Development

बुटवल-नारायणगढ सडकखण्ड: ४ वर्षमा १९ प्रतिशत काम सम्पन्न, एक वर्षमा बाँकि ८१ प्रतिशत सकिएला त !

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । लामो समयदेखि बुटवल – नारायणगढ सडक विस्तार कार्य चलिरहेको छ । सो निर्माणको समय सिमा केही हप्ता मात्र बाँकी रहँदा काम भने एक चौथाइ समेत भएको छैन । २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको  थियो । तर ४१ महिना बिती सक्दा करिब १९ प्रतिशत मात्र भौतिक काम भएको देखिन्छ । विस्तार कार्य थालनीको चार वर्ष अवधि सकिनै लाग्दा पनि कछुवाको गतिमा काम हुनु लज्जास्पद कुरा हो ।

तत्कालीन राजा महेन्द्रबाट वि.सं २०१९ साल वैशाख १ गते उद्घाटन भएको दुई लेनको पुर्व पश्चिम राजमार्गको यो सडक विस्तार गरेर चार लेनको बनाउन थालिएको हो । सो सडकखण्ड तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत २०७५ सालमा शिलान्यास गरेका थिए । यो सडक नारायणघाटको पुल्चोकबाट सुरु भएर बुटवलको चौराहमा समाप्त हुन्छ । 

ठेक्का सम्झौतामा बुटवल – नारायणगढ सडकखण्डलाई दुई खण्डमा विभाजन गरिएको थियो । जसमा १ सय १५ किलोमिटर सडक मध्ये गैंडाकोट-दाउन्ने सडकखण्डको ६५ किलोमिटरलाई खण्ड ‘क’ र दाउन्नेबाट बुटवल सम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मा विभाजन गरिएको थियो । चार वर्षमा २ लेनको सडकलाई ४ लेनको बनाइ विस्तार तथा सुधार गर्ने गरि यो आयोजना अघि बढाइएको थियो । यो सडकको सहरी क्षेत्रमा ४ लेनका र अतिरिक्त ६\६ मिटरको सर्भिस लेन समेत निर्माण गरिने छ भने दाउन्ने क्षेत्रमा ३ लेनमा सडक विस्तार गरिने भएको हो ।  

लगभग ११४ किलोमिटर सडक विस्तार गरी ४ देखि ६ लेनको बनाएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएको छ । नारायणगढ–बुटवल सडकमा दुवै खण्डका अलगअलग कार्यालय स्थापना गरिएको भएपनि काम भने दुवैतिर सुस्त देखिन्छ । 

बर्दघाट–गैँडाकोट सडकखण्ड निर्माण विवरणः

बुटवल देखि बर्दघाटसम्मको ४८ किलोमिटर सडक विस्तारको भौतिक प्रगति २० प्रतिशत मात्र रहेको छ । त्यस्तै बर्दघाट देखि गैँडाकोट सम्मको सडकखण्डमा हालसम्म १८ प्रतिशत मात्र काम भएको छ । 

 बुटवल–बर्दघाट सडक खण्डमा जम्मा २४० ओटा कल्भर्ट निर्माण गर्नुपर्नेमा हाल ८० वटा कल्भर्ट निर्माण भएका छन् । भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ । त्यस्तै, ९ वटा ठुलो पुल बनाउनुपर्नेमा ३ वटा बनिसकेको छ भने अन्य ३ वटा पुलको अधिकांश काम सकिएको छ । ठूला पुल निर्माणको काम लगभग आधा भएको छ ।  यो खण्डमा ११ किलोमिटरमा नाली निर्माण गरिएको छ भने करिब २४ किलोमिटरमा माटो फिलिङ गर्ने अर्थात माटो भर्ने काम भइरहेको बताइएको छ ।

narayangadh butwal road project

 त्यसैगरी बर्दघाट–गैँडाकोट सडकखण्डमा २ सय १५ ओटा कल्भर्ट निर्माण गर्नुपर्नेमा १ सय ३१ ओटा कल्भर्ट निर्माण भइसकेका छन् । त्यस्तै १० ओटा साना पुल निर्माणको काम सम्पन्न भइसकेको छ भने २ ओटा पुल बनाउन बाँकी रहेको छ । यसैगरी यस खण्डमा साइट क्लियरेन्सको लागि अधिकांश रूखहरू कटान गरिसकिएको छ । 

सम्झौता अनुसार साउन २२ सम्ममा सबै काम सम्पन्न हुनपर्ने हो । यद्यपि निर्माण कम्पनीले समयमै काम सम्पन्न नहुनुका पछाडि कोभिड १९, रुख कटान र विद्युतको तार सार्न सरकारी प्रक्रिया लगायतको बाहानामा म्याद थप्न माग गरेको छ । अबको केही दिन अर्थात् साउन २२ भित्र सक्ने गरी निर्माणको जिम्मा लिएको चिनिया कम्पनीले म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै निर्णय नभएको सडक कार्यालयले जनाएको छ । तथापि चार वर्षमा १९ प्रतिशत काम सकिँदा एक वर्षमा बाँकी ८१ प्रतिशत काम सकिएला भन्ने कुरा खासै विश्वसनीय देखिँदैन ।

खर्चको अवस्थाः

करिब १७ अर्व रूपैयामा चिनिया कम्पनीले यो सडकखण्डको जिम्मा पाएको थियो । निर्माणको कुल रकम मध्ये एसियाली विकाश बैकं एडिबीले ८५ प्रतिशत ऋण उपलब्ध गराउने तथा बाँकी रकम नेपाल सरकारले ब्यहोर्ने गरि सडक विस्तारको काम सुरु भएको थियो । बैंकले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरि ऋण उपलब्ध गराएको हो ।  

गैँडाकोट–दाउन्ने सडक खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएको छ । अहिलेसम्म गैँडाकोट–दाउन्ने सडक खण्डमा १ अर्ब ३० करोड अर्थात् १३ प्रतिशत खर्च भएको  इन्जिनियर ढकालले बताएका छन् । हालसम्म दाउन्ने–बुटवल खण्डमा भने यो वर्षका लागि आएको २ अर्बमध्ये ८५ करोड खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It