काठमाडौं । जग्गा कीर्ते तथा जालसाजी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव रहेका छन् ।
साबिक वीरपुर गाविस–९ स्थित मुकेश यादवका नाममा रहेको जग्गा जग्गाधनीलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको हो ।
जिल्लाको कृष्णनगर नगरपालिका–११ बस्ने रेखा लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।
चौधरीले कार्यालय समय सकिएको भन्दै दुई दिन भित्र जग्गाधनी पुर्जा उपलब्ध गराउने भनेका थिए । तर चार दिन बित्दासमेत पुर्जा नआएपछि पीडितले वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिइन् । उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविकता, जग्गाको स्रेस्ताको विवरण झिकाएको थियो ।
जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको, उक्त जग्गाको कीर्ते तथा जालसाजी गरी राजीनामा तयार गरिएकाले कानुनी कारबाहीका लागि पत्राचार गरिएको जनाएको छ।
बिहीबार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुमा म्याद थपका लागि लगिएको छ ।