड रुपैयाँ कुल मालपोत राजस्व संकलन भएको भूमि विभागले जनाएको छ, जसमध्ये पूँजीगत लाभकर १५ अर्ब ३१ करोड रहेको छ भने रजिष्ट्रेशन दस्तुर ३८ अर्ब ३२ करोड रहेको छ ।

यस वर्षको साउनदेखि वैशाखसम्ममा उठेको कुल मालपोत राजस्वमा पूँजीगत लाभकरको हिस्सा २३.४५ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । 

 भूमि विभागका अनुसार, साउनमा २ अर्ब ४ करोड, भदौमा २ अर्ब ७ करोड, असोजमा १ अर्ब ७८ करोड, कार्तिकमा १ अर्ब ३० करोड, मङ्सिरमा १ अर्ब ६७ करोड, पुसमा १ अर्ब ४७ करोड, माघमा १ अर्ब २६ करोड, फागुनमा १ अर्ब ४४ करोड, चैतमा १ अर्ब ३० करोड र वैशाखमा ९४ करोड रुपैयाँ पूँजीगत लाभकर असुली भएको छ । 

वैशाख महिनामा घरजग्गा किनबेच घटेपछि राजस्व पनि घटेको छ, जसले गर्दा पूँजीगत लाभकर असुली एक अर्बभन्दा कम देखिएको हो ।

Fiscal budgetfiscal budget nepalhot real estate newsmarket newsnepal real estate lawnepali realestatetax collection

You May Also Like

More stories from Basobaas