काठमाडौं । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो १२ः२९ मा मन्दिरको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो ।
हाल मन्दिर निर्माण भइरहेको क्षेत्रलाई शताब्दीऔँ देखि मुस्लिम र हिन्दु धर्मका अनुयायीहरूले दावी गर्दै आएका थिए । सन् २०१९ नोभेम्बर ९ मा न्यायधीश रञ्जन गोगोईको अध्यक्षतामा रहेको संवैधानिक इजलासमार्फत् भारतको सर्वोच्च अदालतले अयोध्यालाई ‘रामको जन्मस्थल’ मान्यता दिएपछि ४९१ वर्ष पुरानो विवाद टुंगिएको थियो ।
वैदिक विरासतको स्तम्भः राम मन्दिर निर्माण
सन् २०२० अगस्ट ५ मा भूमिपूजन गरी राम मन्दिर निर्माण सुरु भएको थियो । राम मन्दिर परिसर ७० एकड क्षेत्रफलमा फैलिएको छ । जसमध्ये २.७ एकड अर्थात करिब साढे २१ रोपनी जग्गामा नागर शैलीमा मुख्य मन्दिरको निर्माण भइरहेको छ ।
३६० फिट लम्बाइ रहेको मन्दिरको उचाइ १६१ फिट र २३५ फिट चौडाइ रहेको छ । मन्दिरमा तीनवटा तला रहेका छन्, जहाँ प्रत्येक तल्लाको उचाइ २०-२० फिट रहेका छन् । यो मन्दिरको उचाइ संसारको सबैभन्दा अग्लो इँटाले बनेको टावर कुतुब मिनारको लगभग ७०% रहेको छ ।
राम मन्दिर विश्वको पहिलो मन्दिर हो जसको निर्माण हुनुअघि नै थ्रीडी संरचनात्मक विश्लेषण गरिएको थियो । मन्दिरको हालको डिजाइन अनुसार राम मन्दिर २५ हजार वर्षसम्म सुरक्षित रहने भारतीय सञ्चार माध्यमहरूको दाबी छ ।
भारतीय रुपैयाँ करिब १८ करोड (२ सय १७ मिलियन अमेरिकी डलर) मा निर्माण भएको राम मन्दिर पछिल्लो समयको सबैभन्दा महँगो धार्मिक परियोजनाहरू मध्ये एक हो ।
मन्दिरका आन्तरिक संरचनाको डिजाइनः
मन्दिरमा अलगअलग भाषाबाट भगवान रामको नाम लेखिएका २ लाख इँटा प्रयोग गरिएको छ । ती इँटाहरू पछिल्लो ३० वर्षमा सङ्कलन गरिएका हुन् ।
मन्दिरको भित्री भाग मकराना सेतो मार्बलले सजाइएको छ, जसलाई ताजमहलको निर्माणमा समेत प्रयोग गरिएको थियो ।
मन्दिरको जगमा १४ मिटर बाक्लो रोलर कम्प्याक्टेड कंक्रीट (आरसीसी) बिछ्याइएको छ । जसलाई कृत्रिम चट्टानको रूप दिइएको छ । मन्दिरलाई जमिनको चिसोबाट जोगाउन ग्रेनाइटबाट २१ फिट अग्लो प्लिन्थ अर्थात् आयताकार स्ल्याब बनाइएको छ ।
मन्दिरमा नृत्य मण्डप, रंगमण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप गरी पाँचवटा मण्डप हुनेछन् ।
ग्राउन्ड फ्लोरमा गर्भगृह रहने छ जसमा भगवान रामको बालस्वरूप स्थापित गरिनेछ । पहिलो तल्लामा भगवान रामको सम्पूर्ण दरबार रहने छ ।
मन्दिरमा जम्मा ३९२ वटा स्तम्भ र ४४ वटा ढोका हुनेछन् । हरेक स्तम्भ र पर्खालहरूमा देवी-देवताका मूर्तिहरू कुँदिएका छन् ।
मन्दिर परिसरमा निर्माण हुने संरचनाहरूः
मन्दिरको वरिपरि आयातकार पर्खाल हुनेछ । पर्खालको चार कुनामा सूर्यदेव, माता भगवती, गणपति र भगवान शिवका चारवटा मन्दिर निर्माण गरिने छ । उत्तरी पर्खालमा अन्नपूर्णा माताको मन्दिर र दक्षिण पर्खालमा हनुमानको मन्दिर रहनेछ ।
मन्दिरमा प्रयोग भएका निर्माण सामग्रीहरूः
मन्दिरमा फलाम, सिमेन्ट र स्टिल जस्ता निर्माण सामग्रीको प्रयोग भएको छैन । यो मन्दिरमा पूर्णतः ढुङ्गा र इँटाको प्रयोग गरिएको छ । साथै ढुङ्गा लाई जोड्न तामाको प्रयोग गरिएको छ । संरचना बलियो बनाउन ढुङ्गाहरू परिक्षण गरेर मात्र प्रयोग गरिएको छ ।
यसबाहेक राम मन्दिरमा मकराना सेतो मार्बल, चार्माउथी बालुवा पत्थर, राजस्थानको बंसी पहाडपुरको गुलाबी बालुवा ढुङ्गा, उत्तर प्रदेशबाट ल्याइएका पितलका भाँडाकुँडा, सागौन काठ, काला पत्थर, तामा पाता, सुन र अष्टधातुको प्रयोग भएको छ ।
राम मन्दिरमा फलाम प्रयोग नगर्नुका वैज्ञानिक कारण
राम मन्दिरमा फलामको प्रयोग नहुनुमा ज्योतिष र वैज्ञानिक दुवै कारणहरू छन् । ज्योतिषशास्त्र अनुसार फलामलाई शनिको कारक मानिन्छ । शिलापत्र राखिने स्थानमा फलामको प्रयोग गर्नु अशुभ मानिन्छ ।
त्यस्तै, फलाम यस्तो धातु हो जुन १०० वर्षमा बिग्रन्छ र खिया लाग्न थाल्छ र मन्दिरको जग कमजोर हुन्छ । फलाम, कङ्क्रिट र सिमेन्टले बनेका मन्दिरहरू बारम्बार मर्मतसम्भार गरिरहनुपर्ने हुन्छ सोहीकारण मन्दिरलाई दिगो र हजारौं वर्षसम्म टिक्ने बनाउन मन्दिरमा फलामको प्रयोग नगरिएको हो । यसको सट्टा, ढुङ्गाहरू एकसाथ जोड्न तामा धातु प्रयोग गरिएको छ ।
एजेन्सीः
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।