News

पूर्व मेयरसहित सडक निर्माणको बजेट हिनामिना गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Pinterest LinkedIn Tumblr

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कृषि सडकका नाममा अनियमितता गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा कृषि सडक निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको भन्दै १२ जना विरुद्ध उजुरी परेको थियो । आरोपितहरूमा पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया रहेका छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदे यादवविरुद्ध मुद्दा दायर भएको छ ।

अनुसन्धानको क्रममा शहिदनगर नगरपालिका–८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणमा अनियमितता भएको पाइएको थियो । फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको देखिएको हो ।

लागत इस्टिमेट र कार्यसम्झौताअनुसार काम गर्ने भनिए पनि लागत बढाई भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८१६.२३ रुपैयाँ बराबरको सरकारी रकम हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

अख्तियारले सजायका लागि आयोगको ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It