News

सरकारी जग्गामा घर बनेपछि सडक निर्माण रोकियो 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बैतडीको पाटनमा सरकारी जग्गा नै व्यक्तिका नाममा कायम भएको तथ्य बाहिरिएको छ । पाटन नगरपालिका–६ मा पर्ने सडक पक्की (प्लास्टर) गर्ने प्रकृया अगाडि बढाउन खोज्दा सडक क्षेत्रको जग्गा व्यक्तिको नाममा रहेको खुलेको हो । 

पाटन नगर विकास समितिले व्यवस्थापनको जिम्मा पाएका सरकारी जग्गामध्ये केही जग्गा र सडक क्षेत्र भनेर छुट्याइएको जग्गा हिनामिना गरी व्यक्तिको नाममा कायम भएको पाइएको हो । पाटन बजारको शाखा सडकका लागि छुट्याइएको कित्ता नं १७१७ को जग्गा स्थानीय व्यवसायी गणेश भट्टको नाममा रहेको पाइएको छ । 

मालपोत कार्यालय बैतडीको रेकर्ड अनुसार उक्त जग्गा स्थानीय व्यवसायी भट्टले २०५३ माघ १४ गते नन्द भट्टबाट नामसारी गरेर लिएको पाइएको छ । 

वि.सं २०४७ साल अगाडि नै स्थानीय नन्द भट्टले कित्ता नं ३१३ आफ्नो नाममा गरेका थिए । त्यही समयमा कित्ता नं १७१७ बनाएर नामसारी गरेको देखिएको छ । भने सँगैको कित्ता नं १७१८ मा सडक निर्माण भएको छ । उक्त जग्गा भने नगर विकास समितिकै नाममा रहेको छ । 

व्यक्तिका नाममा गएको सरकारी जग्गामा अहिले सडक बन्नुपर्नेमा त्यहाँ घरधनीले घर बनाउन थालेका छन् । दुईतिरबाट सडक जोडिनुपर्नेमा सडकको बीचमा घर निर्माण भइरहेको छ । जसकारण अहिले सडक निर्माणको काम समेत ठप्प छ ।  

पाटनमा नगर विकास समितिका अध्यक्ष र पदाधिकारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा गएको हुनसक्ने स्थानीय जनप्रतिनिधिको आशंका छ । तर २०७४ सालमा निर्वाचित नगर प्रमुख तथा नगरविकास समिति अध्यक्ष केशब बहादुर चन्दले  ५ वर्षमा केही सामाजिक संस्थाहरूलाई भोगचलनका लागि जग्गा दिने निर्णय गरेपनि त्यसबाहेक उनले जग्गासम्बन्धी कुनै निर्णय गरेका छैनन् । 

हाल नगर विकास समितिका अध्यक्ष तथा पाटन नगरपालिका प्रमुख रहेका गौरीसिंह रावलले पनि जग्गाको भोगचलनसम्बन्धी केही निर्णय गरेको देखिँदैन । 

रावलले नगर विकास समितिका सदस्य जगवीर विष्टलाई कागजात संकलन तथा छलफलको जिम्मेवारी तोकेका छन् । विष्टले हाल मालपोत र नापी कार्यालयका ढड्डाहरु हेरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काम कसरी भयो भनेर अध्ययन गरिरहेका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It