News

जंगल अतिक्रमण गर्दै सुविधासम्पन्न बस्ती निर्माण, राजनीतिक दल र कर्मचारीको मिलेमतो

Pinterest LinkedIn Tumblr

काठमाडौं । रौतहटमा जंगल अतिक्रमण गर्दै घरटहरा निर्माण हुने गरेको पाइएको छ । विभिन्न पालिकाका तीन हजार एक सय हेक्टर क्षेत्रफल बढीका जङ्गल अतिक्रमणमा परेको छ । राजनीतिक दल तथा  वन कर्मचारीकै मिलेमतोमा जंगल अतिक्रमण भइरहेको छ ।

राजमार्गको उत्तर तथा चुरेसँगै जोडिएका राष्ट्रिय वन सम्पदामा वन कर्मचारीको उपस्थिति लगभग शून्य जस्तै हुन्छ । फलस्वरुप हालसम्म वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल सबैभन्दा बढी अतिक्रमण भएको छ । सो स्थानमा सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो । 

हाल यो टोल आसपास वन कार्यालय बलेरीका कर्मचारीकै मिलेमतोमा वन मासेर घर, टहरा बनाउने क्रम बढ्दै गएको छ । केही समय पहिला डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको स्थानमा समेत घर बनाइएको छ । 

यसबाहेक चन्द्रपुर नगरपालिकाको बेतौनाको जङ्गलमा पनि घरटहरा बनाउने क्रम बढ्दै गएको छ । राजनीतिक दलको संरक्षणमा वन जङ्गलको अतिक्रमण गरी निर्माण भएका घर, टहरा तथा खेतीयोग्य जमिन खाली गराउन समस्या भएको वन कार्यालयले जनाएको छ । 

यस वर्ष मात्र सो क्षेत्रमा दर्जनौ नयाँ घर निर्माण भएका छन् । अनधिकृत रूपमा बसेको मानव बस्तीमा खानेपानी, बिजुली, विद्यालय लगायतको व्यवस्थापन गरिएको हुँदा कसरी अतिक्रमित बस्तीलाई खाली गराउन समस्या भइरहेको छ । 

राष्ट्रिय वनअन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–३ अरुणबस्ती, भोलेन्टार, गैँडाटारको महादेव डाँडा, तोरीवारी, इपलीबस्ती, फूलबारी, हिलेखोला पौराई, गुजरा, वृन्दनवन, फतुवा विजयपुरलगायतका वनजङ्गल क्षेत्रमा रुख व्यापक रूपमा कटानी गरेर अतिक्रमण गर्ने कार्य तीव्र रूपमा भइरहेको पाइएको छ ।

चुरे, भावर आसपासका क्षेत्रमा वन मासेर बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने र राजमार्ग क्षेत्रका आसपासमा वन अतिक्रमण गरी पक्की घर निर्माण गर्ने गरेको पाइए पनि हालसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It