काठमाडौं । घरजग्गाको कारोबार गर्दा सम्पूर्ण विवरण कागजातमा उल्लेख भएअनुसार भएनभएको चेकजाँच गरिन्छ । यद्यपि कतिपय अवस्थामा बस्ती विस्तार, सीमांकन वा नक्साको त्रुटिका कारण लालपुर्जामा उल्लेखित क्षेत्रफल र फिल्डमा वास्तविक रूपमा पाइने जग्गा फरक पर्न जान्छ । यदि जग्गा कागजातमा बढी छ तर फिल्डमा कम, अथवा फिल्डमा बढि र कागजातमा कम भए के गर्न सकिन्छ भन्नेबारे आजको लेखमा चर्चा गरिएको छ ।
कागजातमा उल्लेख भएजति जग्गा फिल्डमा उपलब्ध नभएको अवस्थामा जग्गाको पुनःनापीका लागि नापी कार्यालयमा निवेदन दिनुपर्छ । निवेदनको ढाँचा नापी विभाग र कार्यालयको वेबसाइटमा पाइन्छ; यदि अनलाइन उपलब्ध नभए, हातैले निवेदन लेखी दर्ता गर्न सकिन्छ । तर निवेदनको साथमा सम्बन्धित जग्गा धनीको नागरिकताको फोटोकपी, लालपुर्जाको फोटोकपी र जग्गाको मालपोत तिरेको रसिदको फोटोकपी पनि बुझाउनुपर्छ । निवेदन दिइसकेपछि नापी कार्यालयले कार्यालयबाट जग्गा रहेको ठाउँ सम्मको दूरीका आधारमा सेवा शुल्क निर्धारण गर्छ । उक्त शुल्क तिरेको रसिद नापी कार्यालयमा छोडेपछि तपाईंको निवेदन पाइपलाइनमा बस्छ ।
लालपुर्जामा उल्लेख भएकै जति जग्गा पाइन्छ ?
निवेदनका आधारमा नापीबाट आएका कर्मचारीहरूले जग्गा नापजाँच गर्छन् । फिल्डमा नापजाँच गर्दा आएको क्षेत्रफललाई लालपुर्जा र नक्सा अनुसार भिडाएर हेर्छन् । यसरी हेर्दा नक्सा, लालपुर्जा र फिल्डमा फरक परेमा नक्सा अनुसार नै लालपुर्जा नक्साअनुसार नै कायम हुन्छ । किनभने नापजाँच ऐन अनुसार जग्गाको नापजाँच हुन्छ र नक्सा तयार हुन्छ । सोही नक्साको आधारमा लालपुर्जा तयार हुन्छ, र व्यक्तिलाई दिइन्छ ।
यदि नक्सा र फिल्डमा जग्गा बढि छ र लालपुर्जामा कम छ भने लालपुर्जा सच्याउन निवेदन दिन सकिन्छ । तर जग्गा नाप्दा अर्काको नक्सातिर गएर तपाईंको जमिनले ठाउँ ओगटेको पाइयो र तपाईंसँग नक्सामा यो ओगटेको भाग तपाईंकै हो भन्ने प्रमाण भएन भने लालपुर्जा सच्याउन पाइँदैन । यदि नक्सा र पुर्जामा भन्दा फिल्डमा जग्गा बढि देखिएमा बढि भएको जग्गालाई सडक क्षेत्राधिकार अर्थात् ‘राइट अफ द वे’ मा देखाइदिनुपर्छ । सामान्यतया ‘राइट अफ द वे’मा रहेको जग्गा सडक क्षेत्रमा पर्छ र व्यक्तिको हकमा पर्दैन ।
समय र खर्च कति लाग्छ ?
अन्य व्यक्तिको निवेदन नभएमा र नजिकै जग्गा भएको खण्डमा भोलिपल्टै नापी कार्यालयका कर्मचारीले जग्गा नापजाँच गरिदिन्छन् । तर पाइपलाइनमा धेरै निवेदन भएको खण्डमा भने पालो आउन २/३ हप्तासम्म पनि लाग्न सक्छ । सामान्यतया निवेदन दिएको एक/डेढ हप्ताभित्रै जग्गा नापजाँच भइसक्छ । नापी कार्यालयले नजिकै रहेका जग्गा नाप्न न्यूनतम २५ सय देखि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । जग्गा रहेको ठाउँ धेरै टाढा भएमा यो रकम बढ्दै जान्छ ।
सँधियारले नमानेमा के गर्ने ?
अमिनले जग्गा नाप्दा तपाईंको जग्गा दाँया बाँया परेको रहेछ भने उनीहरूले जग्गा देखाइ दिन्छन् । तर सँधियारले उपभोग गर्दै आएको जग्गा छोड्दैन भनेर झगडा गर्न थाले भने अमिनले केही पनि गर्न सक्दैनन् । त्यस्तो बेलामा वडा कार्यालय, गाउँ/नगरपालिका र प्रहरी प्रशासन बसेर मिलाउने प्रयास गर्नुपर्छ । त्यति गर्दा पनि तपाईंको सँधियारले नमानेमा भने जिल्ला अदालतमा गएर मुद्दा चलाउनुपर्छ । त्यसपछि अदालतको फैसला अनुसार प्रहरी प्रशासनले तपाईंको जग्गा छुट्याईदिन्छ । सँधियारले फेरीपनि नमानेको खण्डमा उसलाई जरिवाना र कैद हुन सक्छ ।