सुन्नुहोस्:
काठमाडौं । केही दिन यता सडक, गल्ली तथा घरलाई फोहोरको थुप्रोले ओगटेको छ । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै पारेर फोहोरको व्यवस्थापन गर्ने भन्दै, उपत्यकामा फोहोर उठाउने काम रोकिएको छ । यद्यपि समयमा नै फोहोरलाई संकलन गरी व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणलाई सास्ती बेहोर्न परेको छ । नागरिकहरू महानगरले फोहोर लिन नआएको गुनासो बोकेर बस्न बाध्य छन् । स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो । बीचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेको छैन ।
शहरी क्षेत्रमा फोहोर व्यवस्थापन
नेपालमा फोहोर व्यवस्थापनको अवस्था अवैज्ञानिक छ, अस्तव्यस्त छ । केही समययता यस विषयलाई लिएर गम्भिर छलफल पनि भइरहेको छ । यद्यपि दीर्घकालिक समाधान भने निस्किएको छैन । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा धेरै जनसङ्ख्या भएका मुख्य शहरहरू काठमाडौं, भक्तपुर, पाटन, विराटनगर, चितवन लगायतका स्थानमा अत्यधिक समस्या देखिन्छ ।
आफैले उत्पादन गरेको सामान्य खालको फोहोर समेत सरकारी निकायले व्यवस्थापन गरिदियोस् भन्ने मान्यता आमनागरिकमा विद्यमान छ । जतासुकै फोहोर फालिदिने, ठीक समय र उपयुक्त ठाउँमा फोहोर नफ्याँक्ने, फोहोर व्यवस्थापनका लागि आएको गाडी गइसकेपछि फोहोर ल्याएर जताततै फाल्ने लगायत समस्याले उपत्यकालाई आक्रान्त बनाएको छ ।
फोहोरको सम्भावित जोखिम
फोहोरबाट फैलन सक्ने रोग व्याधि र पर्यावरणमा पर्नसक्ने दीर्घकालीन तथा अल्पकालीन प्रभावका सम्बन्धमा आम जनसमुदाय नै सचेत हुन आवश्यक छ । आफूद्वारा सिर्जित फोहोर आफैँले उचित व्यवस्थापन गर्नु पर्छ भन्ने ज्ञान सबैमा हुन जरुरी छ ।
अहिलेको सन्दर्भलाई हेर्ने हो भने, फोहोर व्यवस्थापनको कठिनाइ तुलनात्मक रुपमा उपत्यकाले बढी भोग्नु परेको छ । मुख्यतया सडकमा फोहोर थुपार्नु पर्ने बाध्यता, अस्वभाविक रूपले बढेको जनघनत्वले जतासुकै उत्सर्जन गर्ने अव्यवस्थित फोहोर, प्रत्येक पसलमा प्रयोग गरिने प्लास्टिकका झोला र सडेका सामान मिल्काउने चलन समस्याका रूपमा रहेका छन् । हेर्दा झिनामसिना र साना लाग्ने यस्ता फोहोरले कति प्रकारको रोग व्याधि फैलाउन सक्छ भन्ने ज्ञान नहुनु अर्को समस्या पनि विद्यमान छ ।
फोहोर व्यवस्थापनमा नागरिकको लापर्वाहीः
फोहोर आफैमा डरलाग्दो समस्या त हो नै, त्यसमाथि फोहोरको जोखिमबारे ज्ञान नहुनु अर्को ठुलो समस्या हो । यो अज्ञानता हटाउन सक्ने हो भने फोहोमैलासम्बन्धी समस्या समाधान गर्न ठुलो मद्दत हुने थियो ।
अर्कोतर्फ सरकारी निकायको मुख ताक्ने परम्पराले पनि फोहोर व्यवस्थापनमा कठिनाइ थपेको छ । प्रत्येक टोलले आफ्नो घर आँगन सफा राख्न, भान्सा र चर्पीबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न साथै प्लास्टिकका झोला भरसक प्रयोग नगर्न र गरे पनि उचित ठाउँमा व्यवस्थापन गर्न लगाउने एउटा समिति गठन गरी फोहोर व्यवस्थापन मा सरकारसँग हतेमालो गर्ने हो भने हाम्रा टोल छिमेक स्वछ र सुन्दर बनाउन खासै कठिनाइ नहोला ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाविस वा फाहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको मुख ताकेर बस्ने परम्परा तोड्नका लागि पनि सहरमा बस्ने सचेत नागकिरले सचेतनामूलक गतिविधि गर्न पहल गर्नुपर्ने देखिन्छ ।
सहरको प्रत्येक घरबाट फोहोर उत्सर्जन हुन्छ, होटल, कलकारखाना, उद्योग, अस्पताल, स्कुल, खाली मैदान र पसलहरूबाट पनि फोहोर उत्पादन हुनु स्वभाविक हो । घातक फोहोर उचित व्यवस्थापन नहुँदा ज्यानमारा रोग फैलन सक्छ । अस्पताल र उद्योगबाट उत्पादन हुने फोहोर मानव स्वास्थ्यका लागि सबैभन्दा घातक हुने, गरिएका विभिन्न अनुसन्धानले देखाएको छ ।
नेपालका अस्पताल र उद्योगहरूले आफ्नै पहलमा फोहोरमैला व्यवस्थापन गरेको खासै दोखिँदैन । यस्तोमा फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकाय नै लाग्नुपर्ने देखिन्छ । अहिलेसम्म सरकारी निकायले उपलब्ध गराएको स्थानमा फोहोर व्यवस्थापन नहुँदा पनि जनताले निकै ठूलो समस्या बेहोर्नु परेको हो ।
फोहोरमैला सम्बन्धी कानुनी व्यवस्था र राजनैतिक प्रभावः
२०६८ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको छ, उक्त ऐनका प्रावधान अनुसार, हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएको बमोजिम व्यवस्थापन नगरे कारबाही हुने व्यवस्था गरेको छ । तर, अहिलेसम्म कसैमाथि कारबाही भएको हामीलाइ थाहा भएको छैन । जथाभावी फोहोर फाल्नेमाथि पनि कारबाही हुनसक्छ, यी र यस्ता विषय लागू गर्न पनि जनचेतना कै खाँचो आझको हाम्रो आवश्यकता देखिन्छ ।
काठमाडौं उपत्यकाले ल्यान्डफिल साइटको समस्या बारम्बार भोग्ने गरेको छ । ल्यान्डफिल साइट भएको स्थानका जनताले बारम्बार अवरोध गर्ने र फोहोरमैला व्यवस्थापन गर्ने निकायको स्रोत र साधनले भ्याउन नसक्ने माग राख्ने चलनलाई स्थापित गर्दै लगेका छन् जुन एउटा बिकराल स्थितिलाई सरकारले सम्बोधन गर्न नसकेको अवस्था देखिएको छ । अस्थिर राजनीति, आर्थिक अभाव, जनचेतनाको कमी, फोहोरमैलाबाट उत्पन्न हुने रोगव्याधीप्रतिको अनभिज्ञता र प्रचारप्रसारको कमीले पनि व्यवस्थापनप्रति मानिसले गम्भीरतापूर्वक नसोचेको हुनसक्छ ।
फोहोरमैला व्यवस्थापनसम्बन्धी अवधारणा पनि अव सबै राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने र यस सम्बन्धी ठोस निती नियम को पैरवी गर्दै एउटा साझा योजनालाई अघि बढाउनु पर्ने देखिएको छ । तथापि भावि पुस्ताले समेत यसको मूल्य चुकाउनु पर्ने निश्चित छ ।
पछिल्लो समय नुवाकोटको बञ्चरेडाँडामा चर्किएको विवादको अवस्थालाई नै हेर्ने हो भने पनि व्यवस्थापनको विषयलाई अस्थिर राजनीतले धेरै हदसम्म अवरोध पुर्याएको देखिन्छ । दिगो र व्यवस्थित सरकाले मात्र दिगो र व्यवस्थित काम गर्न सक्छ भनेजस्तै सम्बन्धित निकायलाई पनि त्यसैगरी काम गर्ने वातावरण मिल्छ । तर, अस्थिर राजनीति, अस्थिर सरकार र अव्यवहारिक कार्यशैलीले जतासुकै अवरोध पुर्याउन सहयोग गर्छ । सत्ताको लागि मुद्दा बनाइराख्नुको सट्टा जनताको हित र वातावरण संरक्षणका खातिर राजनीतिक दलहरू अग्रसर हुन टड्कारो देखिन्छ ।
फोहोरमैला र यसको व्यवस्थापन, आजको आवश्यकताः
स्वच्छ, सफा, हराभरा काठमाडौंको अवधारणा पुरा गर्न सरोकारवालाहरू अग्रसर भएर कार्य थालनी गर्न आवश्यक छ । उपत्यकामा बग्ने गरेका सबै नदि तथा खोलाहरूलाई फोहोरमुक्त बनाउन सकेमा शहरको सौन्दर्यमा छुट्टै आकर्षण थपिन्छ । फोहोरमैला व्यवस्थापनको कार्य सफल बनाउन नीतिदेखि तिथिसम्म परिवर्तन गर्नुपर्ने अवस्था छ । जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असर देखि भान्सा र चर्पीको फोहोरले पार्ने असरको ज्ञान नभएसम्म व्यवस्थित रूपमा फोहोर व्यवस्थापन हुन निकै कठिन छ ।
सार्वजनिक, नीजि साझेदारी कार्यक्रम, जनचेतना अभिवृद्धि कार्यक्रम, प्रचारप्रसार कार्यक्रमलगायत कार्यक्रमबाट सम्बन्धित निकायले आफ्ना राम्रा काम प्रस्तुत गर्न थालेको छ । मुख्य रूपमा अहिले खड्किएको विषय मानिसमा चेतनाको अभाव नै हो । अर्को पक्ष भनेको नीति लागू गर्न दबाब सिर्जना गर्न नसक्ने अवस्था पनि हो ।
उपत्यकाको फोहोर व्यवस्थित हुन नसक्दा राज्यलाई निकै ठूलो घाटा हुन्छ । पहिलो त पर्यटन आगमनमा असर पुर्याउँछ, दोस्रो जनस्वाथ्यमा गम्भीर समस्या उत्पन्न गराउँछ । उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न जरुरी छ । जसका लागि जनस्तरबाट पनि सम्बन्धित निकायलाई सहयोग हुनुपर्छ । नागरिकको सोचमा परिवर्तन आउनु त आवश्यक छ । यद्यपि सरकारी पक्षबाट फोहोर मैला व्यवस्थापनको दीर्घकालीन विकल्प चाँडै खोज्नसक्नुपर्छ । तब मात्रै स्वच्छ र हराभरा शहरी क्षेत्रको अवधारणालाई मूर्त रुप दिन सकिन्छ ।