काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक खण्डको काम २५ प्रतिशत मात्रै पूरा भएको छ । निर्माण थालेको चार वर्ष पूरा भइसक्दा पनि निर्माण सम्पन्न हुन नसक्दा निर्माण कम्पनीले अझै ३ सय ८६ दिन म्याद थप गराएको छ ।
वि.सं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ ।
सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो । म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको कम्पनिले जनाएको छ । अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेको छ ।
हाल व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक विस्तार योजनाले जनाएको छ । यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका काम भइरहेका छन् । गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।
भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको छ भने सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको छ ।
सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको छ । सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटा बाहेक सम्पूर्ण रूख कटानको काम सकिएको र बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको आयोजना पक्षले जनाएको छ ।
सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको छ । त्यसैगरी खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको छ । सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसक्दा ४८ वटा कल्भर्ट निर्माणको काम चलिरहेको छ ।
पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ । पाँचवटामा निर्माण भइरहेको छ भने दुईवटामा काम हुनै बाँकी छ । १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेकोमा हाल बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो ।
हालसम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको छ । सडक विस्तारका क्रममा पूर्वी खण्डमा एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कूल बजेट नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ ।
प्रतिमहिना तीन प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले बताएको छ । हाल साइटमा चालु आर्थिक वर्षमाभित्र आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी दैनिक एक हजार बढी कामदारले काम गरिरहेका छन् ।
पहिले कोभिड, रूख कटान तथा खानेपानीका पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गर्ने कर्पोरेसन लिमिटेडको अपेक्षा छ ।
परीक्षण कालोपत्र सफल भएपछि थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउने र पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ । ठूला पुलहरूमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको छ । त्यसमध्ये छवटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको छ ।
आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ । यस खण्डमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन ।
दाउन्ने खण्डको पाँच किलोमिटरमा ३० वटा कल्भर्ट बनाउने कम्पनिको योजना छ । त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्साभेटर प्रयोग गरेर दाउन्नेको भित्तो काट्ने काम भइरहेको छ । भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु हुनेछ ।
यस वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको कम्पनिले जनाएको छ ।
नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदैछन् । रासस