News

विद्युत प्रसारणलाइनका प्रभावितलाई जग्गाको मुआब्जा वितरण सुरु

Pinterest LinkedIn Tumblr

काठमाडौं । खोटाङमा जलविद्युत आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरु भएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि साकेला गाउँपालिकामा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरू गरिएको हो ।

गत कार्तिक देखि साकेला गाउँपालिका भित्रका १६ जग्गाधनीलाई ८० लाख ८७ हजार ९ सय रुपैयाँ मुआब्जा वितरण गरिएको छ । उक्त पालिकाको , वडा नं. १ बाँझेच्यानडाँडाका २९, वडा नं. २ रतन्छाका २०,  वडा नं. ४ मात्तिमका १२,  वडा नं. ५ मात्तिमविर्ताका १९ गरी ८० जग्गाधनीलाई मुआब्जा वितरण गरिने छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको करिब ९२ कित्ता जग्गा रोक्काका लागि एक साताअघि सार्वजनिक सूचना जारी गरिएको छ । उक्त पालिकामा पनि छिट्टै नै मुआब्जा वितरण प्रक्रिया अघि बढाइने जनाइएको छ ।

आयोजना निर्माणका लागि साकेलामा ३९ र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४१ वटा टावर पोल राखिने छ ।  टावर निर्माणका लागि खोटाङको करिब ६ दशमलव ४ हेक्टर जग्गा अधिग्रहण हुनेछ । टावर वरपर २३/२३ मिटरभित्रको जग्गा अधिग्रहण गरिनेछ । 

प्रसारण लाइन सङ्खुवासभाबाट भोजपुर, खोटाङको साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुरको ढल्केबर–बथनाहामा जोडिने छ । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रोमा हाल सुरुङ निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It