काठमाडौं । म्याग्दी नदी किनारमा आकर्षक ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण सम्पन्न भएको छ । पर्यटक तथा स्थानीयवासीलाई लक्षित गर्दै मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा उद्यान निर्माण भएको हो ।
उद्यान स्वच्छ र शान्त वातावरण सहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुने गरी निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा निर्माण हुन थालेको उद्यानको सबै काम सकिएपछि गत आइतबार औपचारिक शुभारम्भ गरिएको छ ।
गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको एक करोड रुपैयाँ लागतमा बहुउद्देश्यीय उद्यान निर्माण भएको हो । जसका लागि मङ्गला–२ बाबियाचौर निवासी तथा समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।
उद्यान बनाउन अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा उपलब्ध गराएका हुन् । थप पाँचआना जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले एक लाख रुपैयाँ र मङ्गला युवा क्लबले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।
उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।
उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले १८ लाख, गण्डकी प्रदेश सरकारबाट सङ्ग्रहालय भवन बनाउन १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि सात लाख रुपैयाँ बजेट उपलब्ध गराएका थिए ।
उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब ६० लाख रुपैयाँ बढी लगानी गरेको जनाइएको छ ।
जग्गादाताको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक बनाइएको छ । सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’नामकरण गरिएको जनाइएको छ ।
उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।