News

मोरवी पुल भाँचिदा १ सय ४१ जनाको मृत्यु, ओरेवा ग्रुप विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

Pinterest LinkedIn Tumblr

काठमाडौं । भारतको गुजरात राज्यमा झोलुङ्गे पुल भाँचिदा १ सय ४१ जनाको मृत्यु भएको छ । स्थानीय मोरबी नगरस्थित मच्छु नदीमाथि रहेको पुल भाँचिदा सयौँ मानिस नदीमा खसेका थिए । मृत्यु हुनेमा २५ जना बालबालिका, महिला र वृद्धवृद्धा रहेका छन्  भने १७० जनाको उद्धार गरिएको छ । मृतकहरूको पोस्टमार्टम नगरिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

छठ पर्वको लागि करिब ५०० जना मानिस मच्छु नदिमा पुगेका थिए । क्षमताभन्दा बढि चाप हुँदा आइतबार साँझ ६ः३० बजे पुल भाँचिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

दुर्घटनामा परेका मध्ये केहीले पौडीएर ज्यान बचाउन सफल भएका छन् भने कतिपयलाई प्रत्यक्षदर्शीले बचाएका छन् । ७ सय ६५ फिट लम्बाई र ४ दशमलव ५ फिट चौडा रहेको झोलुंगे पुल विगत ६ महिनादेखि बन्द अवस्थामा थियो । दिपावलीको अवसरमा हालै पुल मर्मत गरि २५ अक्टोबर देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । 

मच्छु खोलामा बेपत्ताहरू खोजीकार्य जारी
मच्छु खोलामा बेपत्ताहरू खोजीकार्य जारी

घटनास्थलमा प्रहरी, सेना र विपद् व्यवस्थापन टोलीसहित उद्धारकार्य जारी छ । एसडीआरएफ, एनडीआरएफ, सेना र वायुसेनाको टोली राती नै घटनास्थल पुगेका थिए । यस बाहेक जामनगरबाट वायुसेनाका ५० गरुड कमान्डो पनि घटनास्थल पुगेका छन् । धमिलो पानीका कारण उद्धारकार्यमा बाधा परेको छ । 

दुर्घटनामा परेकाहरूलाई प्रदेश र केन्द्र सरकारले सहयोगको घोषणा गरिसकेका छन् । केन्द्रले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने भएको छ । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार दिने बताएका छन् ।

पुलको सुरक्षा सहित व्यवस्थापनको सम्पूर्ण जिम्मा लिएको ओरेवा ग्रुप विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । पुलमा प्रवेशका लागि टिकटको व्यवस्था गरेको थियो । 

पुलको बारेमाः

मोरबी राजा प्रजावत्सल सर वाघजी ठाकोर
मोरबी राजा प्रजावत्सल सर वाघजी ठाकोर

यो पुल १४३ वर्षअघि बेलायती शासनकालमा मोरबीका राजा प्रजावत्सल सर वाघजी ठाकोरको राज्यकालमा बनेको थियो । २० फेब्रुअरी १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टेम्पलले पुलको उद्घाटन गरेका थिए ।  राजाले दरबारबाट राजदरबार जानका लागि प्रयोग हुने गरेको पुल तत्कालीन समयमा करिब साढे तीन लाखको लागतमा निर्माण भएको थियो । पुल निर्माणका लागि सबै निर्माण सामग्री इङ्ल्यान्डबाटै ल्याइएको थियो । राजतन्त्रको अन्त्यपछि यो पुलको जिम्मा मोरबी नगरपालिकालाई दिइएको थियो । काठ र तारले बनेको पुल पटकपटक मर्मत गरिसकिएको छ । हालै दीपावली अघि दुई करोडको लागतमा मर्मतको काम भएको थियो । २०२२ मार्चदेखि २०३७ मार्चसम्म १५ वर्षका लागि ग्रुपले मोरबी नगरपालिकासँग सम्झौता गरेको  थियो । 

प्रतिक्रिया दिनुहोस्
Pin It