Development

धुलिखेल-खावा सडक विस्तारः  १६ महिनामा १२ प्रतिशत काम सम्पन्न 

Pinterest LinkedIn Tumblr

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडक विस्तारको काममा ढिलाइ भएको छ । आगामी चैत २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको विस्तारको काम १२ प्रतिशतमात्रै सम्पन्न भएको छ । 

 २२ महिनामा सडक विस्तार एवं स्तरोन्नति को काम सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रालि बीच सम्झौता भएको थियो । 

सडकखण्डको विस्तारको लागि रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । सम्झौताअनुसार समयावधिको ७२ प्रतिशत समय सकिएको छ । 

निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटकपटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको डिभिजन कार्यालयले जनाएको छ । 

निर्माण कम्पनीले गैरजिम्मेवारीपन देखाएको भन्दै निश्चित समयसीमा तोकि सार्वजनिक सूचना जारी गर्दै लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पटकपटक छलफल गरेको थियो । सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आएपनि एक वर्षदेखि कामले तीव्रता पाएको छैन । 

निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि केही रूख काट्नुपर्ने र सडकमा पर्ने विद्युतको पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त सडकखण्ड विस्तार गर्न आठ सय ४२ वटा रुख काट्नुपर्ने बताइएको छ । भने करिब एक सय विद्युतका पोल सार्नुपर्ने छ ।

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा उक्त क्षेत्र भएर यात्रा गर्नेहरूले सास्ती खेप्नुपरेको छ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १६ महिनामा एक सयभन्दा बढी दुर्घटनामा यात्रु घाइते भएका छन् । 

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । 

केही महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै दैनिक एक हजारभन्दा बढी लामो दूरीका सवारी छुट्ने गरेका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It