Policy

थोरै मूल्य राखेर ‘जग्गा पास’ गर्दा के हुन्छ ? आउन सक्छन् यस्ता झमेलाहरू

By BabinaJune 20, 20242 min read
थोरै मूल्य राखेर ‘जग्गा पास’ गर्दा के हुन्छ ? आउन सक्छन् यस्ता झमेलाहरू

काठमाडौं । पछिल्लो समय घरजग्गा किनबेच गर्दा सरकारले निर्धारण गरेको न्यूनतम मूल्यलाई नै जग्गाको मूल्य भनेर राजिनामा वा हक हस्तान्तरण गर्ने गरिन्छ । वास्तविक मूल्य राख्दा राजस्व बढि लाग्ने हुँदा मूल्य लुकाउने प्रवृत्ति चल्तीमा छ । यसरी वास्तविक मूल्य लुकाएर घरजग्गा पास गर्दा भविष्यमा के कस्तो समस्या झेल्नुपर्छ भन्नेबारे आज हामी चर्चा गर्दैछौं । 

जग्गा किनबेच गर्दा ठूलो रकम लगानी गरिन्छ । जति धेरै रकम लगानी गरिन्छ राजस्व पनि उति धेरै तिर्नुपर्छ । यसो हुँदा कारोबार ठुलो रकममा भएतापनि मालपोतमा भने सरकारी सरकारले निर्धारण गरेको न्यूनतम मूल्यमा नै जग्गा खरिदबिक्री भएको हो भनेर राजिनामा/हक हस्तान्तरण हुन्छ । सरकारी मूल्याङ्कन वास्तविक बजार मूल्य भन्दा निकै कम छ ।

कम मूल्य राखेर जग्गा पास गर्दा आउने परिणामहरूः

कम मूल्यांकन राखेर घरजग्गा पास गर्दा राजस्वका साथै पुँजीगत लाभकर पनि कम लाग्छ । घरजग्गा कारोबारमा अहिले चार प्रतिशत राजस्व तिर्नुपर्छ ।

राजश्व छलीको कसुर लाग्नेः

कुनै पनि व्यक्तिले नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतिर्ने उद्देश्यले गलत लेखा, विवरण वा कागजात प्रस्तुत गरी प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरे वा बुझाउनु पर्ने भन्दा कम राजस्व तिरेमा राजस्व चुहावट गरेको मानिन्छ । जग्गा बेच्ने र किन्ने पक्षले मालपोतमा कतिमा किन्नुभयो भनेर सोध्दा एउटै मूल्य बताउँछन् । न्यूनतम मूल्यमा कारोबार गरेको देखाएपछि चलनचल्तीको मूल्यबारे मालपोतले प्रश्न गर्न मिल्दैन् ।

राजस्व चुहावटको जरिवाना तिर्नुपर्नेः

राजस्व चुहावटबारे अनुसन्धान भएको अवस्थामा राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बरसम्म जरिवाना गरी कसूरको मात्रा हेरी तीन वर्षसम्म कैद सजाय हुने राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मा उल्लेख छ । 

हकदाबीको बेला नगदमा घाटा लाग्नेः

अर्कोतर्फ, त्यसैगरी घरजग्गा बिक्री गर्ने परिवारबाट कसैले हकदाबी गरेको खण्डमा नगदमा समेत घाटा ब्यहोर्नु पर्छ । एकाघरका परिवारबाहेक अन्यले हकदाबी गर्न नपाउने व्यवस्था लागू भएपछि पहिलेको जस्तो घरजग्गा किनबेचमा हकदाबी गर्नेहरू कमै भेटिन्छन् । एकाध सगोलको जग्गा बिक्री गर्दा अन्य सगोलका अंशबन्डा नभएका अंशियारहरूको मन्जुरी लिनुपर्छ । तर हामी यो काम प्राय गर्दैनौं । तत्कालको व्यवहार हेरेर कारोबार गर्छौं । तर पछि अंशियारले मुद्दा हाल्न सक्छन् । 

लगानी डुब्नसक्ने जोखिमः

यदि परिवार भित्रका सदस्यले आफ्नो अंशभागको जग्गाको लिखत बदर गरी पाँउ भनी नालिस हालेको खण्डमा अदालतबाट लिखत बदर हुन्छ । यसरी मुद्दा परेर लिएको सम्पत्ति बदर भएमा कपाली तमसुक(लेनदेन) अनुसारको थैली रकम अर्थात वास्तविक कारोबार रकम र थैलीका लागि लागेको रजिष्ट्रेसन दस्तुर फिर्ता पाइन्छ । तर राजस्व कम लाग्छ भनेर वास्तविक खरिद रकम लुकाएर राजिनामा गर्दा जति रकम उल्लेख गरेको छ सो रकम मात्र फिर्ता पाइन्छ । यसरी आफ्नो लगानी समेत डुब्न सक्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

land policy in Nepalland tenure systemland use in NepalMinimum valuation of landNational Land Policytax evasion

You May Also Like

More stories from Basobaas