काठमाडौं । घर तथा जग्गामा गरिने लगानी दीर्घकालीन वित्तीय सुरक्षाको लागि महत्वपूर्ण कदम हो । तर, जब घर र जग्गामध्ये कुनमा लगानी गर्ने भन्ने प्रश्न उठ्छ तब निर्णय झन जटिल हुन सक्छ । कुन राम्रो छ भनेर मूल्याङ्कन तपाईंको उद्देश्य, बजेट, र बजार स्थितिमा निर्भर गर्दछ । आजको लेखमा दुवैका फाइदा, जोखिम, र प्रयोगका सम्भावनाबारे चर्चा गरौँ ।
घरमा लगानी गर्नुका फाइदाहरूः
घरमा गरिने लगानीले तुरुन्तै प्रतिफल दिन्छ । त्यसैले घरमा गरिने लगानी शीघ्र लाभ लिन चाहने र व्यक्तिगत प्रयोजनका लागि लगानी गर्न चाहनेहरूका लागि उपयुक्त हुन्छ । शहरी क्षेत्रमा किनबेच र भाडाका दृष्टिकोणले आवासीय प्रपर्टिको माग उच्च छ । यसो हुँदा घर भाडामा लगाउँदा नियमित आम्दानी पाउन सकिन्छ । उदाहरणका लागि, यदि तपाईंले २ करोडको लगानीमा घर किन्नु भयो भने, त्यसलाई मासिक ५०,००० रुपैयाँमा भाडामा दिएर वार्षिक रूपमा ६ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ । सामान्यतया घर भाडामा लगाएर ५% देखि ८% प्रतिफल लिन सकिन्छ । यो प्रतिफल स्थान र बजारको अवस्थाअनुसार फरक पर्न सक्छ ।
काठमाडौं उपत्यकाको सन्दर्भमा घरको माग धेरै छ । त्यसमा पनि भाडामा दिने घरहरूको उच्च माग त झनै धेरै छ । यसकारण घरमा गरेको लगानीबाट लगानीकर्ताले राम्रो पुनर्बिक्री मूल्यमा पनि पाउने सम्भावना रहन्छ ।
चुनौतीहरूः
घरमा लगानी गर्नका लागि धेरै ठूलो लगानीको आवश्यकता पर्छ । त्यस्तै संरचनालाई समयसमयमा मर्मत तथा सुधार गर्नुपर्ने हुँदा घरको मजबुती र डिजाइनका कुराले Resale Value मा फरक पार्छ । सामान्यतया २० वर्षपछि घरको मूल्य घट्न थाल्छ । भने ५० वर्षपछि चाहिँ जग्गाको मात्रै मूल्य पाउने अवस्था आउँछ ।
जग्गामा लगानीका फाइदाहरूः
दीर्घकालीन लाभ र मूल्यवृद्धिको लागि ‘जग्गामा लगानी’ गर्नु एउटा राम्रो विकल्प हो । समयसँगै जग्गाको मूल्य निरन्तर वृद्धि हुने हुँदा लगानी झनै सुरक्षित र दिगो हुन्छ । शहरीकरण र पूर्वाधार विकास भइरहेका क्षेत्रहरूको जग्गा खरिद गर्दा उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना हुन्छ । कारोबार चलायमान रहेको अवस्थामा बस्ती विकास हुँदै गरेको क्षेत्रमा वर्षेनी कम्तिमा ३ प्रतिशत देखि बढिमा १० प्रतिशत सम्म जग्गाको मूल्य बढ्छ । यसो हुँदा कम लगानीमै दीर्घकालीन लाभ लिन सकिन्छ । त्यस्तै, जग्गामा मर्मत र व्यवस्थापन जस्ता अतिरिक्त क्रियाकलापको झन्झटहरू कम हुने हुँदा खर्च पनि न्यून रहन्छ । साथै आफ्नो प्राथमिकता अनुसार संरचना निर्माण गरेर उपयोग गर्न र खाली जग्गा भाडामा लगाएर पनि थप आम्दानी गर्न सकिन्छ ।
चुनौतीहरूः
जग्गामा लगानी गर्दा दीर्घकालीन फाइदा भए पनि यसको आफ्नै चुनौतीहरू छन् । जग्गाबाट प्रतिफलको लागि लामो समय पर्खनु पर्ने हुन्छ । साथै, उपयुक्त स्थानमा सही मूल्यमा जग्गा फेला पार्न चुनौतिपूर्ण हुनसक्छ । अन्यथा भविष्यमा लाभ लिन गाह्रो हुन सक्छ । जानाजान अरुको जग्गामा पर्नेगरी संरचना बनाइँदैनन् । तर,जग्गाको नयाँ हालसाविक हुँदा र कहिलेकाहीँ नयाँ प्रविधिबाट नक्सा जारी गर्दा कतिपय जग्गाका साँध सीमानाहरू तलमाथि भइरहन्छन् । कतिपय अवस्थामा यसैका कारण तनाव झेल्नुपर्ने अवस्था आउँने हुँदा यसले समय र खर्च दुबै बढाउन सक्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।