काठमाडौं । घर बनाउँदा इञ्जिनियरले तयार गरेको नक्सा मात्र पर्याप्त हुँदैन । उक्त नक्सालाई सम्बन्धित नगरपालिकामा लगेर पास गर्नुपर्छ । शहरी विकास मन्त्रालयले बनाएको भवन निर्माण मापदण्डलाई आधार मान्दै, प्रत्येक स्थानिय तहले आफ्ना भौगोलिक, सांस्कृतिक, र पर्यटकीय पक्षलाई ध्यानमा राख्दै आफ्ना भवन निर्माणका मापदण्ड तय गरेका हुन्छन् । आजको लेखमा नक्सा पास किन महत्वपूर्ण छ; र नक्सापास भन्दा धेरै तल्लाको घर बनाएमा के हुन्छ भन्नेबारे चर्चा गरौं ।
नक्सा पास किन महत्वपूर्ण छ?
२०७२ सालको विनासकारी भूकम्पपछि नक्सा पास अनिवार्य गराइएको छ । नक्सा पास गरी घर निर्माण सुरु गर्दा लागत र सामग्री कति लाग्छ भन्ने पूर्व अनुमान गर्न सकिन्छ । त्यसैगरी इञ्जिनियरको रेखदेखमा निर्माण हुने भएकाले घर भूकम्प प्रतिरोधी र बलियो हुन्छ ।
नक्सा पास बिना, कुनैपनि निर्माण कार्यले कानूनी मान्यता पाउँदैन । नक्सापास बिनै संरचना निर्माण गर्दा भविष्यमा जटिल समस्याहरू आउन सक्छन् । घरको लागि विद्युत, पानी, ढलजस्ता आधारभूत सेवाहरू प्राप्त गर्न कठिनाइ हुन सक्छ । यदि नक्सा पास नभएको खण्डमा सरकारी काम बाहेक कुनैपनि समयमा बाटो बढ्दा त्यसमा मुआब्जाको समस्या आउन सक्छ । बैंकबाट धितो राखेर कर्जा लिन पाईंदैन । साथै, घरको नामसारीमा पनि समस्या आउँछ ।
नक्सापास नगरी बनाएको घरले सिमा विवाद, बाटोको विवाद लगायतका समस्याहरूमा दाबी गर्न सक्दैन । नगरपालिकाले त्यस्ता घरलाई भत्काउन सक्छ । यसकारण, घरको निर्माण गर्दा नक्सा पास गर्नु अनिवार्य छ । यसले केवल कानूनी सुरक्षा मात्र होइन, भविष्यमा आर्थिक र व्यावासिक लाभ पनि सुनिश्चित गर्दछ ।
यदि मापदण्ड अनुसार नै घर बनेको छ भने जरिवाना तिरेर नक्सा पास गर्न सकिन्छ, तर मापदण्डको उल्लंघन गरिएको छ भने, त्यो घर भत्काउनुपर्ने अवस्था आउन सक्छ ।
नक्सापास गरेको भन्दा धेरै तल्लाको घर बनाएमा के हुन्छ ?
यदि नक्सापास गरेको भन्दा बढी तल्ला आफ्नै मर्जीमा थपिएमा जरिवाना तिरेर त्यो तल्ला पास गराउन सकिन्छ । तर, मापदण्डका विपरीत थपिएको तल्ला कानूनी रूपमा मान्य हुँदैन र यसका लागि भवन निर्माणको प्रमाणपत्र प्राप्त गर्न सकिँदैन ।
यसको अर्थ, घरको निर्माण पूरा भए पनि यदि अनुमति नलिइ अनधिकृत तल्ला थपिएको छ भने, भवन निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गर्न सकिँदैन । प्रमाणपत्र नक्सापास भएर निर्माण भएको संरचनाको मात्र दिइन्छ । यसका साथै, यदि घरले सेटब्याक र बाटो मिचेको छ भने, त्यो घर भत्काउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले, निर्माण सुरु गर्नु अघि स्थानीय सरकारका मापदण्डअनुसार नक्सापास गर्नु पर्छ । जसले भविस्यमा कानूनी समस्याबाट जोगाउँछ ।
नक्सामा हेरफेर गर्नु परेमा
पास भइसकेको नक्सामा सामान्य हेरफेर गर्दा, प्रमुख प्रशासकीय अधिकृतले १०% दस्तुर लिई स्वीकृति दिन्छन् । तर, तल्ला थप्ने, मोहडा बदल्ने वा लम्बाइ/चौडाइ बढाउने भएमा, संशोधित नक्सा पेश गर्नुपर्छ । नगरपालिकाले थप दस्तुर लिई स्वीकृति दिन सक्छ । तल्ला थपका लागि इजाजत नलिइ तर स्वीकृत नक्सा बमोजिम तला थप गरेको भवनको लागि भवन मापदण्ड अनुरुप निर्माण भएको हकमा नक्सा पास दस्तुरको २० प्रतिशत थप दस्तुर लिई निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गरिन्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।