News

बुबासँग ऋण लिएर रियल इस्टेट प्रवेश गरेका डोनाल्ड ट्रम्प यसरी बने अर्बपति

Pinterest LinkedIn Tumblr

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक जीवनमा थुप्रै विवादको सामना गर्नुपर्यो । उनी कहिले राजनितिक त कहिले कानुनी झगडाका कारण सञ्चारमाध्यमको हेडलाइनबाट कहिल्यै छाँयामा परेनन् । प्रायजसो विवादमा तानिने बानी परेका ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुअघि रियल इस्टेट व्यवसायमा सफल अर्बपति थिए भन्ने कुरा धेरैलाई थाहा हुनपनि सक्छ । आज हामी उनै रियल इस्टेट टाइकूनको बारेमा चर्चा गर्दैछौं ।

‘रियल इस्टेटमा लगानी गर्नु भनेको स्मार्ट इन्भेस्टमेन्ट हो ।’ -डोनाल्ड ट्रम्प

आजको दिनमा डोनाल्ड ट्रम्पको नाम नसुन्ने मान्छे सायद कम नै होलान् । ट्रम्प स्वयम् नै आफू विश्वविख्यात व्यक्ति रहेको तर्क गर्छन् । चर्चाका हिसाबले मात्र नभएर उनी दुनियाँका धनी व्यक्तिहरू मध्येका एक पनि हुन् । आफूले १० अर्ब अमेरिकी डलर सम्पती कमाएको दाबी गर्दै आएका छन् । उनले जेजति सम्पति आर्जन गरे त्यसको कारण रियल इस्टेटमा गरेको स्मार्ट लगानी नै हो । कुनैपनि क्षेत्रमा लगानी गर्नु झट्ट हेर्दा सहज होला जस्तो देखिन्छ । लगानी पश्चात केही प्रतिशत नाफा अवश्य आउँछ भन्ने मनस्थिति धेरैको हुन्छ । यद्यपि लगानी गर्नुअघि बजारको मिहिन अध्ययन गर्नु आवश्यक छ । 

काम सुरु गर्नु पूर्व नै ट्रम्पले बुबाबाट एक लाख डलर ऋण लिएर रियल इस्टेटमा लगानीकर्ताको रुपमा प्रवेश गरेका थिए । ट्रम्प भन्छन्- ‘मलाई कामको प्रेरणा बुबाबाट नै मिलेको हो ।’ उनका बुबा फ्रेड ट्रम्प ‘एलिजाबेथ ट्रम्प एन्ड सन’ नामक सफल घर जग्गा व्यवसायका संस्थापक हुन् । 

सानै उमेरदेखि लगानी गर्न थालेका ट्रम्पले समयसँगै लगानी गर्ने कलामा निपुणता हासिल गरे । उनले २२ वर्षको सानै उमेरमा लगानी सुरु गरेका थिए । व्हार्टन स्कुलबाट स्नातक गरेपछि उनले बुवासँग काम गरे । उनका बुवा मिड मार्केटमा अपार्टमेन्ट निर्माण गर्ने र भाडामा लगाउने काम गर्दथे । उनले त्यहाँ बुबाको काममा रेखदेख गर्नथाले । उनी रियल इस्टेटलाई सतहबाट नै बुझ्न चाहन्थे, त्यसकारण पनि उच्च पदमा रहेर काम गर्ने मोह उनले राखेनन् । सोही कामलाई  लिएर ट्रम्पले पृथक परिकल्पना गरे । जसका लागि उनी हाई-प्रोफाइलका ठूला परियोजनाहरूको खोजी गर्न थाले ।

 सुरुमा त छोराको महत्वाकाङ्क्षालाई लिएर उनका बुवा केही हडबडाएका थिए । तर काममा लगनशीलता देखाएर आखिर उनले बुबाको विश्वास जिते । काम सुरु गर्नु पूर्व नै ट्रम्पले बुबाबाट एक लाख डलर ऋण लिएर रियल इस्टेटमा लगानीकर्ताको रुपमा प्रवेश गरेका थिए ।

ठूलो परियोजनाका लागि अनुमति पाएका उनी सुरुवात म्यानहटनबाट गर्न चाहन्थे । त्यो क्षेत्र कब्जा गर्ने र त्यसपछि त्यहाँबाट अगाडि बढ्ने उनको लक्ष्य थियो । यद्यपि उनले रनडाउन कमोडोर होटेलको नवीकरण सुरु गरे । त्यसलाई सानो भवन, मध्यम छात्रावास जसरी विकास गर्ने उनको योजना थियो । आर्थिक स्तरमा सुधार आएसँगै उनको योजनाले फरक रूप लियो । पछि उनले त्यसलाई २५ तले होटलका रुपमा विकास गरे । विस्तारै उनले आश्चर्यपूर्ण ढंगमा व्यापक लगानी गर्न थाले । 

राम्रो नाफा कमाइरहेका ट्रम्पको सन् १९९६ को अक्टोबरमा हयात कर्पोरेसनले होटेलको आधा शेयर १४२ मिलियन डलरमा खरिद गर्यो । यतिबेला ट्रम्पको करिअरले राम्रो उचाइ लिइसकेको थियो । तर यता म्यानहटनको स्वप्निल परियोजना बाँकी नै थियो । जुन कमोडोर भन्दा वृहत थियो ।

ठूलो टावर निर्माण गरेर उच्च घरानियाँलाई ब्लकहरू बेच्नसके राम्रो आम्दानी हुने कुराले उनलाई लगानीमा आकर्षित गरेको थियो । उनले परिकल्पना गरेबमोजिम आकर्षक र अग्लो भव्य निर्माणको योजना सहित सन् १९८० मा उक्त परियोजनालाई अघि बढाएका थिए । अन्ततः उनले मिडटाउन म्यानहट्टनमा ६८ तले गगनचुम्बी टावर खडा गरे । उक्त टावरमा भएका २६३ वटा घरहरू बेचेर राम्रो आम्दानी गर्न सक्ने आँकलन गरिसकेका थिए । यद्यपि उनको सोच अझै फराकिलो थियो । उनले उक्त टावरमा आफै बस्ने योजना बनाए । साथै ट्रम्प टावरमा सपिङ सेन्टरका लागि स्पेस पनि छुट्याइयो । 

परिवारको व्यवसायलाई विस्तार गर्दै उनले ब्रुकलिन र क्विन्सका हाउजिङलाई म्यानहट्टनको परियोजना रूपान्तर गरे । अहिले उनको नाममा बनेका ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प अन्तर्राष्ट्रिय होटल र टावरहरू छन् । अहिले मुम्बई, इस्तानबुल र फिलिपिन्समा ट्रम्प टावरहरू छन् ।

ट्रम्प टावरले व्यवसायिक रुपमा सफलता दिने मात्रै नभएर उनको व्यक्तिगत प्रतिष्ठा समेत दिलाएको छ । म्यानहटनको बीचमा ठूलो र सुनको अक्षरमा नाम लेखिएको ६८ तले टावरले कस्तो प्रतिष्ठा कायम गर्छ, जोकोहीले अनुमान लगाउन सक्छ । आज दुनियाँमा चिरपरिचित नाम डोनाल्ड ट्रम्पले प्रतिष्ठाका लागि कसरी प्रयोग गरे त्यो त हामीले देखेका नै छौं ।

मनोरञ्जन क्षेत्रमा ट्रम्प

थुप्रै होटल र क्यासिनोहरूका मालिक ट्रम्प बैंकको जोखिममा परेका थुप्रै व्यवसायको भरोसा समेत बनेका छन् । मनोरञ्जनको क्षेत्रमा पनि उनको विशेष योगदान रहेको छ । उनी सन् १९९६ देखि २००३ सम्म उनी मिस युनिभर्स, मिस युएसए, र मिस टिन यूएसए सौन्दर्य प्रतियोगिताका प्रायोजक थिए । 

प्रशस्त सम्पति र समाजमा भएको प्रतिष्ठाले मात्र उनलाई सन्तुष्टि दिएन । सायद उनलाई नीतिगत शक्तिमा पनि हावी हुनु थियो । अथवा दार्शनिक शैलीमा नै परिभाषित भएबमोजिम समाजसेवाको मोह भएर हुनसक्छ, उनले राजनीतिमा आउने निर्णय गरे । अन्ततः रियल इस्टेटमा चर्चित र स्थापित अर्बपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिको उम्मेद्वारी दिए, पद हासिल पनि गरे । जुन तत्कालीन समयमा बहस विषय मात्रै बनेन, उनले थुप्रै आलोचनाको सामना गर्नुपर्यो ।

प्रतिक्रिया दिनुहोस्
Pin It