काठमाडौं । सुरक्षित आवासको एक महत्वपूर्ण आधार हो बलियो अनि मजबुत घर । जुन हरकोहिको आधारभूत आवश्यकता भित्र पर्दछ । घरनिर्माण गर्दा जमिन देखि अन्य निर्माण सामग्रीमा उत्तिकै गम्भिर हुनु जरुरी छ ।  आज हामी बलियो तथा मजबुत घर कसरी बनाउने भन्ने विषयमा विशेष चर्चा गर्दैछौं ।

कसरी बनाएको बिम बलियो हुन्छ त ! 

मजबुत घर निर्माणका लागि पिलर र बिमको महत्वपूर्ण भूमिका रहन्छ । जमिन परिक्षण पश्चात् कम्तिमा पनि ५ फिट गहिरो खाडल खनेर जग बनाइन्छ । भूकम्पअघि घर बनाउँदा डबल टाइबिम गर्ने चलन निकै कम थियो । तर हिजोआज जगमा डबल टाइबिम अनिवार्य गर्नुपर्ने व्यवस्था छ । जमिनमुनि हात्तीपाइले राखेपछि त्यसैसँग टाँसेर बिम बनाइन्छ जसलाई  लोअर टाइबिम भनिन्छ । लोअर टाइबिमले घरका सबै हात्तीपाइले बाँधेर राख्‍ने काम गर्छ । 

यदि अर्काकाे घर वा जग्गासँग जोडेर पिलर बनाउँदै हुनुहुन्छ भने अलि ठूलो बिम बनाउनुपर्छ । ताकि पिलरले घरको लोड सजिलै थाम्न सकोस् । अपर टाइबिम भनेको डिपिसी हो । घरका चारैतिरका सबै पिलरलाई बाँध्नका लागि दोस्रो टाइबिम बनाइन्छ । लोअर र अपर टाइबिमकाे बिचमा खाली भाग हुन्छ । दुबै टाइबिमकाे बिच भागमा भित्र र बाहिरबाट बलियो वाल लगाउनुपर्छ । कतिपयले खर्च जोगाउन दुईवटा टाइबिमकाे बिचमा वाल लगाउन खोज्दैनन्, त्यसले गर्दा घर बलियो हुँदैन ।’

कसरी बनाएको पिलर बलियो हुन्छ त !

अब कुरा गरौँ पिलरको । सरकारले भूकम्पपछि पिलरको नयाँ मापदण्ड बनाएको छ । भूकम्पअघि घरको पिलर ९ बाइ ९ इन्च वा १२/१२ इन्च इच्छा अनुसार बनाउन सकिन्थ्यो । भूकम्पपछि न्यूनतम १२/१२ इन्चको पिलर बनाउनै पर्ने मापदण्ड रहेको छ । भवनको भार पिलरले उठाउने भएका पिलरहरू मजबुत हुनु आवश्यक हुन्छ । तीन तलासम्मको घरहरूमा पिलरहरू बीचको दूरी एकापट्टी १०’०”(३ मिटर र अर्कोतिर १४’९” (४.५ मिटर) सम्म भएमा पिलरको आकार कम्तिमा १२”×१२”हुनुपर्छ । भुइँ तलाको बाहिरी लाइन (अगाडी), कुना  र बीचभाग (सेन्टर) का पिलरमा कम्तिमा ४ वटा (१६ मि.मि.) र ४ वटा (१२ मि.मि.) र पहिलो तथा दोस्रो तलाका लागि कम्तिमा ८ वटा ४ लाइनमा (१२ मि.मि.)को ठाडो डन्डीहरू राख्नुपर्छ ।

Pillers

घरको वाल/पर्खाल कस्तो लगाउने !

पर्खाल घरको भार थाम्ने लोड  बेयरिङ  वाल र, घरका कोठा छुट्याउन लगाइने नन लोड  बेयरिङ  वाल दुई किसिमका हुन्छन् । सबै घर पिलर राखेरै बनाइन्छ भन्ने हुँदैन । घर बनाउने स्थान र कुन प्रयोजनका लागि बनाउने, कत्तिको बनाउने भन्ने आधारमा पर्खालको संरचनामा फरक पर्छ । 

पिलर नभएका घरको सबै भार पर्खालमा पर्छ । त्यसैले पर्खाल सम्पूर्ण संरचनाको भार धान्ने खालको हुनुपर्छ तर पिलर भएका घरहरूमा कोठा छुट्याउन मात्र पर्खालको  प्रयाेग गरिन्छ । घरको भार नपर्ने हुँदा भित्री भागमा इँटा, प्लाइउड, सिसा वा आलमुनियम जस्ता जुनसुकै सामग्रीको लगाउन मिल्छ । यसमा पर्खाल पातलो वा मोटो जस्तो लगाए पनि फरक पर्दैन । साधारणतयाः पर्खाल ४ इन्च, ६ इन्च र ९ इन्चको बनाउने गरिन्छ ।

कंक्रिटकाे प्रयाेग  

बलियाे घर बनाउन  ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष हो,  कंक्रिट निर्माण । सही अनुपातमा सिमेन्ट, बालुवा र गिटीको मिश्रण बनाई त्यसमा पानी मिसाएर कंक्रिट बनाइन्छ । यसरी कंक्रिट बनाउँदा कति भारवहन क्षमता अनुसार सिमेन्ट, बालुवा, रोडा र पानी मिलाउनुपर्छ ।यो प्राविधिक कुरा भएकाले यसका लागि इन्जिनियरसँग राम्ररी परामर्श लिनुपर्छ । हरेक संरचनाले लिनुपर्ने भारको आधारमा उपयुक्त क्षमताको कंक्रिटको प्रयोग गर्नुपर्दछ । जसले आवासलाई सुरक्षित गराउँदछ ।

concrete

उपयुक्त गुणस्तरीय सिमेन्ट, डन्डी कंक्रिट चाहिने मात्रामा प्रयोग गरी संरचना निर्माण गर्नु नै बुद्धिमानी हुन्छ । घर सम्पूर्ण हिसाबले सुरक्षित हुन, निर्माण क्षेत्रको स्थिति, माटोको प्रकृति, जमिन मुनिको पानीको अवस्था महत्वपूर्ण हुन्छ । यि सबै कुराहरूलाई ध्यानमा राखेर घर बनाउने हो भने घर मजबुत र बलियो हुन्छ । 

बलियाे घर बनाउदा ध्यान दिनुपर्ने कुराहरुः 

  • सकेसम्म माटाेकाे जाँच गरेर मात्र निर्माण का्र्य अगाडी बढाउने ।
  • घरको बिमभन्दा पिलरको साइज ठूलो वा बलियो बनाउने ।
  • पिलरमा राखिने रिङहरु कम्तिमा ८ मिलिमिटरको हुनुपर्छ ।
  • सही मात्रामा सिमेन्ट र बालुवाकाे मिश्रण हुनु आवाश्यक हुन्छ ।
  • लाइसेन्स प्राप्त ठेकेदार छान्ने ।

प्रतिक्रिया दिनुहोस्
Pin It