News

अधिकांश निर्माण सामग्रीको मूल्य बढ्यो, ८ वर्षमा टायल र मार्बलको मूल्य दोब्बर

By BabinaMay 2, 20232 min read
अधिकांश निर्माण सामग्रीको मूल्य बढ्यो, ८ वर्षमा टायल र मार्बलको मूल्य दोब्बर

काठमाडौं । पछिल्लो आठ वर्षमा अधिकांश निर्माण सामग्रीको मूल्य बढेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सिमेन्टबाहेक अधिकांश निर्माण सामग्रीको मूल्य बढेको पाइएको हो । 

उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७२/७३ देखि आर्थिक वर्ष ०७९/८० मा अधिकांश निर्माण सामग्रीको मूल्य औसतमा २३.८४ प्रतिशतले बढेको छ । भने सोहि अवधिमा सिमेन्टको मूल्यमा ८.५१ प्रतिशतले कमी आएको छ । 

आ.व. २०७२/७३ मा प्रतिकिलो ११०.४ रुपैयाँमा बिक्री भएको सिमेन्ट आर्थिक वर्षको त्रैमाससम्ममा प्रतिकिलो १०१ रुपैयाँ कायम भएको देखिन्छ । 

आ.व. ०७६/७७मा कोरोना महामारीका कारण समग्र देशको अर्थतन्त्र नै धराशायी बन्यो । फलस्वरुप विकास निर्माणले गति लिन नसक्दा सिमेन्टको मूल्यमा कमी आएको देखिन्छ ।

सिमेन्टको मूल्यमा गिरावट देखिए पनि इट्टा, ढुंगा र कंक्रिटको मूल्य ८ वर्षको अवधिमा १५.३७ प्रतिशतले बढेको छ । 

आ.व. ०७२/७३ मा इट्टा, ढुंगा र कंक्रिटको मूल्य प्रतिकिलो १२२.३ रुपैयाँ थियो । चालू आ.व.को असोजसम्ममा आइपुग्दा उक्त सामग्रीको मूल्य १४१.१ रुपैयाँ कायम भएको छ ।

डन्डी तथा विलेटको मूल्य ४९.२४ प्रतिशतले बढेको छ । आठ वर्षअघि प्रतिकिलो ९३.२ रुपैयाँमा पाइने डण्डी तथा विलेटको मूल्य गत असोजसम्ममा १३९.१ रुपैयाँमा बिक्री भएको छ ।

काठको मूल्य ८ वर्षको अवधिमा अल्मुनियमको मूल्य १८.७५ प्रतिशतले, बालुवा २७.८० प्रतिशतले, बालुवाको मूल्य १२.६६ प्रतिशत, विद्युतीय सामग्री/ग्लास ४९.५१ प्रतिशत, जीआई पाइप एन्ड फिटिङ ४७ प्रतिशत, बिटुमिन १२ प्रतिशत र काबिन वायरको मूल्य ६९ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो आठ वर्षको अवधिमा टायल र मार्बलको मूल्य १०३ प्रतिशतले बढेको तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । आ.व. ०७२/७३ मा प्रति स्क्वायरमिटर १०२.४ रुपैयाँमा बिक्री भएको टायल र मार्बलको मूल्य चालु आ.व.को पहिलो त्रैमासिकमा आइपुग्दा २०७.९ रुपैयाँ पुगेको छ ।

त्यस्तै, जस्तापाताको मूल्य ५१ प्रतिशत, पोलिथिन पाइप र फिटिङ ६० प्रतिशत, रङ ३१.२५ प्रतिशत, विद्युतीय तार ४९.५१ प्रतिशत, ह्यूम पाइप ८९.२६ प्रतिशत र माटोको मूल्य २२.४७ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/७३ र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कायम भएको निर्माणको सामग्रीको प्रतिकिलो मूल्यः

क्र. सं निर्माण सामग्री  आ.व. ०७२/७३ आ.व.०७९/८० (पहिलो त्रैमास) मूल्य वृद्विदर (%मा)
१. सिमेन्ट  ११०.४  १०१ -८.५१
२. इट्टा, ढुंगा र कंक्रिट १२२.३ १४१.१ १५.३७
३. रड तथा विलेट ९३.२ १३९.१ ४९.२४
४. काठ ८२.१ ९७.५ १८.७५ 
५. अल्मुनियम १०४.३ १३३.३ २७.८
६. बालुवा  १५१.६ १७०.८ १२.६६
७. विद्युतीय सामग्री/ग्लास १०३.७ १५०.९ ४५.५१
८. जीआई पाइप एन्ड फिटिङ ९२.१ १३५.४ ४७.०१
९. बिटुमिन (सडक कालोपत्रेका लागि चाहिने वस्तु)  १३८.२ १५४.७ ११.९३
१०. काबिन वायर ८७.४ १४७.७ ६८.९९
११. टायल/मार्वल १०२.४ २०७.९  १०३.०२
१२. जस्तापाता  ११६.६ १७६.२ ५१.११
१३. पोलिथिन पाइप १३५.७ २१६.९ ५९.८३
१४. रङ्ग  ९९.२ १३०.२ ३१.२५ 
१५. विद्युतीय तार ९२.३ १३८ ४९.५१
१६. ह्यूम पाइप ९४.१ १७८.१ ८९.२६ 
१७. माटो १६०.६ १९६.७ २२.४७
औसत मूल्य  ११२.८ १३९.७ २३.८४

स्रोतःराष्ट्रिय तथ्यांक कार्यालय

construction materialsmarbles priceOffice for National Statisticstiles price

You May Also Like

More stories from Basobaas