घर बनाउने सोच्दै हुनुहुन्छ? यी हुन्, सुरुमै ध्यान दिनुपर्ने ८ कुराहरू
- १. कानुनी पक्षहरू (Legal Requirements)
- २. डिजाइन र संरचना (Structural and Architectural Design)
- ३. बजेट र लागत नियन्त्रण (Budget & Cost Control)
- ४. भूगर्भ र वातावरणीय पक्ष (Soil & Climasideration)
- ५. निर्माण सामाग्री र जनशक्ति (Material & Workforce)
- ६. सुविधाहरूको पूर्व योजना (Utility Planning)
- ७. सुरक्षा योजना (Safety & Long-Term View)
- ८. छिमेकी र सामुदायिक सम्बन्ध (Neighborhood Consideration)
काठमाडौं । घर निर्माण गर्दा गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्नु पर्याप्त हुँदैन; यससँगै आर्थिक योजना, कानुनी प्रक्रिया, र सामाजिक वातावरणका पक्षहरूमा समेत विचार पुर्याउन आवश्यक हुन्छ । यस्ता समग्र तयारीहरूले मात्र सुरक्षित लगानी सुनिश्चित हुन्छ र दिगो, टिकाउ संरचना निर्माणको आधार तयार पार्दछ । यस लेखमा, घर बनाउनु अघि ध्यान दिनुपर्ने आठ विशेष पक्षहरूबारे विस्तारमा चर्चा गरिनेछ ।
१. कानुनी पक्षहरू (Legal Requirements)
घर निर्माणको पहिलो चरणमा जग्गाको कानुनी स्थितिबारे स्पष्ट हुनु अत्यन्त आवश्यक छ । यसअन्तर्गत जग्गा नामसारीको प्रक्रिया पूरा भएको छ कि छैन भन्ने जानकारी लिनु पर्छ । साथै, अदालतमा कुनै प्रकारको मुद्दा चलिरहेको छ कि छैन र जग्गामा कित्ताकाट गर्दा परिवारभित्र विवाद वा समझदारी रहेको छ कि छैन भन्ने कुरा पनि सुनिश्चित गर्नुपर्छ । त्यस्तै, जग्गाको सिमाना छिमेकीसँग सहमत छ कि छैन भन्ने कुरा नापी कार्यालय वा नक्सा हेरेर पुष्टि गर्न आवश्यक हुन्छ । यसरी कानुनी पक्षमा पूर्ण स्पष्टता हासिल गरेपछि मात्रै घर निर्माणको संरचनात्मक प्रक्रियामा अघि बढ्न सकिन्छ ।
२. डिजाइन र संरचना (Structural and Architectural Design)
घर दीर्घकालीन आवासीय योजना भएकाले, अनुभवी इन्जिनियर वा आर्किटेक्टको सहयोगमा आवश्यकताअनुसारको नक्सा तयार गरी निर्माण कार्य अघि बढाउनु अत्यावश्यक छ । साथै, घरको डिजाइन नेपाल राष्ट्रिय भवन नियमावली (Nepal National Building Code, NBC) अनुसार भूकम्प-प्रतिरोधी हुनुपर्छ ।
३. बजेट र लागत नियन्त्रण (Budget & Cost Control)
घर निर्माण प्रक्रियालाई तनावमुक्त बनाउन अनुमानित लागतको विस्तृत विवरण (Bill of Quantity) तयार गर्नु आवश्यक छ । आवश्यक सामग्रीको परिमाण, लागत, र श्रमिक खर्चहरूको स्पष्ट विवरण समेटेर योजना बनाउँदा बजेटभित्र काम सम्पन्न गर्न सजिलो हुन्छ ।
साथै, घर एकैपटक निर्माण गर्ने कि चरणबद्ध रूपमा निर्माण गर्ने भन्ने निर्णय पनि लिनुपर्छ । यदि तत्काल ठूलो रकम खर्च गर्न सक्ने अवस्था छैन भने, सुरुमा एउटा तला बनाएर पछि विस्तार गर्ने योजना उपयुक्त हुन्छ । यसले आर्थिक चाप कम गर्न सहयोग पुर्याउँछ ।
४. भूगर्भ र वातावरणीय पक्ष (Soil & Climasideration)
घर निर्माण अघि जमिनको माटोको प्रकार र वातावरणको मूल्यांकन गर्नुपर्छ । माटो परीक्षण आवश्यक भएमा मात्र गर्न सकिन्छ । तर पिलर, ढल र फाउन्डेसन डिजाइनका लागि माटोको जानकारी उपयोगी हुन्छ । वर्षामा पानी जम्न नदिने निकास प्रणालीको योजना बनाउनुपर्छ । साथै, पूर्वमुखी वा दक्षिणमुखी झ्याल-ढोका राख्दा प्राकृतिक प्रकाश र हावाको प्रवाह सहज हुन्छ ।
५. निर्माण सामाग्री र जनशक्ति (Material & Workforce)
घरलाई सुरक्षित र दीर्घकालीन स्थायित्व प्रदान गर्न निर्माणमा प्रयोग हुने रड, सिमेन्ट, बालुवा, इँटा, गिट्टीजस्ता सामग्री उच्च गुणस्तरका हुनुपर्छ । सस्तोको लोभमा गुणस्तरहीन सामग्री प्रयोग गर्दा संरचना कमजोर बन्न सक्छ, जसले भविष्यमा ठूलो आर्थिक र भौतिक क्षति निम्त्याउन सक्छ । साथै, निर्माण कार्यमा संलग्न दक्ष जनशक्ति—जस्तै अनुभवी मिस्त्री, कन्क्रिट गर्ने कामदार, तथा प्लम्बिङ र विद्युतीय कार्यका प्राविधिक—उचित तालिमप्राप्त र अनुभवी हुनुपर्छ । निर्माण कार्यको सम्पूर्ण चरणमा निरन्तर साइट सुपरभिजन आवश्यक हुन्छ । इन्जिनियर वा सुपरभाइजरको प्रत्यक्ष निगरानीमा काम गराउँदा त्रुटि न्यून हुन्छ र कामको गुणस्तर सुनिश्चित हुन्छ ।
६. सुविधाहरूको पूर्व योजना (Utility Planning)
घर निर्माणको प्रारम्भिक चरणमै पानी, विद्युत्, र इन्टरनेट जस्ता आवश्यक सुविधाहरूको योजना तयार गर्नुपर्छ । भवन तयार भइसकेपछि पाइपलाइन वा तार जडान गर्न खोज्दा भित्ताहरू भत्काउनुपर्ने हुन सक्छ, जसले समय र लागत दुवै बढाउँछ। त्यसैले मुख्य पाइपिङ र वायरिङको लेआउट सुरुवातमै निर्धारण गर्नु उपयुक्त हुन्छ ।
साथै, आवश्यकता अनुसार सोलार प्रणाली वा इन्भर्टर जडानको तयारी जस्तै; वायरिङ, ब्याट्रीको स्थान, र सोलार प्यानलको जडान हुने ठाउँ निर्माणकै क्रममा तय गर्नुपर्छ । पर्यावरणीय दृष्टिकोणले छतबाट पानी संकलन (Roof Water Harvesting) र ग्रे वाटर व्यवस्थापन (Grey Water Management) जस्ता उपायहरू आजकल महत्त्वपूर्ण बन्दै गएका छन्। यी प्रणालीहरू सुरुवातमै डिजाइनमा समावेश गर्दा प्राकृतिक स्रोतको प्रभावकारी उपयोग हुन्छ र पछि संरचना भत्काएर पुनः निर्माण गर्नु पर्दैन ।
७. सुरक्षा योजना (Safety & Long-Term View)
घर निर्माणको प्रारम्भिक चरणमै सुरक्षा र भविष्यका आवश्यकताहरूलाई ध्यान दिनुपर्छ । यसअन्तर्गत फायर सेफ्टी, आपत्कालीन निस्किने बाटो, अग्नि निवारण उपकरण राख्ने स्थान, र सुरक्षित विद्युतीय वायरिङको जडान प्राथमिकतामा पर्नुपर्छ ।
त्यस्तै, बार्दलीमा बलियो रेलिङ जडान गर्नु, सिँढी चिप्लन नदिने बनावट रोज्नु, र घरको डिजाइन बालबालिका तथा वृद्धमैत्री बनाउनुपर्छ । यदि भविष्यमा थप तला निर्माण गर्ने योजना छ भने हालको संरचना त्यसलाई समर्थन गर्नसक्ने गरी तयार पार्न आवश्यक हुन्छ ।
८. छिमेकी र सामुदायिक सम्बन्ध (Neighborhood Consideration)
घर निर्माण गर्दा आफ्नो सुविधा मात्र होइन, छिमेकीको सहजता र सामुदायिक सम्बन्धलाई पनि प्राथमिकता दिनुपर्छ । त्यसका लागि निर्माणपूर्व नै छिमेकीसँग सिमाना मिलाउने, साझा हिँड्ने बाटो छुट्याउने, र गेटको दिशा उपयुक्त स्थानमा राख्ने जस्ता विषयहरू आपसी समझदारीका साथ टुंग्याउनुपर्छ । यसले भविष्यमा सिमाना विवाद वा आपसी मनमुटावबाट जोगाउँछ । साथै, निर्माण कार्यको क्रममा छिमेकीलाई कुनै असुविधा नपरोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।