News

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै, समग्र भौतिक प्रगति २८ प्रतिशत 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले गति लिन थालेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको यस सडकखण्डको पूर्वी र पश्चिम खण्ड गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।  

हाल पूर्वी खण्डमा मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर अर्को मासिक चार/पाँच प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । सो सडकको विभिन्न खण्डमा हाल कालोपत्रको काम भइरहेको छ । 

चार लेनमा कालोपत्र गर्नुपर्ने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्कोतर्फ गरिने योजना बनाइएको छ । सडक विस्तारलाई गति दिन आवश्यक जनशक्ति र निर्माण सामग्री थप गर्ने काम भइरहेको छ । तत्काल अन्य समस्या नआएमा प्रगति बढ्ने आयोजनाको अनुमान छ । 

यस सडकखण्डको अन्तिम म्याद साउनसम्म रहेकाले थप समयका लागि निर्माण कम्पनीले निवेदन दिएको आयोजनाले जनाएको छ । जसका लागि पहिले अन्तराष्ट्रिय परामर्शदाताले मूल्याङ्कन गरेर टुङ्गो लगाउनुपर्ने हुन्छ ।

हाल विभिन्न ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको हुँदा बाटो सजिलो हुन अझै केही समय लाग्नसक्छ । यद्यपि कम्पनीले वर्षा सुरु हुनु पहिले नै सबै डाइभर्सन हटाउने प्रतिबद्धता जनाएको छ । 

अहिले तत्काल एकातिरबाट काम गर्ने र खाली भएपछि अर्कोतर्फ गर्ने गरी तत्काल एकातर्फको सडक मात्रै कालोपत्रे भइरहेको छ ।  

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । सडक चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ ।  

सरकारले वि.सं. २०७५ मा सो सडक निर्माण सुरु भएको पूर्व–पश्चिम राजमार्ग एशियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ । विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारको तयारी अघि बढेको छ ।  

एक सय १४ किमि लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Pin It