News

१० वर्षमा तीन प्रतिशत जग्गामा मात्रै थपियो सिँचाइ सुविधा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । देशभर कृषक परिवार बढेपनि कृषियोग्य जमिनको कृषि सिँचाइ सुविधामा कमी आएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘कृषिगणना २०७८ अनुसार १० वर्षको तुलनामा १ लाख ४ हजारले कम देखिएको हो ।

२०७८ को तथ्यांकअनुसार २८ लाख ८९ हजार कृषक परिवारले देशभर जम्मा १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएका छन् । जबकि २०६८ को गणनामा देशभरबाट २४ लाख ७२ हजार कृषक परिवारले जम्मा १३ लाख १३ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएका थिए । 

यसरी हेर्दा कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ । २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो ।

पछिल्लो गणनाअनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।

यसरी नै सिञ्चित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको छ । 

सिँचाइ सुविधा प्रयोग गर्ने कृषकहरू बढी भएको प्रदेशमा मधेश र जिल्लामा बारा देखिएको छ । सिँचाइको पानीको मुख्य श्रोतमा ट्युबवेल, बोरिङ रहेको छ । 

सातौँ कृषि गणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा सिञ्चित जग्गाको ४२ प्रतिशत र नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत रहेको छ । यसैगरी बाँध बाँधेर वा रिजर्भवेयर बनाई त्यहाँबाट पानी ल्याएर सिँचाइ गरिएको जग्गा भने ८ प्रतिशत रहेको छ ।

गत कृषिगणना २०६८ ले सिँचाइ सुविधाका लागि कृषक परिवारले प्रयोग गरेको मुख्य श्रोतमा नदी, तलाउ र पोखरी देखाएको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It