Lifestyle

किन भासिँदै छ अमेरिकाको ‘न्युयोर्क सहर’

Pinterest LinkedIn Tumblr

काठमाडौं । अमेरिकाको प्रसिद्ध सहर ‘न्युयोर्क सिटी’ निरन्तर भासिरहेको पाइएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन ल्याबले गरेको अध्ययनले सहर भासिदै गएको देखाएको हो । 

बढ्दो जनघनत्व र जलवायु परिवर्तनका कारण लगभग ९० लाख मान्छेको घर न्यूयोर्क सहर जोखिममा पर्दैछ । न्यूयोर्क क्षेत्रका टेक्टोनिक प्लेटहरू पृथ्वीमा धसिँदै जानु र मौसमी बदलावलाई सहरको खतराका कारक मानिएको छ । 

पृथ्वीमा सातवटा टेक्टोनिक प्लेट अर्थात् ठूला चट्टान छन् । यी प्लेटहरू एकापसमा जोडिएर बसेका हुन्छन् र कुनै एकअर्कामा खप्टिएका पनि हुन्छन् । यिनै टुक्राहरू मिलेर पृथ्वीको माथिल्लो भूभाग बन्छ । 

जेट प्रपल्सन ल्याबको अध्ययन अनुसार न्युयोर्क सहर सन् २०१६ देखि २०२३ सम्म प्रतिवर्ष १.६ मिलिमिटरको दरले भासिँदै गइरहेको छ । 

नासाले स्याटलाइटका माध्यमबाट न्युयोर्क सहरको InSAR डेटा लिएर त्यसबाट थ्रीडी नक्सा तयार गरेको छ । सहरको सतहमुनिको उक्त थ्रीडी नक्साबाटै न्युयोर्क सहरका ठूलो इलाका बर्सेनि एक वा दुई मिलिमिटरको दरले भासिँदै गएको पत्ता लागेको हो । 

न्युयोर्कको भासिँदै गरेको क्षेत्रमा करिब ८० लाख मानिस बस्दछन् । तीव्र रुपमा भासिँदै गएकाले यस क्षेत्रमा पानी भरिने खतरा छ । अमेरिकन भूवैज्ञानिक सर्वेक्षणका भूगर्भविद थम पार्सन्सका अनुसार यसले गर्दा भविष्यमा बाढीको पनि खतरा रहेको छ । 

पार्सन्सको टोलीले न्युयोर्क सहरका १० लाख भवनको वजनसम्बन्धी तथ्यांक निकालेको छ । जसअनुसार ती भवनको तौल ७ खर्ब ६४ अर्ब केजी छ । उनीहरूले सहरलाई १०० गुणा १०० मिटरको ग्रिडमा विभाजन गरी भवनहरूका कारण न्युयोर्कको जमिनमा कति चाप परेको छ भन्ने मापन गरेका थिए । यो अध्ययनमा भवनहरूको मात्रै वजन लिइएको छ । 

न्युयोर्कको जमिन बालुवा, सिल्ट, माटो अर्थात् क्ले तथा बेडरक अर्थात् चट्टानबाट बनेको छ । क्लेबाट बनेको माटो भएको जमिन भास्सिने जोखिम धेरै हुन्छ । शोधकर्ताकाअनुसार विगत केही दशकमा म्यानहटन सहर २९४ मिलिमिटर भास्सिइसकेको छ ।

लगातारको उत्खनन, ढल तथा नालीको निर्माण, भवनको जगका लागि गरिने खनन, ठूला मेसिनबाट हुने ड्रिलिङका कारण जमिन भास्सिने खतरा बढ्छ । 

न्युयोर्क मात्र नभएर विश्वका अन्य भागमा पनि यस्तो जोखिम देखिएको छ । सन् २०५० सम्ममा  इन्डोनेसियाको जकार्ता सहर समुद्रमा डुबिसक्ने भनिएको छ । त्यहाँका कतिपय ठाउँहरु ११ सेन्टिमिटर पानीमुनि हुनेछन् ।

स्रोतः एजेन्सी

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It