काठमाडौं । नाफामूलक कृषिप्रति आकर्षण बढेसँगै अस्थायी बालीमा कृषकको आकर्षण घट्न थालेको छ । सातौं कृषि गणना ०७८ अनुसार विगत १० वर्षको तुलनामा अस्थायी बाली लगाइएको क्षेत्रफलमा ३ लाख ९२ हजारले कम देखिएको छ ।
देशभरका कुल कृषि योग्य जमिनमध्ये १७ लाख ३१ हजार हेक्टरमा अस्थायी कृषि बाली लगाइएको छ भने १ लाख ४५ हजार हेक्टरमा फलफूल लगायतका स्थायी बाली लगाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको अनुसार ०६८ मा २१ लाख २३ हजार हेक्टर जग्गामा अस्थायी बालीको खेती गरिएको थियो । यस अवधिमा अस्थायी चौरचरन तथा बाँझो जग्गामा क्रमशः ४५ र ९५ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।
कार्यालयका अनुसार अस्थायी जग्गाको क्षेत्रफल घटे पनि जग्गाको उपयोग भने बढेको छ । त्यस्तै, स्थायी बालीले ओगटेको जग्गा पनि गिरावट आएको छ ।
कृषि गणना २०६८ मा १ लाख ६८ हजार हेक्टरमा स्थायी बाली लगाइएकोमा हाल १ लाख ४५ हजारमा झरेको छ ।
कृषि गणना २०७८ अनुसार ९ लाख ५९ हजार कृषक परिवारले बगैचाको रूपमा स्थायी बाली लगाएको पाइएको छ । जबकि ०६८ मा ८ लाख ८४ हजारले मात्रै यसरी स्थायी बाली लगाएका थियाे ।
नेपालमा कृषि गर्ने जमिन घटेपनि कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । तथ्यांकअनुसार देशभर हाल २२ लाख १८ हजार हेक्टर जग्गामा मात्रै कृषि कार्यमा उपभोग भइरहेको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती गरिन्थ्यो ।
नयाँ तथ्यांकअनुसार कृषि गर्ने ३ लाख परिवार संख्या थपिएका छन् । नयाँ तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । ०६८ को तथ्यांकमा ३८ लाख ३१ हजार परिवारले कृषि गर्दथे ।
तथ्यांकअनुसार हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ ।
अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ । कृषि गणना २०६८ मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको तथ्यांकमा उल्लेख छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।