News

किन बस्छन् ४५ लाख भन्दा धेरै परिवार एकतले घरमा !

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमा रहेका कुल घरमध्ये ६० प्रतिशत घर एकतले रहेको पाइएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै देशभर ४५ लाख १७ हजार ६ सय ४५ वटा अर्थात् ५९.८२ प्रतिशत एकतले रहेको जनाएको हो । 

कार्यालयको तथ्यांकअनुसार देशभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । तथ्यांकअनुसार देशभर २८.७८  प्रतिशत दुईतले घर रहेका छन् । त्यस्तै, ९.१७ प्रतिशत तीनतले र १.३ प्रतिशत चारतले घर रहेका छन् । 

त्यसैगरी, पाँचदेखि साततले घर ०.६४ प्रतिशत, ८ देखि ९ तले ०.०१ प्रतिशत र १० भन्दा बढी तला भएका घर ०.००३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । 

तथ्याङ्क अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ ।

सय वर्ष आयु भएका घर ०.५ प्रतिशत 

घर तथा घरपरिवार सूचीकरण फारममा संकलित विवरणमध्ये घरको मुख्य प्रयोग अनुसार घरको आयुलाई ० वर्ष, १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष, ५–९ वर्ष, १०–१४ वर्ष, १५–१९ वर्ष, २०–२९ वर्ष, ३०–४९ वर्ष ५०–९९ वर्ष र १०० वर्षभन्दा माथि गरी १२ प्रकारमा विभाजन गरिएको छ । जसअनुसार कुल घरहरू मध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ० देखि ४ वर्षका रहेका छन् । भने १०० भन्दा बढी वर्षका घरहरू सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ । 

घर निर्माणमा सरकारी अनुदान 

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको पाइएको छ । सो मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It