News

नेपालमै पहिलोपटक वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणघाट सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माणका क्रममा वन्यजन्तुका कारण सडक दुर्घटनाको जोखिम कम गर्न साना र ठूला अन्डरपास निर्माण गर्न लागिएको हो । 

सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) मा १३ गरेर जम्मा ३५ अन्डर पास तयार हुने जनाइएको छ । 

३५ अन्डरपासमध्ये कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपासको रुपमा बनाइएको छ ।  पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डर पासकै संरचना बनाइने छ । यसरी निर्माण गरिने अन्डरपास तीन मिटरदेखि १२ मिटरसम्म उचाइ र आवश्यकता अनुसार १६ मिटरसम्म फराकिलो हुने छ । अन्डर पासमा वन्यजन्तुको निगरानीका लागि क्यामेरा जडान गरिने छ । 

आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’को व्यवस्था नभए पनि दातृ निकाय एसियाली विकास बैंकले ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेको थियो । सोही अनुरूप दुम्कीबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभर पास बनाउन अध्ययन भइरहेको जनाइएको छ । 

यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको थियो । नेपालमै पहिलो पटक नारायणघाट मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डरपास निर्माण गर्न लागिएको हो । 

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन सम्झौता भएको थियो । सम्झौता अनुसार नारायणी नदीको पुलदेखि बुटवलसम्म एक सय १५ किलो मिटर सडक बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेनमा विस्तार गरिनेछ ।

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले १.५  प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।  

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको थियो । राजमार्ग विस्तारका लागि शिलान्यास वि.सं. २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Pin It