Lifestyle

छठ पर्वको रौनक देशैभर, आज सूर्यको पुजा गरे मनोकामना पुरा हुने 

By BabinaOctober 30, 20223 min read
छठ पर्वको रौनक देशैभर, आज सूर्यको पुजा गरे मनोकामना पुरा हुने 

काठमाडौं । छठ पर्व विशेषगरी तराई भेगको मिथिला क्षेत्रमा मनाइन्छ । सूर्यको पूजा गरी मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रूपमा सम्पन्न हुन्छ । छठ षष्ठी तिथिका दिन मनाइने भएकाले अपभ्रंसित भइ छठ भएको विश्वास छ । 

२०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरूप ग्रहण गरेको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती, बल्खु, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । सद्भाव भ्रातृत्व र एकता प्रतीक यस पर्वलाई हर्ष उल्लासका साथ नदि ताल तलैया वा पोखरी किनारमा श्रिङ्गारिएर तयार पारिएको घाटहरू केराका थम्बा झिलिमिली बत्ती बिच अस्ताउँदो र अस्ताउँदो सुर्यलाई दूधको अर्घ दिएर मनाइन्छ । 

महाभारतमा पाण्डवहरूले १२ वर्षको वनवास पछि एक वर्षको कठिन गुप्तबास बस्न परेको थियो । अग्नि पुराणमा उल्लेख भएअनुसार, गुप्तबास सुरु हुनु अघि द्रौपदी सहित पाण्डवले सूर्य देवको पुजा आरधना गरेका थिए । सूर्य देवको वरदान पाएर उनीहरूले विराट राजाको दरबारमा सफल गुप्तबास बसेको हुनाले छठको परम्परा बसेको किंवदन्ती छ ।  त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।

सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिन्छ । यसैकारण यो पर्वको नाम छठ पर्न गएको मान्यता छ । मिथिलाञ्चलमा सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा लोक विधिविधान अनुसार परम्परागत शैलीमा पूजा गर्ने परम्परा छ । छठीमाईको जन्म प्रकृतिको छैठौं अंशबाट भएको हो र यसैकारणले उहाँको नाउ छठी मैयाँ पर्न गएको भन्ने पनि गरिन्छ । 

छठ

छठका व्रतालुले चतुर्थी देखि नै चोखो खानपान गरि शुद्ध भइ बस्ने गर्छन् । भनिन्छ, छठ पर्वमा ‘भक्त र भगवानसँग सीधा वार्तालाप हुन्छ । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पुजा विसर्जन गरिन्छ ।  

छठका चारदिनहरूः

अरबा 

चार दिन सम्म मनाइने यस पर्वको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ र अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ । अरबाका दिन गाउँका युवाहरू मिलेर छठ मनाउने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडक र पानीका स्रोतहरू सफा गर्ने चलन छ । 

 पञ्चमी खरना

पर्वको दोस्रो दिन पञ्चमी खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण सोही प्रसाद गर्छन् । यस दिनपछि व्रतीले पूर्ण लिनुपर्दछ । 

सँझिया घाट

तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्तान लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । 

विहनिया अर्घ्य पारण

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ ।

चौथो दिनको विहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । यस दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

Chhath २

जलाशयको किनारमा ढक्की राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । र त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल र अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । 

सामाजिक महत्व   

छठ सामाजिक सद्भाव एकता मेलमिलाप र भाइचारको सम्बन्धलाई मजबुत बनाउने पर्व हो । छठले जातिय भिन्नतालाई तोडेर समाजमा सामाजिक एकता थप सुद्रिढ बनाउँदछ । छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ ।

chatthfour days of chatthhindu cultureimportance of chatthSun worship in chatth

You May Also Like

More stories from Basobaas