काठमाडौं । घर निर्माण गर्दा अधिकांश अवस्थामा डिजाइन, लागत र सजावटमा ध्यान दिने गरेको पाइन्छ । यद्यपि निर्माणका बेला घरको सेटब्याकमा पनि ध्यान दिनु पनि उत्तिकै आवश्यक छ । अन्यथा भविष्यमा छिमेकीसँगको विवाद, स्वीकृतिमा अवरोध, वा कानुनी समस्या समेत आउन सक्छन् ।
सेटब्याक के हो ?
घरको वरपर बाटो, सार्वजनिक सम्पत्ति वा छिमेकीको सिमाना र सडक अधिकार क्षेत्रबाट भवनसम्म छोड्नु पर्ने न्यूनतम दूरीलाई ‘सेटब्याक’ भनिन्छ । यसरी खाली छोडिएको भाग आफ्नै स्वामित्वभित्रै पर्ने भएपनि त्यस स्थानमा घरको पर्खाल, वा अन्य स्थायी संरचना बनाउन पाइँदैन । यी खाली क्षेत्रहरू कतिपय अवस्थामा झ्यालढोका राख्न समेत छोड्नुपर्ने हुन्छ । यदि तपाईंको घरको साइडमा यस्ता संरचना राख्न नपर्ने भएमा भवनलाई छिमेकीको सिमानासम्म टसाएर बनाउने छुट पनि पाइन्छ ।
नेपाल सरकारको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्डअनुसार भवनको प्रकार, आकार र स्थानअनुसार सेटब्याकको मापदण्ड फरकफरक हुन्छ ।
आवासीय भवनका लागि सेटब्याकको कानुनी मापदण्डहरू
घरको उचाइ | सेटव्याक (न्युनतम) |
१० मिटर सम्म | १.५ मिटर (५ फिट) |
१० मिटरदेखि १७ मिटर | २ मिटर |
१७ मिटरदेखि २४ मिटर | ३ मिटर |
२४ मिटरभन्दा ३१ मिटर | ४ मिटर |
३१ देखि ३८ मिटरसम्म | ५ मिटर |
४५ देखि ५२ मिटरसम्म | ७ मिटर |
५२ देखि ५९ मिटरसम्म | ८ मिटर |
५९ देखि ६६ मिटरसम्म | १० मिटर |
८० देखि ९४ मिटरसम्म | ११ मिटर |
९४ मिटर देखि १०० मिटरसम्म | १२ मिटर |
नोटः हाल १७ मिटरभन्दा अग्ला आवसीय घर निर्माण गर्न पाईंदैन ।
तर, संयुक्त आवासको हकमा अगाडि तर्फको सेटव्याक तराईको क्षेत्रमा न्यूनतम ८ मिटर तथा काठमाडौं उपत्यका र पहाडको क्षेत्रमा न्यूनतम ६ मिटर हुनुपर्नेछ ।
त्यस्तै, सडकको प्रकृतिअनुसार पनि सेटब्याक फरक हुन्छ । राष्ट्रिय राजमार्गको छेउमा पर्ने घरका लागि ६ मिटर, र स्थानिय सडकको हकमा १.५ मिटर सेटब्याक अनिवार्य हुन्छ ।
यद्यपि, यी नियमहरू देशभर एकै किसिमका हुँदैनन् । गाउँपालिका, नगरपालिका, महानगर वा सडक विभागले तोकेको मापदण्ड अनुसार सेटब्याक फरक पर्न सक्छ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।