काठमाडौं । नेपालका विभिन्न भूभागमा गरी गतवर्ष मात्रै निर्माणजन्य सामाग्री उत्पादनका लागि १३ उद्योग दर्ता भएको पाइएको छ । पछिल्लो समय निर्माण क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो छ । त्यसमा पनि सिमेन्ट र फलामे डन्डी उत्पादनमा ठूलो लगानी अधिक देखिन्छ । उद्योग विभागको तथ्यांकले स्टिल बिलेट, सिमेन्ट, सेरामिक्स टायलदेखि इँटासम्म उत्पादन गर्ने यी उद्योगमा कुल ३१ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेको देखाएको छ । धेरै समयदेखि आयातमा निर्भर सेरामिक्स टायलको उत्पादन पनि देशभित्रै सुरु भएको छ ।

१४ अर्ब २७ करोडको लगानीमा सूर्यतारा सिमेन्ट उद्योगः

कर्णाली प्रदेशमा पहिलो पटक सिमेन्ट उद्योग खुल्ने भएको छ । सुर्खेतको पञ्चपुरीमा सूर्यतारा सिमेन्ट उद्योग खोल्न लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ ।

दाङको सम्राट सिमेन्टबाट बाहिरिएका मुकुन्द तिमिल्सिनाको समूहले सुर्खेतमा दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योग खोल्न लागेको हो । उद्योग खोल्नका लागि ४० बिगा जग्गा खरिद गरिसकेको र सरकारले उद्योग खुल्ने ठाउँसम्म बिजुलीको लाइन तान्न सुरु गर्नासाथ उद्योग संचालनमा आउने पाइएको छ । उक्त क्षेत्रमा रहेको नाजुक सडक अवस्थाको स्तरोन्नती गर्न सरकारले प्रतिवद्धता जनाइसकेको छ ।

५ अर्ब ९० करोडको लगानीमा गौरीशंकर सिमेन्ट उद्योग : 

सिमेन्ट उद्योग स्थापनाका लागि कपिलवस्तुको शिवराज नगरपालिकामा गौरीशंकर सिमेन्ट उद्योग दर्ता भएको छ । यस उद्योगमा ५ अर्ब ९० करोड ९० लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइएको छ । यो उद्योगले सिमेन्ट र क्लिंकर गरी बार्षिक ७ लाख २६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । सिमेन्ट र डन्डी उद्योगका लागि भैरहवा, कपिलवस्तु र नवलपरासी जिल्ला अग्रस्थानमा छन् । 

३ अर्ब ९६ करोड लगानीमा लुम्बिनी सेरामिक्स : 

विदेशबाट आयातमा निर्भर रहँदै आएको सेरामिक्स टायल अब स्वदेशमै उत्पादन हुन थालेको छ । हालैमात्र नेपाल सेरामिक्स प्रालिले ‘नेपोभिट’ ब्रान्डको टायल बजारमा ल्याएको छ । बाराको जितपुरमा फ्याक्ट्री रहेको उद्योगमा करीव दुई अर्ब रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ । यस्तै, बर्दियामा टायल उत्पादनकै लागि भनेर लुम्बिनी सेरामिक्स उद्योग दर्ता भएको छ । कम्पनीले गुलरिया नगरपालिका–०८ मा टायल उत्पादन गर्न ३ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ लगानी गर्ने जनाएको हो । यो उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ८० लाख पिस सेरामिक्स टायल उत्पादन क्षमता रहने उल्लेख छ । यो उद्योगले ५ सयभन्दा बढीलाई रोजगारी दिने अपेक्षा गरिएको छ । उद्योगले लिभिङ रुम, बाथरुम, किचन, टेरेस, फ्लोर, आउटडोर, भित्तालगायत ठाउँमा प्रयोग गर्ने टायल उत्पादन गर्नेछ । 

२ अर्ब ६७ करोडको लगानी समृद्धि मेटालिक्सलाई : 

लक्ष्मी ग्रुपले स्टिल बिलेट उत्पादनमा २ अर्ब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्पञ्ज आइरन ल्याएर स्वदेशमै स्टिल बिलेट उत्पादन गर्ने र उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यससँगै बिलेट उद्योगमा लगानी वृद्धि भएको छ । यस ग्रुपले भैरहवामा समृद्धि ब्रान्डमा डन्डी उत्पादन गर्दै आइरहेको छ । स्टिल बिलेट उत्पादन गर्ने उद्योग लगाउँदा ४ सयले रोजगारी पाउने छन् । यो उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख २२ हजार मेट्रिक टन बिलेट हुनेछ । उद्योगका लागि ४ हजार केभीए क्षमताको प्रशारण लाइन आवश्यक हुन्छ ।

१ अर्बको लगानीमा टेन स्टील पार्क : 

नवलपरासीको सरावल गाउँपालिका–३ मा आइरन स्ट्रिप्स उत्पादनका लागि भनेर टेन स्टील पार्क दर्ता भएको छ । एक अर्ब रुपैयाँ लगानी हुने यस उद्योगबाट बार्षिक १ लाख ८० हजार मेट्रिक टन आइरन स्ट्रिप्स उत्पादन हुनेछ । यो उद्योग सञ्चालनमा आउँदा २ सय ५५ जनाले रोजगारी पाउनेछन् । 

१ अर्ब ५७ करोडको लगानीमा हुलास इन्फ्रा : 

पर्साको विन्दावासिनी गाउँपालिकामा हुलास इन्फ्रा दर्ता भएको छ । यस उद्योगबाट एमएस स्ट्रक्चर, जिआइ स्ट्रक्चर, पाइप, जिआइ पाइप, हाइवे साइड गार्ड लगायत निर्माण सामाग्री उत्पादन हुने बताइएको छ । यो उद्योगमा एक अर्ब ५७ करोड रुपैयाँ लगानी हुनेछ भने एक सय २३ जनाले रोजगारी पाउनेछन् । 

७० करोड २९ लाखको लगानीमा प्राइम सेरामिक्सः 

रौतहतको बृन्दावन नगरपालिका–६ मा पनि सेरामिक्स टायल उत्पादन हुने भएको छ । टायल उत्पादनका लागि प्राइम सेरामिक्स उद्योग दर्ता भइसकेको छ । जहाँ ७० करोड २९ लाख रुपैयाँ लगानी गर्ने उद्योग विभागमा गरिएको प्रस्तावमा उल्लेख छ । यो उद्योग सञ्चालनमा आउँदा एक सय ५५ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । 

४१ करोड लगानीमा मालिका स्टिल्स : 

कैलालीको जानकी नगरपालिका–८ मा मालिक स्टिल्स उद्योग खुल्ने भएको छ । ४१ करोड रुपैयाँ लगानीमा खुल्न लागेको यस उद्योगले एमएस रिबेड बार उत्पादन गर्ने बताइएको छ । बार्षिक ३० हजार मेट्रिक टन उत्पादन क्षमता रहने उद्योगमा दुई सय ८५ जनालाई रोजगारी दिने प्रतिवबद्धता छ । 

२० करोड ५९ लाख लगानीमा कन्काइ पाइप फिटिङ : 

रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–४ मा २० करोड ५९ लाख रुपैयाँ लगानीमा कन्काइ पाइप फिटिङ उद्योग खुल्ने भएको छ । यो उद्योगबाट बार्षिक रुपमा सिपिभीसी पाइप ४३० मेट्रिकटन, सिपिभीसी फिटिङ्स ३१० मेट्रिकटन, पिभिसी पाइप ४२० मेट्रिक टन, पिभिसी फिटिङ्स ५ सय मेट्रिक टन उत्पादन हुने भएको छ । यो उद्योगमा ७० जनालाई रोजागरी दिने प्रस्ताव छ ।

१७ करोड ८० लाख लगानीमा सर्वोत्तम इँटा : 

लमजुङको सुन्दरबजार वडा नम्बर २ मा इँटा उद्योग खुल्ने भएको छ । वार्षिक २ करोड इँटा उत्पादन गर्ने गरी सर्वोत्तम इँटा कारखाना दर्ता भएको उद्योग विभागले जनाएको छ । यो उद्योगमा १७ करोड ८० लाख रुपैयाँ लगानी हुँदा ४ सय ७१ जनाले रोजगारी पाउनेछन् । 

१६ करोड ५० लाख लगानीमा कैलाश इँटा उद्योग : 

मोरङको रतुवामाई नगरपालिका–६ मा इँटा उत्पादनका लागि भन्दै कैलाश इँटा उद्योग प्रालि दर्ता भएको छ । १६ करोड ५० लाख रुपैयाँ लगानी हुने यस उद्योगबाट बार्षिक दुई करोड पिस इँटा उत्पादन हुनेछ । यो उद्योग सञ्चालनमा आउँदा एक सय ७३ जनाले रोजगारी पाउनेछन् । 

१५ करोडको लगानी गोदावरी ब्लकलाई : 

कैलालीको गोदावरी नगरपालिका–८ मा कंक्रिट ब्लक उत्पादन गर्नका लागि उद्योग दर्ता गरिएको छ । गोदावरी कंक्रिट ब्लक उद्योगमा १५ करोड रुपैयाँ लगानी हुनेछ भने बार्षिक एक करोड २० लाख इँटा उत्पादन हुनेछन् । 

१४ करोडको लगानीमा पोखरा इको ब्रिक्स :

कास्कीको रुपा गाउँपालिकामा इँटा उत्पादन गर्नका लागि पोखरा इको रेड ब्रिक्स उद्योग दर्ता भएको छ । १४ करोड रुपैयाँ लगानी रहने यस उद्योगबाट बार्षिक २ करोड ९० लाख इँटा उत्पादन हुनेछ । यो उद्योग सञ्चालनमा आउँदा दुई सयले रोजगारी पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It