Opinion

राष्ट्रिय गौरवको गल्छी-केरुङ राजमार्ग आयोजनाका कारण नुवाकोटमा जनजीवन प्रभावित 

Pinterest LinkedIn Tumblr

काठमाडौं । स्वस्थ वातावरणलाई परिभाषित गर्ने धेरै तरिकाहरू छन् । यसमा हामीले सास फेर्ने हावा, पानी, खाना र वरपरको परिवेशलाई समेट्छ । हामी रसायन, विकिरण र सूक्ष्म जीवसहितको भौतिक संसारको दैनिक सम्पर्कमा छौं । कतिपय अवस्थामा यो क्रम असन्तुलित हुन जान्छ र जैविक दुनियाँमा नराम्रो असर पर्न जान्छ । पृथ्वीमा भएका सम्पूर्ण प्राणी जगतका लागि स्वच्छ वातावरण अपरिहार्य छ । वातावरण र प्राणी जगतको  अन्तरसम्बन्धलाई विश्लेषण गर्दा स्वच्छ वातावरणको अधिकार भनेको मानव अधिकारको एउटा हिस्सा पनि हो । 

अहिले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका महादेवफाँटको सन्दर्भमा कुरा गर्ने हो भने राष्ट्रिय गौरवको योजना मानिएको गल्छी-केरुङ राजमार्ग आयोजनाले स्थानीयको जीवनमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने गरि प्रदुषण सृजना गरिरहेको छ । राष्ट्रको गौरव बोकेको आयोजनाले मानव अधिकार र मानवीय स्वास्थ्यको बेवास्ता गरि यस्ता प्रदुषण निम्ताउने कार्य गर्नु आफैमा दुखको विषय हो ।

 गल्छी-केरुङ राजमार्ग आयोजनाले निम्ताएको प्रदुषण
गल्छी-केरुङ राजमार्ग आयोजनाले निम्ताएको प्रदुषण

आधुनिक विकासले स्थानीय जनताको दैनिक जीवनयापनका लागि सकारात्मक प्रतिफल दिने अपेक्षा स्वभाविककै हो तर सम्बन्धित निकायले समाजमा फैलिएको प्रदुषणको बेवास्ता गरि यस्ता काम अघि बढाउदा दैनिक जीवनयापन अत्यन्त कष्टकर र दुखदायी बन्दै गइरहेको छ । स्वस्थ र स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले प्राथमिकतामा राखेको विषय हुन् । यसरी कुनै पनि कृयाकलापबाट नागरिकको मानव अधिकारलाई हनन गर्ने छुट कुनै पनि व्यक्ति वा संस्थालाई छैन । 

स्वस्थ र स्वच्छ वातावरणमा आफ्नो नागरिकलाई राख्नु राज्यको महत्वपूर्ण दायित्व अन्तर्गत पर्दछ । तर उक्त कदम यहाँका सरकार तथा स्थानीय निकायले रतिभर पनि चालेको पाइदैन ।  यहाँका स्थानीय जनताले विगत देखि थुप्रै समस्या झेल्दै आइरहेका छन् । प्रदुषणकै कारण यस क्षेत्रको बालिनाली उत्पादनमा ह्रास आइरहेको छ । सर्वसाधारणमा रुघाखोकी, छालाको एलर्जी, आँखा चिलाउने, श्वासप्रस्वास सम्बन्धी समस्याका साथै  मानसिक तनाव र चिडचिडाहट पनि बढेको पाइएको छ । 

राष्ट्रिय गौरवको गल्छी-केरुङ राजमार्ग आयोजनाका कारण नुवाकोटमा जनजीवन प्रभावित 
बेलकोटगढी नगरपालिका ,महादेवफाँट स्थित राष्ट्रिय गौरवको योजना मानिएको गल्छी-केरुङ राजमार्ग आयोजनाले  निम्गताएको  प्रदुषण  ।

नेपालको संविधानले पनि नेपालको संविधान २०६३ को भाग ३ को मौलिक हक धारा १६ मा प्रत्येक ब्यक्तिलाई स्वस्थ र स्वच्छ बाच्ने हक छ भनी उल्लेख गरेको अवस्थामा गल्छी-केरुङ आयोजनाले कानुन र संविधानको धज्जी उडाउँदै बस्तीको बीचमा वायु प्रदुषण बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It