News

पोखरामा खोला अतिक्रमण गरेर १ सय ४७ वटा घर निर्माण

Pinterest LinkedIn Tumblr

काठमाडौं । पोखरामा फिर्केखोला सीमांकन र रेखांकनका क्रममा खोला अतिक्रमण गरेर एक सय ४७ वटा घर निर्माण भएको पाइएको छ । फेवातालमा मिसिने नौ किलोमिटर लामो फिर्केखोला संरक्षणका लागि सीमांकन र रेखांकन गरिएको हो ।

२०३२ सालको नक्साअनुसार खोलाको नक्सांकन गर्दा एक सय २२ वटा व्यक्तिगत घर र २५ वटा सार्वजनिक भवन निर्माण गरेको पाइएको हो । जसमा व्यक्तिगत घरमध्ये ३५ वटा पक्की र ८७ वटा कच्ची रहेका छन् ।

हाल खोलाको मापदण्ड तय भइनसकेको हुँदा नक्साका आधारमा चार मिटरदेखि ४० मिटरसम्मको क्षेत्रलाई खोला मानेर छुट्याइएको छ ।

यसअघि फागुन २०७५ मा महानगरले गठन गरेको टोलीले खोलाको सीमांकन गर्दा घरसँगै खोला किनारबाट दायाँ–बायाँ पाँच–पाँच मिटर मापदण्ड कायम गरिएको थियो । पाँच–पाँच मिटर मापदण्ड कायम गर्दा एक सय ९२ स्थानमा खोला मिचेर संरचना निर्माण गरेको पाइएको थियो ।

२०७५ मा भएको सीमांकनलाई बेवास्ता गर्दै महानगरले फेरि मापदण्ड यकिन नगरी खोलाघर छुट्याउने काम मात्र गरेको हो । पछिल्लो समय खोलाघर छुट्याउने काम भइसकेको हुँदा अब मापदण्ड दायाँ–बायाँ पाँच–पाँच मिटर कायम गर्ने वा अन्य विकल्पबारे छलफल भइरहेको छ ।

फिर्केखोला सीमांकन र रेखांकनका क्रममा पाँच सय ८४ स्थानमा पिलर गाडिएको छ । संरचना बनेका र पिलर गाड्न नसकिने दुई सय ३९ स्थानमा भने चिह्न लगाइएको छ ।

पोखरा– १८ सराङकोटस्थित अधेरीकुनाबाट सुरु भएको फिर्केखोला पोखरा ६ र १७ नम्बर वडामा पर्ने फेवातालको ड्यामसाइट नजिकैको गाईघाटबाट सीधै तालमा मिसिन्छ ।

१८ नम्बर वडाबाट सुरु भएको फिर्के २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालसम्म पुगेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It