Policy

यसरी गर्न सकिन्छ नक्सा पास, यस्तो छ चरणबद्ध प्रक्रियाः

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले नागरिकको बसोबासको अभिलेखिकरणका लागि नक्सापासको प्रावधान गरेको छ । यसबाट देशभित्र बस्ती विकासका काम व्यवस्थित हुनुका साथै नागरिकको सुव्यवस्था पनि निर्धारण गर्न सहज हुन्छ । त्यसैले सरकारले तोकेको मापदण्डमा रहेर भवन निर्माण गर्दा पालना गर्नुपर्ने नियम र प्रकृयाको बारेमा तल उल्लेख गरिएको छः

नक्सा पास गर्न सबैभन्दा पहिले सूचीकृत इन्जिनियरलाई नक्सा बनाउन लगाउनु पर्छ । नक्साको डिजाइन तयार गरी नक्सा पास गर्नको लागि चाहिने सम्पूर्ण कागजात जुटाइसकेपछि नक्सा पास गर्ने प्रकृया सुरु हुन्छ । 

यो पनि पढ्नुहोस्ः नक्सा पास गर्दा के-के कागजात चाहिन्छ, र कहाँबाट लिने 

नक्सा पास प्रकृया

नक्सा पासका लागि सबैभन्दा पहिला निवेदकले नगरपालिकाबाट नक्सापासको दर्खास्त फारम लिनुपर्छ । र फाराममा लेखिएका सम्पूर्ण विवरण भरेर तोकिएको शुल्क तिरी नगरपालिकामा निवेदन दिनु पर्छ । निवेदन दिएपछि जग्गाको सिमाना जोडिएका सधियारहरूलाई घर बनाउँदा पर्न सक्ने हानी नोक्सानीको व्यहोरा लिन घर बनाउन लागेको स्थल, सँधियारको घर वा आसपासको कुनै ठाउँमा १५ दिने सूचना टाँस गरिन्छ । यो सूचना तीन ठाउँमा टाँस हुन्छ कार्यालयमा सँधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा । हिजोआज यो सूचना नक्सावाला आफैँले लिएर गएर सँधियारलाई भेटेर साँध सिमाना र नक्सा ठीक छ पछि कुनै उजुर बाजुर गर्ने छैन भनी सही गराउने पनि चलन छ ।

सूचनाको हद म्याद नाघेको अथवा सँधियारको अनुमति प्राप्त भएको ३ दिनभित्र भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम भवन निर्माण गर्न मिल्ने वा नमिल्ने कुराहरू हेरेर जाँचबुझ प्रतिवेदन दिइन्छ । प्रतिवेदनले नक्सा ठीक छ भनेर देखाएपछि सो फाइल प्रमुख प्रशासकीय अधिकृतकोमा पुग्छ । नक्सा ठीक छैन भनेर देखाएमा नक्सालाई पुनः सँच्याउने र दर्ता गर्ने काम हुन्छ । 

रितपूर्वकको विवरण र प्रमाण पुगेपछि प्रमुख प्रशासकीय अधिकृतले भवन निर्माणको अनुमति दिन्छन् । अनुमति पाएपछि आवश्यक दस्तुर बुझाएर प्लिन्थ लेभलसम्मको निर्माण इजाजतको लागि निवेदन दिनुपर्छ । यसपछि घर बनाउने व्यक्तिले डिपिसीसम्मको मात्र बनाउन प्रमाणपत्र पाउँछ ।

डिपिसी सकिएपछि फेरी नगरपालिकाले घर ठिक तरिकाले बनेको छ कि छैन जाँच गर्छ । सबै ठिक भएको खण्डमा इन्जिजियरले घरका लागि सिफारिस गरिदिन्छ । तब नगरपालिकाले पुरा घर बनाउने प्रमाण पत्र दिन्छ । घर सम्पन्न भई सकेपछि इन्जिनियरले निरिक्षण गरेपछि भवन निर्माण सम्पन्नताको प्रमाण पत्र दिइन्छ ।

नेपालमा नक्सा पास भएको २ वर्षसम्म घर बनाउनुपर्ने प्रावधान छ । यदि उक्त समयमा घर निर्माण भएन भने फेरी २ वर्षको लागि म्याद थप गर्न सकिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It