Lifestyle

घटस्थापनाः जमरा राख्ने दिनको धार्मीक र सामाजिक महत्व

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्ः

काठमाडौं ।  आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् चाड बडादशैँ घटस्थापनासँगै सुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म धुमधामका साथ मनाइन्छ । घटस्थापनालाई बोलिचालीको भाषामा जमरा राख्ने दिन समेत भनिन्छ । 

वडा दशैँको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक  घट कलशको स्थापना गर्ने चलन छ । घटः स्थापना अर्थात, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको अर्थ हुन्छ । नवरात्रिको समयमा ब्रह्माण्डमा उपलब्ध शक्ति तथा ऊर्जालाई घटमा आह्वान गरि पूजा गर्ने गरिएको छ ।

घट कलश
घट कलश स्थापना

 लोकप्रिय पौराणिक कथाः

महिषासुरको वध
महिषासुरको वध

सत्य युगमा एक महिषासुर नाम गरेको राक्षस थियो । दृढ स्वभावको राक्षसले विभिन्न छल गरि तपस्याबाट देवताहरूलाई वशमा पार्यो । देवताले पनि प्रसन्न भएको अवस्थामा उसको इच्छामा तथास्तु भनिदिए । तर उसले छल गरि आफू कहिल्यै र कसैबाट पराजित हुन नपरोस् भन्ने वर माग्यो । वर पाएपछि महिषासुरले नर्कको विस्तार गर्दै स्वर्गको ढोकासम्म पुर्यायो । उसले सूर्य, इन्द्र, अग्नि, वायु, चन्द्रमा, यम, वरुण लगायतका देवताहरूको सबै अधिकार खोस्न लाग्यो । आफैँलाई स्वर्गलोकको मालिक घोषणा गर्यो । महिषासुरको कृत्यबाट क्रोधित भएका देवगणले देवी दुर्गाको रचना गरे । दुर्गाको रचनामा सबै देवताहरूले आफ्नो सबै बल लगाए । आ-आफ्ना शस्त्रहरू दुर्गालाई दिए । सबै देवताको ऊर्जाको शक्तिले रचिएकी हुँदा दुर्गा बलवान् भइन् । नौ दिनसम्म देवी र महिषासुरको बीचमा युद्ध भयो । अन्ततः महिषासुरको वध भयो । दुर्गा महिषासुरमर्दिनी बनिन् । यसकै खुसियालीमा दशैँ मनाउने चलन सुरु भयो ।

सामाजिक महत्वः 

वैदिक सनातन धर्मको आरम्भ एक अर्ब ९५ वर्ष पहिलेदेखि दशैँमा जमरा राख्ने परम्परा शुरु भएको भन्ने गरिन्छ । अहिले हामीले मनाइरहेका चाडपर्व अनाधी अर्थात हजारौँ वर्षअघिदेखि मनाउँदै आएको परम्परा हुन् भन्ने मान्यता छ  । पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्न घटस्थापना देखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको हो । घटस्थापनाको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले सो दिनलाई घटस्थापना भन्ने गरिएको हो । 

Ghatasthapana puja
ब्राह्मणद्धारा घटस्थापना पूजा

घटस्थापनाको दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । शैलपुत्री पुजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ । 

दशैं मनाउँन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य आजसम्म पनि भेट्टाउन सकिएको छैन । कतिपयले पृथ्वीनारायण शाहको शासनपछि १८ औं शताब्दीबाट देशले दशैँ मनाउन थालेको बताउँछन् । तर, मल्ल राजाहरूले आफ्नो दरबारमा दशैं धेरै हर्षोल्लासका साथ मनाउने प्रशस्त प्रमाणहरू भेटिन्छन् । लिच्छवी कालमा भने दशैँको बारे उल्लेख गरिएको छैन ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ ।

 पूजा गरिने मन्दिर, पूजा विधिः  

घटस्थापनाको दिन बिहानी नुहाइ धुवाइ गरि चोखो बालुवा अथवा माटो ल्याईन्छ । र जौ छरिन्छ ।  टपरीमा चामल राखेर दियो कलश गणेश स्थापना गरि पुजा चौकिमा रातो कपडा ओछ्याएर देवीहरूको फोटो वा मूर्ति स्थापना गरिन्छ । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ । घटलाई सुख-समृद्धि र ऐश्वर्यदायक तथा मंगलकारी मान्ने गरिन्छ । दशमीका दिन लगाइने जमरा आजकै दिन दशैँ घरमा विधिपूर्वक राखिन्छ । जमरा माता भगवतीलाई मनपर्ने वनस्पति भएको आम मान्यता छ । भगवतीलाई खुशी पार्न घट कलश स्थापना गरि जमरा उमार्ने गरिएको धार्मिक विश्वास छ । 

जमरा
विधिपूर्वक जमरा राखिँदै

जमरा राखिएको स्थान नजिकै पूर्णजल युक्त घडा (कलश) राखिन्छ । घडालाई सजाइ स्वस्तिक बनाएर कलशमाथी नरिवल आँप, चाँप, वर-पिपलको पाँत, दुबो राखिन्छ । कलशमा पञ्चपल्लव चढाईन्छ । त्यसैको वरिपरि देवीको स्वरूपको प्रतिमूर्ति स्थापना गरी नौ दिनसम्म दीप प्रज्वलित गरिन्छ । र अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गर्ने गरिन्छ ।  यसरी राखिएको नरिवलको मुख अर्थात् भेट्नाको भाग पूजा गर्ने व्यक्तिको तर्फ भएमा शत्रु बढ्छ भन्ने मान्यता छ । त्यो मुख पूर्वतर्फ भयो भने धननष्ट हुन्छ भन्ने विश्वास छ । त्यसपछि एकपटक सम्पूर्ण देवी देवतालाई विशेष मन्त्रद्वारा आह्वान गर्ने गरिन्छ ।

घटस्थापनाको दिन घटको स्थापना गरि पूजा गर्दा घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ । त्यस्तै घर छाडेर नजानेहरूले एउटा टपरीमा चामल राखी दियोमा नौ सुते बाती राखेर अखण्ड दियो पनी बाल्न सकिन्छ ।  

वैदिक विधिद्वारा हुने पूजामा जौलाई अनिवार्य मान्ने गरिएको छ । जमरा राखिएको पात्रमा गहुँ तथा जौको अंकुरणसँगै घरमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । आज घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको  नेपाल पञ्चाङ निर्णायक समितीले जनाएको छ । वसन्तपुरको हनुमानढोकास्थित दशैं घरमा सोहि साइतमा  जमरा राखिन्छ । यसरी राखिएको जमरामा हरेक दिन बिहान शुद्ध भएर पानी राख्ने गरिन्छ । 

जमरालाई घामले नदेख्ने ठाउँमा राख्ने गरिन्छ । र विजयादशमीको दिन रातो टीकासँग मिसाएर लगाउने गरिन्छ भने टीकाको पाँचौं दिन पूर्णिमामा यसको विसर्जन गर्ने गरिन्छ । नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्ट, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

जमरा राख्दा ध्यान दिनुपर्ने कुराहरूः 

  • शुद्ध बिजको प्रयोग गर्ने ।
  • शुद्ध तथा अध्याँरो ठाउँ चयन गर्ने ।
  • जौं तथा, गहुँ, धान, मकैको बिजलाई एउटा भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
  • कुनै टपरी/ गमलामा थोरै बालुवा माटो राख्ने ।
  • बिजलाई बालुवा माटोमा बराबर मात्रामा राख्ने ।
  • हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
  • जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हुन्छ । 

जौँ नै किन उमार्ने ?

विशेष गरी अन्नमा जौँलाई सबैभन्दा पुरानो अन्नको रुपमा लिइन्छ र जौँ भगवानको प्रिय वस्तुसमेत भएकाले यसको प्रयोग गरिएको पाइन्छ । शास्त्रमा पनि जौँको निकै महत्व रहेको छ । जौँलाई एकदमै पौष्टिक आहारको रुपमा लिइन्छ । घिउमा मिसाएको जौँ ले हवन गर्दा वातावरणमा रहेको विषालु पदार्थ नष्ट हुनुको साथै पानी पार्नसमेत यसले मद्दत गर्दछ । यसलाई पछिल्लो समय वैज्ञानिकले पनि पुष्टि गरेका छन् । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्त्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । जौ ६० दिनमा नै फल्छ । अनिकाल लाग्दा छिटो फल्ने अन्न भएकाले पनि यसको विशेष महत्व छ ।

घटस्थापना

पुर्वाधारको विकास तथा सामाजिक आर्थिक परिवर्तनले दशैँको स्वरूप परिवर्तन भएको छ । टिका, जमरा, ठुलाबडाको आशीर्वाद भन्दा पनि दशैँको मौकामा बाहिर घुम्न जाने प्रवृति पनि विकास हुँदै छ । यससँगै दशैँको मौलिकतामाथि प्रश्न उठ्न थालेको छ । 

दशैं भुटानको ल्होत्साम्पा र म्यानमारका बर्मी, गोर्खा लगायत भारतका केही भाग र विश्वका अन्य ठाउँका हिन्दूहरूले मनाउँछन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो ।  भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा टिका जमरा लगाउने परम्परा पाइँदैन । जमरामा जौँ, धान, मकै र गहुँ राखिन्छ । तर यी बाहेक शुद्ध जौ राख्नु गर्नु राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It