Development

सरकारको नयाँ योजनाः घर बनाएर सर्वसाधारणलाई बेच्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त कम्पनी राष्ट्रिय आवास कम्पनी लिमिटेडले आफैं घर बनाएर बिक्री गर्ने भएको छ ।‍ कम्पनीले सुरुवाती चरणमा झापा र बर्दियामा घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको हो ।

कम्पनीले चालु आर्थिक वर्षमा नै कार्यक्रम सुरु गरी बिस्तारै अन्य जिल्लामा पनि लागु गर्ने जनाएको छ । यस कार्यक्रमका लागि कम्पनीले १० करोड रूपैयाँ छुट्याएको छ । पहिलो चरणमा सरकारी मापदण्ड अनुसार १०/१० वटा साढे दुई तले भूकम्प प्रतिरोधी घर बनाउने र त्यसपछि मात्र बिक्री सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीसँग झापा मेचीनगर नगरपालिकाको जोर सिमल आवास क्षेत्रमा चार बिघा तथा बर्दियाको मधुवनस्थित ताराताल आवास क्षेत्रमा आफ्नै दुई बिघा जग्गा छ । कम्पनीले सोही जग्गामा घर बनाएर बिक्री गर्ने भएको हो ।

यो प्रथम चरण नमुना कार्यक्रम हो । यो कार्यक्रम सफल भएपछि दोस्रो चरणमा अन्य जिल्लामा पनि उक्त कार्यक्रम सञ्चालन गरी घर बनाएर बिक्री गर्ने कम्पनीले जनाएको छ । साथै बर्दिया र झापामा कम्पनीसँग भएको जग्गामा थप घर बनाउने योजना छ । हालसम्म कम्पनीले आफ्नो उद्देश्य अनुसार काम गर्न सकेको थिएन ।

झापा र बर्दियामा कार्यक्रम सफल भएपछि काठमाडौं उपत्यका आसपासका क्षेत्रमा जग्गा खरिद गरी घर बनाउने कार्यक्रम कम्पनीले अघि सारेको छ ।

मुलुकमा योजनाबद्ध आवास तथा बस्ती विकास, जग्गा एकीकरण आयोजना सञ्चालन, शहरी क्षेत्रमा आवासीय योजना सञ्चालन गर्ने उद्देश्यसहित ६१ वर्षअघि गठन भएको राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा ३ हजार ४ सय ९६ बिघा पाँच कट्ठा आठ धुर जग्गा छ ।उक्त जग्गा सदुपयोग गर्न चालु आर्थिक वर्षभित्र कम्पनीले विभिन्न कार्यक्रम अघि सारेको छ । चालु आवमै चन्द्रागिरी न.पा १२ बलम्बुमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) कार्यक्रम सुरु गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत एक सय १७ रोपनी जग्गा एकीकृत गरी बस्ती बसाउन उपयुक्त बनाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त जग्गा स्थानीयकै हुने छ र स्थानीयकै जग्गालाई एकीकृत गरी बस्ती बसाउन उपयुक्त बनाइनेछ । यो पेप्सीकोला मनोहरा टाउन प्लानिङ जस्तै हुनेछ ।

कम्पनीले जग्गा एकीकरण कार्यक्रमका लागि २५ करोड रूपैयाँ छुट्याएको छ । कम्पनीका अनुसार उक्त कार्यक्रम नाफामूलक नभई सेवामूलक हुने बताएको छ ।कम्पनीसँग १ सय ७२ रोपनी ४ कट्ठा ८ धुर जग्गाको लालपुर्जा आफ्नो नाममा छ । ३ हजार २ सय २४ बिघा एक कट्ठा १० धुर जग्गा मालपोत कार्यालयको फिल्डबुकमा कम्पनीको नाम र स्वामित्वमा छ तर केही जग्गाको लालपुर्जा भने छैन ।

कम्पनीमा बारम्बार राजनीतिक हस्तक्षेप हुनु, जग्गाको सही सदुपयोग हुन नसक्नु, जग्गा उपयोग गर्ने विषयमा प्रदेश र स्थानीय सरकारबीच तालमेल हुन नसक्नु, जग्गा उपयोगमा ल्याउन नेतृत्वको उदासीनता रहनु लगायतका कारण जग्गाको सही सदुपयोग हुन सकेको छैन ।

कञ्चनपुर, बर्दिया, नवलपरासी, झापा र काभ्रेमा गरी ३ हजार ४ सय ९६ बिघा पाँच कट्ठा ८ धुर जग्गा कम्पनीसँग छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सबैभन्दा बढी जग्गा छ ।

पुनर्वास नगरपालिकामा रहेको १ सय ३३ बिघा जग्गाको लालपुर्जा छ तर फिल्डबुकमा ९ सय बिघा जग्गाको स्वामित्व कम्पनीसँग छ ।यसैगरी बर्दियामा ७ बिघा, काभ्रेमा ५७ बिघा र नवलपरासीमा २१ बिघा जग्गाको लालपुर्जा छ । नवलपरासीमा १ हजार ६ सय बिघा र बर्दियामा ६ बिघा जग्गा कम्पनीको नामको फिल्डबुकमा रहेको जनाइएको छ ।

लालपुर्जा नभएको जग्गा कम्पनीले उपयोगमा ल्याउन सकेको छैन । यस्तो जग्ग्गामध्ये केही स्थानीय सरकारले आफूखुशी उपयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It