News

सहरी क्षेत्रमा अग्ला घरलाई प्रोत्साहन गर्दै सरकार, अब जमिनको चारगुणा अग्लो घर बनाउन मिल्ने

By BN EditorialJune 1, 20224 min read
सहरी क्षेत्रमा अग्ला घरलाई प्रोत्साहन गर्दै सरकार, अब जमिनको चारगुणा अग्लो घर बनाउन मिल्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा भवन निर्माण मापदण्ड संशोधन गरेको छ । ‘भर्टिकल लिभिङ’ लाई प्रोत्साहन गर्ने उद्देश्य सहित भवन निर्माण मापदण्ड संशोधन भएको हाे । शहरी विकास मन्त्रालयले संशोधन गरेको मापदण्ड अनुसार शहरी क्षेत्रमा अब यस अघिको मापदण्ड भन्दा दोब्बर अग्ला घर तथा भवनहरू बनाउन पाइने छ भने सँधियार तर्फ पनि कम खाली ठाउँ छाडे पुग्ने भएको छ । 

काठमाडौं उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा पर्याप्त खाली जग्गा पाउन मुस्किल हुन थालेपछि ‘भर्टिकल लिभिङ’ अर्थात् बहुतले भौतिक संरचना निर्माणलाई सघाउ पुग्ने गरी भवन निर्माण मापदण्ड संशोधन गरेको हो ।

मन्त्रालयले २०७२ मा ल्याएको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्डमा भएका केही प्रावधानलाई संशोधन गरि भर्टिकल लिभिङ मापदण्ड ल्याएको हो । संशोधित मापदण्डले शहरी क्षेत्रमा भुँइकाे अनुपात (फ्लोर एरिया रेसियो ) ४.५ सम्म कायम गरेको छ । यसर्थ अब जमिनको क्षेत्रफलको तुलनामा साढे चार गुणासम्म ठूलो भवन बनाउन पाइनेछ । 

अब थोरै जग्गामा पनि यसअघिको भन्दा ठूलो क्षेत्रफलको भवन बन्नेछन् । जमिनको भाग संरचनाले ढाक्न पाउने ग्राउन्ड कभरेज क्षेत्रफल यथावत राखेर भुइँ क्षेत्र अनुपात फ्लोर एरिया रेसियो/फार) को अनुपात बढाइएको छ । यसर्थ, पहिले जति नै जमिन खाली छोडेर अब पहिलेको भन्दा ठूलो भवन बनाउन पाइने भएको छ । उति नै जमिन खाली राखेर यसअघि मापदण्डले छुट दिएकोभन्दा ठूलो भवन बनाउनका लागि पहिलेको भन्दा अग्लो भवन बनाउनु पर्ने हुन्छ । शहरी विकास मन्त्रालयले खाली जग्गा साँघुरिँदै गएकाले मापदण्ड घटाइएको जानकारी दिएको छ ।  

सरकारले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधन मापदण्ड, २०७८ जारी गरेको छ । सहरी विकास मन्त्रालयले भवन निर्माण मापदण्ड संशोधन गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ । 

कस्तो छ त, नयाँ मापदण्ड ?

अब काठमाडौं उपत्यकामा बन्ने व्यापारिक तथा सभा सम्मेलन भवनको फार ३.५ कायम गरिएको छ । आवासीय भवनले ४.०, मिश्रित आवासीय भवनले ४.५ र संस्थागत भवनले २.५ फार कायम गर्नुपर्ने गरी मापदण्ड रहेको छ ।  

यसअघि ललितपुरमा अपार्टमेन्टका लागि ३.० फार कायम गरिएको थियो । आवासीय भवनको हकमा फार १.७५ र व्यवसायिक संरचनालाई फार २.० कायम गरिएको थियो । काठमाडौं महानगरपालिकाभित्र योजनाबद्ध आवासीय उपक्षेत्रमा फार ३.५ थियो ।

जग्गाको क्षेत्रफल र घरको क्षेत्रफलको रेसियोलाई फार भनिन्छ । फारले भवनको सम्पूर्ण तलाहरूमा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई जनाउँछ । पहाडमा व्यापारिक तथा सभा सम्मेलन भवनले ३.५, आवासीय भवनले ३.५, मिश्रित आवासीय भवनले ४.० र संस्थागत भवनले २.५ फार कायम गर्नुपर्ने भएको छ । 

तराईमा व्यापारिक तथा सभा सम्मेलन, आवासीय र मिश्रित आवासीय भवनले ३.० फार कायम गर्नुपर्ने छ । साथै संस्थागत भवनले २.५ फार कायम गर्नुपर्ने छ । यो सबै पुरानो सहरी क्षेत्रबाहेकका अन्य क्षेत्रमा मात्रै लागू हुने सहरी विकास मन्त्रालयले जनाएको छ । 

फार ४.० भन्नाले जग्गा भन्दा चार गुणा क्षेत्रफलको घर बनाउन पाइनु हो । उदाहरणका लागि चार आना जग्गामा  १३ सय ६९ वर्गफिट हुन्छ र यसमा ५४ सय ७६ वर्गफिट भवन बनाउन पाइन्छ । यसअघिको फारको व्यवस्थाअनुसार जम्मा २४ देखि २६ वर्गफिट बनाउन पाइन्थ्यो । ‘फार ४.० को व्यवस्था गरिएपछि भने भवनको आकार पहिलेको भन्दा दोब्बर ठुलो हुने देखिन्छ ।  

काठमाडौंमा जग्गाको भाउ यति महँगो छ । अब नयाँ व्यवस्था लागू भएमा एउटा परिवार एउटा फ्लाय्टमा बस्थ्यो भने अब त्यसैमा चारवटा परिवार अटाउने संरचना बनाउन सकिन्छ । स्वामित्वका हिसाबले हेर्ने हो भने साढे चार आनामा दुईवटा परिवार बस्न मिल्ने घरमा अब चार परिवार बस्न पुग्छ । 

यसअघि देशभर भवन संरचना निर्माण गर्न औसतमा फार २.० भन्दा बढी थिएन । काठमाडौं महानगरपालिका भित्र योजनाबद्ध आवासीय उपक्षेत्रमा फार ३.५ कायम गरिएको थियो ।

यस्तै, काठमाडौं महानगरको संरक्षित उपक्षेत्रमा फारको व्यवस्था नै थिएन । त्यहाँ अधिकतम तला संख्या सात र भवनको अधिकतम उचाइ ६५ फिट हुनुपर्ने कानुनी व्यवस्था छ । काठमाडौं महानगरका मिश्रित पुरानो बसोबास क्षेत्रमा पनि फारको व्यवस्था गरिएको छैन। त्यहाँ अधिकतम आठ तला र भवनको अधिकतम उचाइ ७५ फिट निर्माण गर्न पाइन्छ । यी क्षेत्रहरूमा फार सम्बन्धमा भने कुनै परिवर्तन गरिएको छैन । 

त्यसैगरी, मन्त्रालयले न्यूनतम सेटब्याक (सँधियार तर्फ) पनि संशोधन गरेको छ। १० मिटरसम्म उचाइ भएका सार्वजनिक भवन र संयुक्त भवनले १.५ मिटर सेटब्याक छोड्नु पर्नेछ । १० मिटरदेखि १७ मिटरसम्म सार्वजनिक भवनले ३.० मिटर र संयुक्त भवनले २.० मिटर छोड्नु पर्ने मन्त्रालयले जनाएको छ । 

यस्तै, १७ देखि २४ मिटरसम्मको सार्वजनिक भवनले ४ मिटर र संयुक्त भवनले ३ मिटर सेटब्याक कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । २४ देखि ३१ मिटरसम्मको सार्वजनिक भवनले ५ मिटर र संयुक्त भवनले ४ मिटर सेटब्याक छोड्नुपर्ने हुन्छ । 

 ३१ देखि ३८ मिटरसम्मको सार्वजनिक भवनले ५ मिटर र संयुक्त भवनले ५ मिटर सेटब्याक, ३८ देखि ४५ मिटरसम्मको सार्वजनिक भवनले ७ मिटर र संयुक्त भवनले ६ मिटर सेटब्याक, ४५ देखि ५२ मिटरसम्मको सार्वजनिक भवनले ८ मिटर र संयुक्त भवनले ७ मिटर सेटब्याक छोड्नुपर्ने मापदण्डमा उल्लेख छ । 

५२ देखि ५९ मिटरसम्मको सार्वजनिक भवनले ९ मिटर र संयुक्त भवनले ८ मिटर सेटब्याक, ५९ देखि ६६ मिटरसम्मको सार्वजनिक भवनले १० मिटर र संयुक्त भवनले ९ मिटर सेटब्याक, ६६ देखि ८० मिटरसम्मको सार्वजनिक भवनले ११ मिटर र संयुक्त भवनले १० मिटर सेटब्याक, ८० देखि ९४ मिटरसम्मको सार्वजनिक भवनले १२ मिटर र संयुक्त भवनले ११ मिटर सेटब्याक छोड्नुपर्ने मन्त्रालयले जनाएको छ । 

९४ देखि १०० मिटरसम्मको सार्वजनिक भवनले १३ मिटर र संयुक्त भवनले १२ मिटर सेटब्याक कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । संयुक्त आवासको हकमा अगाडि तर्फको सेटब्याक तराईमा आठ मिटर र काठमाडौं उपत्यका लगायतका हाडको क्षेत्रमा न्यूनतम ६ मिटर हुनुपर्ने व्यवस्था गरेको छ । 

सहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको केन्द्रिय सहरी योजना तथा भवन निर्माण मापदण्ड सुदृढीकरण तथा सुपरीवेक्षण समितिले भवन निर्माण मापदण्डमा परिमार्जनसहितको प्रस्ताव मन्त्रिपरिषद् पुगेको थियो । 

Construction criteria emendationhot real estate newsmarketnewsnepali realestatevertical structure

You May Also Like

More stories from Basobaas