काठमाडौं । तरलता अभाव र कित्ताकाटको समस्याले कारोबार लगातार घटिरहेका बेला राष्ट्र बैंकले मुद्रास्फीति सर्वेक्षण सार्वजनिक गरेको छ । जसमा आम सर्वसाधारणले घरजग्गा तथा हाउजिङको मूल्य घट्ने अपेक्षा गरिरहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा मुद्रास्फीति अर्थात् महँगी सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा एक वर्षभित्र घरजग्गा तथा हाउजिङको मूल्य घट्ने अनुमान गर्ने सर्वसाधारणको संख्या वृद्धि भएको देखिएको छ ।
सहभागीमध्ये १० प्रतिशत मानिसले तीन महिनामा र ९.७ प्रतिशतले आगामी एक वर्षमा घरजग्गा तथा हाउजिङको मूल्य घट्ने आँकलन गरेका छन् । यस वर्ष मूल्य घट्ने अनुमान गर्नेको संख्या थोरै भए पनि अघिल्ला सर्वेक्षणको तुलनामा वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसअघि २०७९ असारमा मुद्रास्फितिका सम्बन्धमा सर्वेक्षण गरिएको थियो । जसमा ५.९ प्रतिशतले मात्र तीन महीनामा घरजग्गाको मूल्य घट्ने बताएका थिए । यसैगरी २०७८ चैतमा ६.५ प्रतिशत र २०७८ पुसमा २.४ प्रतिशतले घरजग्गाको मूल्य घट्ने आकलन गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका कारण घरजग्गा कारोबारमा धक्का लाग्यो । गत जेठमा भू-उपयोग नियमावली २०७९ जारी भएसँगै घरजग्गा कारोबार थप प्रभावित बनेको छ । नियमावलीले वर्गीकरण नगरिएको जग्गा कित्ताकाटमा रोक लगाएसँगै घरजग्गा कारोबार घटिरहेको छ ।
सोहि कारण सर्वसाधारण भने आगामी दिनमा मूल्य घट्नसक्ने अनुमान लगाइरहेका छन् । सर्वेक्षणमा घरजग्गाको मूल्य वृद्धिको आकलन गर्नेको संख्या घटेको छ । सर्वेक्षणमा ५३ प्रतिशतले आगामी तीन महीनामा र ७९.२ प्रतिशतले एक वर्षमा घरजग्गाको मूल्य बढ्ने आँकलन गरेका छन् ।
यसैगरी तीन महीनासम्म घरजग्गा तथा अपार्टमेन्टको मूल्य स्थिर रहने आँकलन गर्नेको संख्या ३७ प्रतिशत र एक वर्षसम्म स्थिर रहने अनुमान गर्नेको संख्या २७.१ प्रतिशत छ । खाद्यान्न तथा सेवा क्षेत्रको तुलनामा घरजग्गाको मूल्य बढ्ने आकलन गर्ने सर्वसाधारणको संख्या थोरै छ ।
यस्तै सर्वेक्षणमा सर्वसाधारणले आगामी तीन महिनाभित्र औसत मूल्य वृद्धिदर १०.५ प्रतिशत र एक वर्षभित्र १३.४ पुग्ने आंकलन गरेका छन् । राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरेभन्दा उपभोक्ताले अनुभव गरेको महँगी उच्च छ । राष्ट्र बैंकको प्रतिवेदनमा २०७९ असोजमा मूल्य वृद्धिदर ८.५ प्रतिशत छ भने उपभोक्ताले मूल्य वृद्धिदर १४ प्रतिशत रहेको अनुमान गरेका छन् ।
राष्ट्र बैंकले २०७९ असोज २३ देखि २९ सम्म ५७ शहरका ६० बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तरवार्तामार्फत सर्वेक्षण गरेको बताएको छ ।
दुई हजार ४० जनाको प्रतिक्रियामा आधारित सर्वेक्षणमा यसअघिको तुलनामा आठ सय ९९ व्यक्ति थपिएको राष्ट्र बैंकको भनाइ छ ।