काठमाडौं । पछिल्लो समय नगरक्षेत्रको पहिचानलाई लिएर नगर प्रतिनिधिहरूले कदम चालिरहेका छन् । आफ्नो क्षेत्रलाई खास बनाउने संरचना निर्माण र संरक्षणमा विशेष ध्यान दिइरहेको पाइन्छ । यस्तोमा पश्चिम नेपालको स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरूमा विशेष रंगले घर रंगाउने निर्णय गरियो । तर हालसम्म वालिङ नगरपालिकाले मात्रै उक्त निर्णयलाई पूर्णता दिएको छ ।
सिद्धार्थ राजमार्गको यात्रा गर्दा भीरकोट नगरपालिकाको सिमाना कटेपछि देखिने गुलाबी घरहरूले वालिङलाई छुट्टै पहिचान दिएको छ । यहाँका एउटै रंगका घरहरू नगरपालिकाले स्मार्ट सिटीको रूपमा विकास गर्न थालिएको पहिलो कदम हो ।
२०७३ सालको दोस्रो नगरसभामा गरिएको निर्णयअनुसार, वालिङका सबै घरहरूमा गुलाबी रंग लगाउने अभियान सुरु भयो । वालिङ नगरपालिका इन्जिनियर मणि प्रसाद तिवारीका अनुसार नगरपालिकाले वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रंग छानेको हो ।
२०७४ सालबाट सुरु भएको यस अभियान अन्तर्गत हालसम्म वालिङ नगरपालिका क्षेत्रमा करिब २१ सय घरहरू गुलाबी रंगमा रङ्गिएका छन् ।
यहाँका पुराना घरहरूमा अन्य रंग लगाइएको भएपनि, नयाँ बनेका घरहरूमा अनिवार्य रूपमा गुलाबी रंग प्रयोग गर्नुपर्ने नियम लागू गरिएको छ । जसका लागि नगरपालिकाले स्थानीय बासिन्दाहरूलाई गुलाबी रंग किन्दा ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्जिनियर तिवारी बताउँछन् ।
नगरभित्र गुलाबी रंगको अनुपालन नगरेका घरहरूले निर्माण सम्पन्नताको प्रमाणपत्र पाउँदैनन् । साथै त्यस्ता घरहरूको किनबेचमा पनि प्रतिबन्ध लगाइएको छ । जसले नागरिकहरूलाई यो अभियानमा सहभागी हुन प्रोत्साहित गरेको छ ।
इन्जिनियर तिवारी भन्छन्, ‘केही समय अघि रङ वितरक कम्पनीहरूले गुलाबी रंगमा छुट नदिएको भन्ने सर्वसाधारणको गुनासो पनि आएको थियो; तर अहिले अवस्था सामान्य छ ।’ यसले वालिङ नगरपालिकालाई एकरूपतामा ढाल्ने र अद्वितीय सौन्दर्य प्रदान गर्ने भूमिका खेलेको छ ।
गुलाबी रंग माया, मित्रता, र सौन्दर्यको प्रतीक हो । यही विशेषता वालिङको रंगले नगरको आत्मीयता र सामूहिकताको भावना झल्काउँछ ।
वालिङ नगरपालिका हुँदै जाने सिद्धार्थ राजमार्ग कास्कीको पोखरा हुदै रूपन्देहीको सिद्धार्थनगर (सुनौली) जोडिएको छ । जसले नेपाल घुम्न आउने पर्यटकहरूले वालिङ शहरलाई सहजै रुपमा बेग्लै पहिचानले चिनुन् भन्ने हेतुले वालिङ शहरलाई ‘पिङ्क सिटी’मा रूपान्तरण गरिएको हो ।
सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीलाई यो गुलाबी सहरले फरक अनुभव दिने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।
विदेशी तथा आन्तरिक पर्यटकहरूका लागि यो सहर नेपालमा एक नयाँ आकर्षणको केन्द्र बन्नेछ । भने नेपालका अन्य सहरहरूको तुलनामा फरक पहिचान बनाउँछ । यस पहलले वालिङलाई सौहार्दता र सद्भावले भरिपूर्ण आधुनिक सहरको रूपमा स्थापित गरेको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।