Lifestyle

भैंसेपाटी किन सबैको बसोबासको प्रमुख रोजाइमा छ ? को को बस्छन् भीआईपी ?

By BN EditorialMarch 30, 20223 min read
भैंसेपाटी किन सबैको बसोबासको प्रमुख रोजाइमा छ ? को को बस्छन् भीआईपी ?

ललितपूरको भैँसेपाटी काठमाडौँ उपत्यकाको ‘भीआईपी आवासीय’ क्षेत्र मानिन्छ । भैँसेपाटीमा बस्नुलाई ‘स्ट्याटस सिम्बोल’ पनि मान्न थालिएको छ । भीआईपी बसोबास हुने भएपछि सो क्षेत्रको जग्गाको भाउ अचाक्ली बढेको छ ।

मुख्य सडकमा आनाकै ६० देखि १ करोड रुपैयाँसम्म पर्न थालिसकेको छ । भित्री सडकमा भने आनाको ४० लाख रुपैयाँसम्म जग्गा पाइन्छ । यो भाउ आजभन्दा १० वर्ष अगाडीको तुलनामा झण्डै दोब्बरले बढी हो ।

अझ रोचक कुरा के छ भने, भैँसेपाटीलाई नेकपा विभाजनको कारक पनि मान्न थालिएको छ । यसबारे केहीबेरमा चर्चा गरिने छ । अहिले भने भैँसेपाटी कसरी भीआईपी आवास क्षेत्र बन्यो भन्नेबारे चर्चा गरिन्छ ।

कारण के ?

व्यवस्थित आवास विकास परियोजनाले भैँसेपाटीको स्वरुप नै फेरिदिएको यथार्थ सत्य हो । यही कारणले भैँसेपाटी र सैँब क्षेत्र भीआईपीको आवास क्षेत्रका रुपमा विकास भएको हो । सर्वसाधारणको जग्गा अधिग्रहण गरेर सरकारले व्यवस्थित बस्ती विकास गरेकै कारण भीआईपी आवास क्षेत्र बनेको भैँसेपाटीमा ठूला ठूला नेता, सरकारका उच्च तहका कर्मचारीहरु बस्न थालेका हुन् ।

‘भैँसेपाटी अहिले सबैको रोजाईमा पर्नुका पछाडी व्यवस्थित आवास विकास नै थियो,’ नेपाल सरकारका पूर्वसचिव एवं आवासविज्ञ किशोर थापा भन्छन्, ‘मुख्य पार्टीका ठूला नेताहरु, सरकारका उच्च कर्मचारीहरु बस्न थालेपछि भैँसेपाटी सबैको रोजाईमा पर्न गयो, फलस्वरुप अहिले नजिकका ठाउँहरुको जग्गाको भाउ अचाक्ली बढेको छ ।’

पञ्चायतमा प्लानिङ, बहुदलमा सम्पन्न

भैँसेपाटीको व्यवस्थित आवास विकासको योजना भने पञ्चायतकालमा नै सुरु भएको हो । तर, यो प्यालिङले मुर्त रुप लिएको चाहिँ बहुदल आएपछि मात्रै हो । खुला ठाउँ, फराकिलो सडकसहितको योजनामा भीआईपी बसोबास छ ।

आवास क्षेत्रभित्र खुला ठाउँ उपलब्ध छ । त्यहाँ भित्रै खेल मैदान बनाउने काम सुरु भएको छ ।

को को बस्छन् भीआईपी ?

नेकपाको विवाद चर्किदा भैँसेपाटी जहिल्यै चर्चामा आउने गर्छ । अहिले नेकपा विभाजनको अवस्थामा रहेपनि केही महिना अघिसम्म ‘भैँसेपाटी गठबन्धन’ भन्ने शब्द खुब चर्चित थियो । हुन पनि हो, भैँसेपाटीमा नेकपाको दुबै समूहले बेलाबेलामा गठबन्धन बनाएका थिए ।

नेकपाका वामदेव गौतम, महासचिव विष्णु प्रसाद पौडेल लगायतका नेता भैँसेपाटीमा बस्दै आइरहेका छन् । नेकपाको ९ सदस्यीय सचिवालयमा कसको बहुमत छ भन्ने देखाउन दुबै पक्षले वामदेवलाई आफ्नो समूहमा तान्ने प्रयास गर्दा भैँसेपाटीमै पुग्ने गर्थे । नजिकै भएको संयोगका कारण विष्णु पौडेल वामदेवकोमा धेरै जाने नेतामा पर्छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपाल समूहले अहिले वामदेवलाई पार्टी विभाजनको कारकको रुपमा लिन थालिसकेका छन् । कहिले ओली तिर लागेर सचिवालयमा ५ जना पुर्याउने र कहिले प्रचण्ड–माधब तिर लागेर ५ जना पुर्याउने वामदेवको दोहोरो चरित्रले विभाजनको विजारोपण गरेको प्रचण्ड–माधब समूहकी नेतृ रामकुमारी झाक्रीले सार्वजनिक मञ्चबाटै भनिसकेकी छिन् ।

मन्त्रीदेखि मुख्यमन्त्रीसम्मका आवास

सरकारले केन्द्र सरकारका मन्त्रीदेखि प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भैँसेपाटीमै आवास निर्माण सुरु गरेको छ । ६ रोपनी क्षेत्रफलमा फैँलिएको जग्गामा निर्माण गरिने मन्त्रीहरुको आवास आधुनिक सुविधायुक्त बन्नेछ । मन्त्री निवासको काम ३० प्रतिशत सकिएको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भीआईपी आवास कोलोनी पनि त्यहीँ बन्दैछ । २७ रोपनी क्षेत्रफलको जग्गामा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको आवास बन्ने छ ।

रिङरोडबाट नजिक तर शहरको कोलाहलबाट टाढा रहेकै कारण भैँसेपाटी सबैको रोजाइँको केन्द्र बनेको रियलस्टेट डेभलपरहरु बताउने गर्छन् ।

अपार्टमेन्ट, होटल र हस्पिटल

भैँसेपाटीमा हाउजिङका घर किनेर पनि बस्न सकिने प्रवन्ध छ । प्रिमियम र मध्यम खालका हाउजिङ भएको त्यहाँ बृहत् समूहले बृहत् कम्युनिटी लिभिङ नामक तीन वटा परियोजना तयार पारेको छ । सिभिल होम्सको हाउजिङ परियोजना, गुण डेभलपर्सको रिलायवल कोलोनी, सिद्धी कोलोनी जस्ता मध्यम खालका हाउजिङ परियोजना भैँसेपाटीमा छन् ।

भीआईपी बसोबास क्षेत्र भएकाले भैँसेपाटीबाट नजिकै होटल तथा रेष्टुरेन्ट पनि छन् । नजिकै पर्ने झम्सिखेल, जावलाखेल, पुल्चोक, पाटन, सानेपा रेस्टुरेन्टका हब एरिया हुन् । फिल्म हेर्नका लागि पुल्चोकको लविम मलमा फिल्म हल छँदैछ ।

भैँसेपाटीबाट नजिकै पर्ने नख्खुमा गैरआवासीय नेपाली उपेन्द्र महतोले सुविधासम्पन्न मेडिसिटी हस्पिटल खालेका छन् । पाटन, स्टार, जावलाखेलको अलका र बल्खुको वयोधा हस्पिटल पनि भैँसेपाटीबाट नजिकै पर्ने सुविधायुक्त अस्पताल हुन् ।

basobaasbasobaas nepalbhaisepati housingkaryabinayak housing

You May Also Like

More stories from Basobaas