Lifestyle

तिहारको पहिलो दिनः यम दीपदान गरी यमपञ्चक मनाइदै

Pinterest LinkedIn Tumblr

काठमाडाैं । कार्त्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दानसँगै यमपञ्चक शुरू हुन्छ । कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारदेखि शुरु भइ कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) तिहार मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रूपमा मनाउने यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ बाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ ।

सायंकाल अर्थात् रातको समयमा त्रयोदशी भएका दिन यम दीपदान शुरू गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय मान्यता छ । साँझपख त्रयोदशी तिथि लागेसगैँ यमदीपदान सुरु हुन्छ । यस वर्ष तिथिकाे घटबढका कारण कार्तिक ५ गते साझ ०४:३४ बाट यमपञ्चक सरू हुने देखिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि ६ गते नै परेको छ ।

यमपञ्चकका पाँच दिनहरू

काग तिहारः
यमपञ्चक पहिलो दिन काग तिहार मनाइन्छ । कागलाई यमराजको सन्देशबाहक यमदूत भएको मान्यता छ । काग यमराजको अत्यन्त प्रिय भक्त भएकाले यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने गरिन्छ । काग तिहारकाे दिन कागलाई पूजाआजा नगर्ने र खान नदिएमा पापको भागी हुनपर्ने धार्मिक मान्यता छ ।

कुकुर तिहारः
यमपञ्चकको दोस्रो दिन कुकुर तिहार तथा नरक चतुर्दशी मनाइन्छ । यस दिन कुकुरलाई पूजा गर्ने, माला लगाइदिने, र मनपर्ने खाना खुवाउने चलन छ । यमराजको भक्त तथा यमदूत भएकै कारण कुकुरको पूजा गरिने धार्मिक मान्यता छ ।

लक्ष्मी पूजाः
यमपञ्चक अवधिमा गरिने विभिन्न पुजाहरू मध्ये ‘लक्ष्मी पूजा’ लाई विशेष महत्व दिइन्छ । तिथि अनुसार कार्तिक कृष्ण अमावस्या अर्थात औंशीका दिन लक्ष्मी पूजा मनाइन्छ । यस दिन देवी लक्ष्मीको पूजा गर्ने, घरभरि दियो बाल्ने र घरघरै गएर भैलो खेल्ने गरिन्छ । वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ ।

गाइ पूजाः
यमपञ्चककाे अर्काे महत्वपूर्ण दिन हाे गाई पूजा अर्थात् गाईतिहार । कार्तिक कृष्ण औंशीमा गाईको पूजा गरिन्छ । गाईलाई लक्ष्मीको प्रतिक मानेर गाईको पुजा गर्ने गरिएकाे धार्मिक मान्यता छ ।

गाेवर्धन पूजाः
कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन पूजा गरी गोरूतिहार मनाइछ । यस दिन हिन्दू धर्मावलम्बीले आ-आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाएर पूजा गर्ने गर्छन् ।

भाइटिकाः
यमपञ्चककाे अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटिका मनाइन्छ । यसदिन चेली र माइतीले एकअर्कालाई विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान भाेजन गराउने, दिदी बहिनीहरूलाई दक्षिणा एवं वस्त्रादि दिने परम्परा छ । दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गर्दछन् ।

यमपञ्चकमा यम दीप दानकाे महत्व

यम दिप दान
यमपञ्चकमा यम दिप दान गरेमा यमकाे यातनाबाट मुक्त हुने शास्त्रिय मान्यता रहेकाे छ । कार्तिक कृष्ण त्रयाेदशीकाे साझ घरकाे मुख्य द्वार वा दक्षिण दिशामा घरकाे जेठाे सदस्यले यमराजलाइ सम्झेर बत्ति बाल्नु शुभ मानिन्छ । परिवारमा सदस्य संख्याको आधारमा यम दिप बत्ति बाल्नुपर्ने मान्यता पनि छ । यसोगर्दा परिवारमा आइपर्ने अकाल मृत्युको सम्भावना टर्ने विश्वास छ । यमयातनाबाट छुटकारा पाउन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमदीपदान गरिन्छ ।

यम दीप दान गर्ने मन्त्रः

मृत्युना पाशदण्डाभ्यां कालेन च मया सह ।
त्रयोदश्यां दीपलानात्सूर्यज: प्रीयता मम ।

प्रतिक्रिया दिनुहोस्
Pin It