Lifestyle

घरमा तला थप्न रड छोड्नुभएको छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरूः 

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर निर्माणको पहिलो चरणमा नै चाहेजति तला बनाउन सबैका लागि सम्भव नहुन सक्छ । यस्तोमा धेरैजसो एक वा दुई तले घरहरूको छतमा रडसहितका छोटा पिलरहरू देखिन्छ । यस्ता रडहरू छोड्नुका राम्रा तथा नराम्रा पक्षहरूका बारेमा चर्चा गरौँ, 

घरको छतमा रडहरू किन छोडिन्छ ?

नेपालमा घरको तला थप्नका लागि रड छोड्नुका केही व्यवहारिक र प्राविधिक पाटोहरू छन् । सस्तो ब्याजदरमा ऋण नपाउने हुँदा र महङ्गो दरमा ऋण लिएर एकैपटकमा घरको तलाहरू थप्नु सबैका लागि सम्भव हुँदैन । त्यसैले आफ्नो अवस्थाअनुसार घरको जग बसाएर एक वा दुई तला निर्माण गरेपछि बाँकी तला थप्ने हिसाबले थोरै पिलर उठाएर छोड्ने गरिन्छ । यसरी छोडिएका रडहरूलाई प्राविधिक रुपमा र व्यावहारिक रुपमा गरी दुई रुपमा हेर्न सकिन्छ ।

प्राविधिक पक्षः तला थप्नका लागि रड अनिवार्य रुपमा छाडिन्छ किनभने रड काटियो र पछि जोड्छु भनियो भने त्यो ज्वाइन्ट पिलरका लागि सबैभन्दा कमजोर ज्वाइन्ट हुन जान्छ । यस्तोमा उक्त पिलर भूकम्पका बेला त्यही ज्वाइन्टबाट भाँचिने वा चर्किने सम्भावना ज्यादा हुन्छ ।

व्यवहारिक पक्षः तला थप्नका लागि छडलाई यत्तिकै छोडियो भने त्यसले मानिसको मस्तिष्कमा मैले तल्ला थप्नु नै पर्ने छ भने एउटा मानसिक सचेतता प्रदान गर्छ । तर त्यही छड प्यारापेट वालको रुपमा राखियो भने त्यो छड देखिँदैन । छड नदेखिएको स्थितिमा घर एउटा पूरै फिनिसिङ भइसकेको जस्तो देखिन्छ ।

घरको छतमा रडहरू कसरी छोडिन्छ ?

तला थप्नका लागि कतियप ठाउँमा रडलाई ३/४ फिटको उचाइमा काटेर छोड्ने चलन छ । भने कहिँ कतै कङ्क्रिटको पिलर बनाएर नै राख्ने गरेको पनि देखिन्छ । एउटा साधारण घर निर्माण गर्दा पिल्लरमा ८ वटा रडको प्रयोग गरिन्छ । रडको ल्यापलेन्थ गर्दा ५० प्रतिशत भन्दा बढि खप्ट्याउन मिल्दैन । अर्थात् ८ वटा रडहरूमध्ये एउटा बिन्दुमा जम्मा ४ वटा रडहरू जोड्न पाउने नियम छ । बाँकी ४ वटा छडहरू अर्कै लेभलमा खप्ट्याउनु पर्छ । 

त्यो लेभल तल्ला नजिकैको लेभल हुनुहुँदैन र स्ल्याबको लेभलबाट कम्तीमा २ फिट माथि वा तल हुनुपर्छ । यसरी उठाउँदा सबै ८ वटै रडहरू एकै लेभलमा बाँध्नुपर्ने हुन्छ र यो संरचना बलियो हुँदैन । त्यसैले रडहरूलाई कम्तीमा ५ फिट छोड्नु नै राम्रो मानिन्छ । पाँच फिट रड छोड्दा त्यहाँ सानो पिलर पनि बन्छ र उक्त पिलर प्यारापेट वाल बनाउनको लागि पनि उपयुक्त हुन्छ । 

तला थप्नका लागि रड छोड्नुका फाइदाहरूः
  • तला थप्दा सजिलै डन्डिको ल्यापलेन्थ गर्न अर्थात् रड खप्ट्याउन मिल्छ, 
  • तला थप्ने बेलामा डण्डी बाँध्ने स्थान यथावत रहने हुँदा भूकम्प जस्ता जोखिममा पनि भवन सुरक्षित रहन्छ,
  • तला थप्नुपर्ने छ भन्ने बोध गराइरहन्छ ।
तला थप्नका लागि रड छोड्नुका बेफाइदाहरूः
  • खुला रुपमा वातावरणमा हुने आद्रताका कारण रडहरूमा खिया लाग्न सक्छ,
  • यी रडहरू पिल्लरका सबै रडहरूसँग जोडिएको हुनाले खिया स्थानान्तरण भइ स्लयाब, बिम, तलाका कोलोमहरूको सबै रडमा खिया लाग्छ । जसले संरचनालाई नै कमजोर बनाइदिन्छ, 
  • यसरी छाडिएका रडहरूले घरको शोभा घटाउँछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It