News

एसियाकै पहिलो स्काईवाकः कमलादीमा बनिरहेको अनौठो भवनमा बुकिङ खुल्ला

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज विशाल र गगनचूम्बी संरचना निर्माणको होड संसारभर नै छ । विदेशी भूमिमा बनेका अग्ला भवन देखिरहेका हामीले नेपालमा पनि यस्ता संरचना हेर्न र उपभोग गर्न पाइने भएको छ । यसैबीच काठमाडौंको कमलादिमा निर्माण भइरहेको ‘स्काइवाक टावर’ नेपाल मात्र नभएर दक्षिण एसियाकै पहिलो स्काइवाक टावर भएको दावी गरिएको छ ।

‘स्काइ इज नो मोर हायर’ भन्ने ध्येयका साथ निर्माण  भइरहेको यस टावरलाई वन्डर्स नेपाल प्रालिले निर्माण गरिरहेको छ । टावर निर्माण अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । यससँगै टावरमा व्यापार व्यवसाय सञ्चालन गर्न चाहनेहरूका लागि कम्पनीले अग्रिम बुकिङ खुल्ला गरेको छ । कम्पनीले टावरको ३ वटा तलालाई भाडामा लगाउने योजनाका साथ बुकिङ खुल्ला गरेको हो । 

हाल व्यापारिक प्रयोजनका लागि टावरको २४ र २५ तलाको बुकिङ खुल्ला गरिएको छ । भने भुईं तलामा निर्माण भइरहेका ४९ वटा सटर पनि व्यवसायिक प्रयोजनकै लागि तयार गरिएको भएतापनि एकै किसिमका पसल भने राख्न नपाइने कम्पनीले जनाएको छ । पूर्ण रुपमा टावर निर्माण नहुँदै बुकिङ खुल्ला भएको हुँदा कम्पनीले भाडादर भने तोकिसकेको छैन । सटरको साइज र सुविधाका आधारमा भाडा निर्धारण गरिनेछ । यद्यपि प्रति सटर अनुमानित भाडा मासिक ४० देखि ५० हजार रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । 

टावर निर्माणमा लागेको रकम १ अर्ब ८० करोडः

वन्डर्स नेपाल प्रालिका अनुसार सम्पूर्ण रुपमा टावरको निर्माणमा करीब दुई अर्ब रुपैंया खर्च हुनेछ । जसमा इन्फ्रास्ट्रक्चर बैंकको ५० करोड रुपैयाँ कर्जा लगानी रहेको छ । हालसम्म करिब एक अर्ब ८० करोड रुपैयाँ खर्च भइसकेको कम्पनीले जनाएको छ ।

 

स्काईवाक
कमलादीमा निर्माणाधिन स्काईवाक 

स्काईवाकको अर्थ ‘आकाशमा पदयात्रा’ भन्ने हुन्छ । टावरको मूख्य विशेषता नै जमिनबाट धेरै उचाइको दुरीमा हिँड्दा आकाशमा हिँडेको अनुभूति  प्राप्त गर्नु हो । स्काईवाक पूर्णतः निर्माण पश्चात टावरबाट काठमाडौंको दृश्यलाई नियाल्न सकिनेछ ।

टावरमा लिफ्टको व्यवस्था गरिएको छ । त्यसबाहेक हिँडेर पनि माथि पुगिन्छ । टावरको टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैँचा, पार्किङ, बजार र उपत्यकालाई नियाल्न सकिन्छ । नजिकका सडकमा गुडिरहेका सवारीको प्रत्यक्ष अवलोकन समेत गर्न सकिनेछ । यो टावर पर्यटकको लागि नयाँ गन्तव्य र मनोरञ्जनको नयाँ क्षेत्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । 

यो टावर, २३ वर्षसम्मको लागि लिजमा लिएर १३ रोपनी जग्गामा निर्माण भइरहेको छ । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्ने प्रावधान छ । २०७७ सालबाट निर्माण सुरु भएको टावरको निर्माण करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

फलामै फलामले बनेको यो टावर ७८ मिटर अग्लो छ । भवन विभागको संरचना निर्माण मापदण्ड अनुसार निर्मित यो टावर सत प्रतिशत सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ । टावरको माथि सिसामा हिँड्ने स्पेश २ हजार वर्ग फिट हुनेछ भने वरिपरि ६ फिट अग्लो सिसाको रेलिङ हुनेछ । स्काईवाकको छत एकपटकमा पाँच सय जना अटाउनसक्ने क्षमताको हुने भनिएको छ ।

एसियाकै पहिलो स्काईवाकः कमलादीमा बनिरहेको अनौठो भवनमा बुकिङ खुल्ला
साङ्केतिक तस्बिर

टावरको भुईँ तलाको दाँया बाँया गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । टावरमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ क्षमता हुनेछ ।

टावर भिजिट शुल्क सम्बन्धमाः

निर्माणाधीन स्काईवाक टावर सञ्चालनमा आएसँगै टावर प्रवेशमा प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । विदेशी पर्यटकका लागि भने टावर भिजिटमा १ हजारदेखि १५ सय रुपैयाँसम्म लाग्नेछ । सिसा भन्दामाथि १२ फिट अग्लो बस्ने ठाउँ बनाइएको छ जहाँ बस्न अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ । बुकिङ रकम १० हजार रुपैयाँ बुझाउनु पर्ने कम्पनीको भनाइ छ । यद्यपि यी शुल्कहरू अन्तिम नभएको र निर्धारणमा फरक पर्नसक्ने कम्पनीले जनाएको छ ।

सञ्चालनको तयारी गरिरहेको यस टावरमा वार्षिक २ देखि ३ लाख आन्तरिक तथा बाह्य पर्यटकहरू स्काईवाक गर्न आउने अनुमान निर्माण कम्पनीको छ । हाल टावरमाथि सिसा राख्ने र फिनिसिङको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It