काठमाडौं । विपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिवास) को झण्डै १ किलोमिटर सडकखण्ड स्थायी रुपमा परिवर्तन हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माण गर्दा सडक डुवानमा पर्ने भएपछि राजमार्गको ९ सय मिटर सडकमार्ग परिवर्तन गर्नुपर्ने भएको हो ।
आयोजनाको हेडवर्क्सले ९०० मिटर सडक डुवानमा पर्ने देखिएको छ । यद्यपि आयोजना निर्माण सम्पन्न नहुँदासम्म विपी राजमार्गको कुल २.९ किलोमिटर खण्ड नै प्रभावित हुने भएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने हो ।
आयोजना निर्माण पश्चात त्यसमध्ये २ किलोमिटर खण्ड हालकै स्थानबाट सञ्चालन हुनेछ । ९ सय मिटर सडक भने डुवान क्षेत्रमा पर्ने भएकाले स्थायी रुपमै परिवर्तन गर्नुपर्ने छ । सडक सार्नुपर्ने क्षेत्र सिन्धुलीको सुनकोसी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्छ ।
नयाँ खुल्ने सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ३ वर्ष पहिला तयार भएको आयोजनाले जनाएको छ । ट्रयाक परिवर्तन गर्दा लाग्ने खर्चको विषयमा भने आयोजनाले प्रष्ट पारेको छैन ।
चालू आर्थिक वर्षमा सडक परिवर्तनको काम नहुने भएकाले तत्कालै बजेटको आवश्यकता नपर्ने बताइएको छ । चालू आर्थिक वर्षमा साइट क्लियरेन्सको काम हुनेछ । सडकको काम हेडवर्क्स र विद्युतगृह निर्माणको जिम्मेवारी पाएको कम्पनीले गर्ने छन् । नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङको संयुक्त उपक्रम (जेभी)ले बाँध र विद्युतगृह निर्माणको जिम्मेवारी पाएका हुन् ।
२०७९ पुस १७ गते आयोजना र निर्माण कम्पनीबीच साढे १२ अर्ब रुपैयाँमा हेडवर्क्स र विद्युतगृह निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौता भएसँगै आयोजना स्थलमा निर्माण कम्पनीले आफ्नो काम सुरु गरेको छ । सम्झौता भएको मितिले ४ वर्ष ७ महिनामा हेडवर्क्स र विद्युतगृह निर्माण सम्पन्न गर्नुपर्नेछ ।
सुनकोसीको पानी सुरुङमार्फत तराईमा लगेर सिँचाइ सुविधा उपलब्ध गराउने योजनास्वरूप आयोजना निर्माण सुरु भएको हो । जसअनुसार १३ किलोमिटर लामो सुरुङमार्ग बन्दै छ । उक्त सुरुङ अमेरिकन प्रविधिको ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) बाट खन्ने काम भइरहेको छ । डाइभर्सनमा गत असोज २८ बाट टिबिएम प्रयोग गरेर सुरुङ खन्न थालिएको हो ।
सुरुङमार्ग हालसम्म ३ हजार ५ सय ४० मिटर खनिएको छ । सुरुङ खन्ने जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले पाएको छ । २०७७ फागुनमा भएको सम्झौताअनुसार सुनकोसी–मरिणको १३ किलोमिटर लामो सुरुङ खन्न १० अर्ब रुपैयाँ लाग्ने छ । कोभेकले २२ महिनामा सुरुङ खन्ने लक्ष्य लिएको छ ।