News

मनसुन सुरु भएसँगै निर्माण सामाग्रीको मूल्यमा गिरावट, के को मूल्य कति घट्यो?

By BabinaJuly 8, 20223 min read
मनसुन सुरु भएसँगै निर्माण सामाग्रीको मूल्यमा गिरावट, के को मूल्य कति घट्यो?

सुन्नुहोस्: 

 

काठमाडौं । वर्षाको समय चलिरहेको छ । यससँगै संरचनाहरू निर्माणमा कमी आएको छ अर्थात् कन्स्ट्रक्सन अफसिजन सुरु भएको छ । भने, अधिकांश निर्माण सामाग्रीको मूल्यमा गिरावट आएको छ । निर्माण सामग्री भन्ने बित्तिकै ईंटा, रड र सिमेन्टलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । हामीले यिनै निर्माण सामग्रीको बजार मूल्यमा आएको उतारचढावका सम्बन्धमा व्यवसायी तिलक ढुङ्गानासँग कुरा गरेका छौं । सोही कुराकानीका आधारमा हामीले यो लेख तयार गरेका हौं ।

हिजोआज बाटोको समस्या र पानीले संरचना निर्माण अलपत्र परिरहेका छन् । यसो हुँदा बजारमा हिजोआज सामाग्रीको माग घटेको छ । जसले गर्दा निर्माण सामाग्रीको मूल्य क्रमिक रुपमा घट्दै गएको ढुङ्गानाको भनाई छ ।   

असार लागेसँगै ईंटा, सिमेन्ट र डन्डीको मूल्य ओरालो लागेको ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘बर्षादको समयमा निर्माणको काम कम हुन्छ । यतिबेला निर्माण सामग्रीको माग पनि कम हुन्छ । त्यसैले हाल लामो समय भण्डारण गरेर राख्न नमिल्ने र अन्य औद्योगिक निर्माण सामाग्रीहरूको मूल्य सस्तिन थालेको हो ।’ 

हाल सिमेन्टको बजार अवस्था बारेमाः

मुख्यगरी सिमेन्टको गुणस्तर र ब्रान्डका आधारमा मूल्य निर्धारण भएको हुन्छ । त्यसमा पनि समयअनुसार घटबढ हुने भइरहेको हुन्छ । ओम टंकेश्वर इन्टरप्राइजेजका सञ्चालक तिलक ढुङ्गानाका अनुसार, ‘गत चैत महिनाको मूल्य सूचीअनुसार सिमेन्ट बोरामा ४० देखि ५० रुपैयाँ घटेको छ । ५० किलोको बोरामा पाइने ओपीसी र पिपीसी दुवैको मूल्य सस्तिएको उनले बताए । 

ब्रान्डअनुसार अहिले ओपीसी छ सय ५० देखि सात सय ८० रुपैयाँसम्म पर्छ । अहिले उदयपुर सिमेन्टको मूल्य प्रतिबोरा नौ सय रुपैयाँ छ । प्रतिबोरा आठ सय ९५ रुपैयाँ सम्म पर्ने हेटौंडा सिमेन्ट तुलनात्मक रुपमा सस्तो छ । तर यी दुवै ब्रान्ड अन्य सिमेन्ट ब्रान्डको तुलनामा महङ्गा हुन् । 

 ‘अहिले पोहोरभन्दा प्रतिबोरा १०० रुपैयाँ सम्म मूल्य सस्तिएको ढुंगाना बताउँछन् । गतवर्ष ५० केजी ओपीसी सिमेन्ट ७६० देखि ८२० रुपैयाँसम्ममा पाइन्थ्यो । जबकी अहिले मूल्यमा गिरावट आएर ५८० देखि ७८० रुपैयाँमा झरेको छ । त्यसैगरी, गतवर्ष ५० केजी पिपीसी सिमेन्ट ७५० सम्म पुगेको थियो भने अहिले ६३० को हाराहारी आइपुगेको छ ।’

ईंटाको बजार अवस्थाः

ईंटाको गुणस्तर, आकार र उत्पादन प्रविधिअनुसार मूल्य निर्धारण गरिएको हुन्छ । हाल बजारमा प्रति युनिट १५ देखि १८ रूपैंयासम्म पर्ने ईंटा उपलब्ध छन् । स्थानीय स्तरमा उत्पादन भएका एक नम्बर ईंटाको आन्तरिक मूल्य १३ रुपैयाँ पर्दछ भने दुई नम्बरको ईंटालाई ११ रुपैयाँ पर्दछ । बाहिरबाट आयात हुने गरेका ईंटाको मूल्य हाल बजारमा १८ रुपैयाँ पर्ने गरेको व्यवसायी ढुंगाना बताउँछन् । रुपैयाँ

 मौसमको अवस्था र सहजताका हिसाबले निर्माणका लागि प्रायजसो असोज देखि चैतसम्मको महिनालाई अनुकूल मानिन्छ । सो अवधीमा व्यवसायीहरूले मौकाको फाइदा उठाउने गरेको देखिन्छ । ढुङ्गानाका अनुसार, गतवर्ष निर्माणको सिजनमा ईंटाको मूल्य २० देखि २२ रुपैयाँ प्रति गोटा सम्म पुगेको थियो । उनी भन्छन्, ‘यो मूल्य टंकेश्वर ग्रुपको धादिङ र नुवाकोटमा जिल्लामा लागु मूल्यसूची हो । काठमाडौंमा भने केहि मूल्य थपघट हुनसक्छ ।’ 

रडको बजार अवस्थाः

हिजोआज सामान्य घरहरूमा समेत काठको प्रयोग घटेर गएको छ । यसो हुँदा पिलर निर्माण र ढलान लगायतका लागि रडको प्रयोग बढ्दो छ । नेपालको सन्दर्भमा अधिकांश रड भारतबाट आयात हुन्छ । स्थानीय उत्पादनका लागि सम्भावना कम छ । भारतबाट कच्चापदार्थ आयात गरी रड तयार गर्दा मूल्य महंगो पर्न जान्छ । त्यसो हुँदा मूल्य कटौति गर्नका लागि तयारी अवस्थामा भएका र ड भारतबाट ल्याइन्छ । गत फागुनमा रडको मूल्य एक सय ३५ सम्म पर्दथ्यो । हाल सो मूल्य घटेर भ्याट सहित १ सय १४ रुपैंयामा आइपुगेको छ । 

वैशाखदेखि असोजसम्मको समयलाई भने निर्माण गतिविधिका लागि अफ सिजन मानिन्छ । असोज महिना देखि वर्षाद-झरीको समय सकिन्छ । दशैंतिहारको माहोल सकिएसँगै मानिसहरू निर्माणको काम सुरु गर्छन् । साथै बजार मूल्यलाई प्रभाव पार्ने अन्य कारकहरू पनि छन् । जस्तो कि, २०७२ सालको भूकम्प पछि नेपालमा सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्री उद्योगको एक किसिमले बाढी नै लागेको थियो । नयाँ उद्योग थपिनुका साथै भएका उद्योगहरुले पनि क्षमता विस्तार गरेका छन् । यसरी उत्पादन क्षमता वृद्धि हुँदा आपूर्तिमा परेको चापले मूल्यमा असर देखाएको छ ।

 अहिले अफ सिजन, बढ्दो उत्पादन र तरलता अभावले समग्र व्यवसायलाई नै असर गरेको छ । गत वर्षको समान अवधिको तुलनामा अहिले निर्माण सामाग्रीको कारोबार ५० प्रतिशतले घटेको ढुंगानाले बताए ।

हाल तरलताको अभावले बैंकबाट ऋण पाउन मुश्किल छ । जसले गर्दा निर्माणले उल्लेखनीय गति लिन सकेको छैन । केही समयअघि सम्म निर्माण सामाग्रीको मूल्य आकासिएको थियो । यद्यपि पछिल्लो समय मूल्यमा गिरावट आएसँगै घर बनाउन खोजिरहेका उपभोक्तालाई राहत पुगेको छ । 

brick price in nepalcement price in nepalconstruction martials price in nepalconstruction materials

You May Also Like

More stories from Basobaas