Lifestyle

कुशे औंसी: यस्ता छन् कुशका धार्मीक तथा वैज्ञानिक महत्व

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । आज भाद्रकृष्ण औंसी अर्थात् कुशे औंसी । हिन्दु धर्मावलम्बीले देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आजकै दिन घरघरमा भित्र्याइन्छ । साथै विभिन्न उपहार दिएर बुबाको मुख हेर्ने प्रचलन पनि रहेको छ ।

सांस्कृतिक र धार्मिक मान्यता बोकेका विभिन्न वनस्पति मध्ये एक पवित्र वनस्पति कुश हो । जसलाई भगवान विष्णुको प्रतीकको रूपमा समेत लिइन्छ । परिवारको कल्याण होस् भन्ने हेतुले आज भाद्रकृष्ण औंसीका दिन घरघरमा  ब्राह्मण पुरोहितद्वारा कुश भित्र्याइन्छ । 

कुशको धार्मीक महत्वः 

होम तथा यज्ञादि कर्म गरिँदा वैदिक मन्त्रकासाथ केतु ग्रहलाई कुशको आहुति दिने चलन छ । यज्ञ गर्दा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ । रातमा शुद्ध पानीमा कुश भिजाएर राखिन्छ र सोही पानीको प्रयोग गरि वरूणादि कलशमा राख्ने चलन पनि छ । देवी देवताको पूजामा अभिषेक, प्राण प्रतिष्ठा, गर्दा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । कुशको आसनमा बसेर पूजा गर्न, देव कार्यमा कुशको औंठी साहिँली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउने, कुशलाई कम्मरमा सिउरिने गर्नाले धार्मिक कार्यमा पवित्रता बढ्ने धार्मिक मान्यता रहिआएको छ ।   कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

kushe_aushi

“महाभारतमा उल्लेख भएअनुसार एकपटक गरुडदेव स्वर्गबाट अमृत कलश लिएर जाँदै गर्दा केही समयका लागि उहाँले अमृत कलश जमीनमा राख्नुभएको थियो । संयोगवश त्यो कलश कुश राखिन पुग्यो । कुशमा अमृत कलश राखिएको कारण त्यही बेला देखि यसलाई पवित्र मानिन थालिएको हो ।” 

वैज्ञानिक महत्व 

वैज्ञानिक रूपमा पनि कुशलाई शक्तिशाली मानिन्छ । वैज्ञानिक प्रयोगका क्रममा एकमुठी कुशलाई विकिरणमाझ राख्दा कुशले सम्पूर्ण विकिरणलाई आफूबाट परिवर्तित गरेको पाइन्छ । कुशमा एक किसिमको प्राकृतिक प्यूरिफिकेशनको गुण रहेको हुन्छ । जप, ध्यान, पूजा, हवनका क्रममा कुशको प्रयोग गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवलाई नकारात्मक प्रभाव पार्न सक्दैन । साथै, रोग फैलाउने भाइरसलाई समेत निस्क्रिय गर्दछ ।

कुश

कुशमा एन्टी ओबेसिटी, एन्टी अक्सीडेन्ट तथा एनालजेसिक कन्टेन्ट रहने वैज्ञानिक अध्ययनले देखाएको छ । यसो हुँदा कुशले खाद्यवस्तु शुद्धिकरणमा ओखतीको काम गर्दछ । ग्रहणको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुमा कुश राख्ने गरिन्छ । यसो गर्नाले ग्रहणकालमा निस्किएका अशुद्ध विकिरणको दुष्प्रभाव पर्दैन भन्ने गरिन्छ ।

आर्युवेदिक महत्व 

नुहाउँदा, जप, होम, देवपूजा यज्ञ यज्ञादि कार्य गर्दा हातमा कुशको लिएर बस्ने गरेको पाइन्छ । आयुर्वेदिक उपचारमा पनि कुशको विशेष महत्व छ । कुशको प्रयोग श्वास, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ । साथै  कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बस्नाले उच्च रक्तचापका विरामीलाई स्वास्थ्य लाभ हुन्छ । कुश धारण गर्दा मानिसको आयु बढ्छ भनिन्छ । पानीमा डुबाउँदा पानी शुद्धीकरण हुने र प्रदूषित वातावरण नास गर्ने आयुर्वेदमा उल्लेख छ ।

कुश कहिले उखेल्ने

औंशीको दिन बिहानै उत्तर वा पूर्वतर्फ फर्किएर कुश उखेल्नु शुभ मानिन्छ । भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश वर्षभरी गरिने शास्त्रादी कर्मको लागि उपयोगी हुने वैदिक शास्त्रमा उल्लेख छ ।

बुबाको मुख हेर्ने प्रचलन 

कुशेऔंसी लाई पितृऔंसी पनि भन्ने गरिन्छ ।  मृत्यु भइसकेका बुवालाई सम्झिएर काठमाडौंमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा पूजा गर्ने परम्परा रहेको हुनाले गोकर्णे औंसी पनि भन्ने गरेको पाइन्छ । आजको दिनलाई पितृकार्यका लागि उत्तम तिथि मानिन्छ । 

आमाबुवालाई ईश्वर समान मान्ने चलन छ । आफ्ना अभिभावकको देनप्रति कृतज्ञता व्यक्त गर्न सन्तानले आजको दिन आफ्नो बुवालाई सम्मानका साथ उपहार लिएर मुख हेर्ने गरिन्छ । बुबा नभएका छोराछोरीले विभिन्न धार्मिकपीठ, देवालयमा गइ सिदा दान गर्ने चलन छ । 

आज गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्नन गर्नेहरूको भिड लाग्ने गरेको छ । यहाँ आफ्ना मृत पिताको आत्माको तृप्ति र शान्तिका निम्ति श्राद्ध एवम् तर्पण गर्न आउँने गर्छन् । 

Kusai Aunsi Gokarna

स्त्री पुरुष सबैले वाग्मतीमा स्नान गरी मृत पितृहरुलाई श्रद्धाञ्जलि अर्पण गर्ने प्रचलन छ । यस दिन  गरेको दान-तर्पण, श्रद्धाको फलस्वरूप मृत पिताको आत्माले शान्ति प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । पारिवारिक आत्मियता र स्नेह प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने यस पर्वले हाम्रो सांस्कृतिक, धार्मिक एवम् पैतृक परम्परालाई सुदृढ बनाउन ठूलो योगदान छ । 

तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नुका साथै पितृले आशिर्वाद दिने र आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

हिजोआज हरेक चाडबाड तथा विशेष दिनको प्रचार सामाजिक सञ्जालमा व्याप्त हुन्छ । देखाउनका लागि मात्रै सत्कार दर्शाउने प्रविति बढेर नजाओस् । सन्तानप्रतिको समर्पणले कुनै जन्मदातालाई वृद्धाश्रम नपुर्याओस्, बुबाको मुख हेर्ने दिनको शुभकामना ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It