Development

लागत बढ्यो, म्याद थपियो तर अझै बनेन चितवन र तनहुँ जोड्ने पुल 

Pinterest LinkedIn Tumblr

काठमाडौं । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण शुरू भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।  

पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो क्रममा मजदूरको मृत्यु हुनुका साथै केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटकपटक दबाब दिए, तर सुनुवाइ भएन ।  

पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माणमा पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएकाले ढिलाइ भएको बताए । सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो उनले गरे ।

‘निर्माण समितिका तर्फबाट पटकपटक दबाब दियौं,’ उनले भने, ‘प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझायौं, तर पुल निर्माणले गति लिन सकेन ।’ चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माण भएकोमा त्यसले पनि निकास दिन नसकेको उनले बताए । कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समितिले आन्दोलन गर्ने चेतावनी उनले दिए । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताए । पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको उनले बताए । देवघाट–५ तनहुँका मानबहादुर गुरुङले पुल निर्माण हुनेमा शंका लागेको बताए । ‘यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता मुख्य कारण हो,’ उनले भने । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुंगा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।

चितवन र तनहुँ मात्र नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८ दशमलव ५ मिटर फराकिलो र दुई सय २० मिटर लम्बाइको हुनेछ । डिजाइनअनुसार पुलका चारओटा स्पान रहनेछन् । त्यसमा कंक्रिटका ४०/४० मिटरका तीनओटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुईओटा र देवघाटतर्फ एउटा कंक्रिट स्पान रहनेछ ।

ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल
ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुलको  अवस्था

त्रिशुली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनओटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९)मा पुल बन्नुपर्थ्यो । तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यसबीचमा चार/पाँचपटक म्याद थप गरिसकिएको छ ।

सडक कार्यालय भरतपुरका इन्जिनीयर सागर कार्कीले परिस्थिति अनुकूल भए यस वर्ष पुल निर्माण सम्पन्न हुने बताए । निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै उनले नदीमा पानी नघटेकाले काम शुरू गर्न नसकिएको बताए । ‘भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्‍यो,’ उनले भने, ‘यो बीचमा दुईपटक भत्किएर तत्काल काम गर्न सक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत रू. १९ करोड १० लाख रहेकोमा अहिले बढेर रू. २१ करोड ६८ लाख पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

स्रोतः रासस

प्रतिक्रिया दिनुहोस्
Pin It