News

मकवानपुरका ३६ हजार भूमिहीन सुकुम्बासीले एक वर्षभित्रै लालपुर्जा पाउने

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्बासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा उक्त संख्यामा भूमिहीन सुकुम्बासी रहेको जानकारी दिएको हो । 

मकवानपुरमा १० वटै स्थानीय तहमा ३सय ७९ जना भूमिहीन दलित, २ हजार ४ सय ६३ जना भूमिहीन सुकुम्बासी तथा ३३ हजार तीनसय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी छन् । उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गराएको आयोगले जनाएको छ ।

भूमिहीनहरूको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकोले एक वर्षभित्र नै जग्गा प्रमाणपत्र लालपुर्जा प्राप्त गर्ने बताइएको छ ।

जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया सुरू भइसकेको छ ।

आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकारी दिँदै पहिलो चरणमा भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा दिइने बताए । 

यसैबीच भूमिअधिकार मञ्च हेटौँडाको अध्यक्ष पदमा गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन भएका छन् । मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिगं, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन भएका छन् । 

यसैगरी सदस्य पदमा जमुना राई, कृष्ण वल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It